+
+

सुनापती सैलुङ अल्ट्रा म्याराथनमा वेदबहादुर र निर्मलालाई स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १७ गते २०:०४

१७ चैत, काठमाडौं । वेदबहादुर राई र निर्मला राईले सुनापती सैलुङ अल्ट्रा म्याराथन प्रतियोगितामा शनिबार स्वर्ण पदक जितेका छन् । वेदबहादुर पुरुष तथा निर्मला महिलाको ५५ किलोमिटर दूरीमा पहिलो भएका हुन् ।

पुरुषमा मनकुमार रोका मगर दोस्रो र गोपाल तामाङ तेस्रो भए । महिलामा छोकी शेर्पा दोस्रो भइन् । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ८० हजार, ३५ हजार र २० हजार नगद पुरस्कार पाए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोगमा सुनापती, खाँडादेवी र दोरम्बा सैलुङ स्पोर्ट्स क्लबद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष २५ किलोमिटरमा अर्जुन कुलुङ राईले स्वर्ण, तिलकबहादुर सुनुवारले रजत र करण रावलले कांस्य जिते ।

उक्त स्पर्धाको महिलामा प्रिया राई पहिलो, सुन्सरी रोकाय दोस्रो र हुमी बुढा मगर तेस्रो बने । पुरुष/महिला दुवैमा पहिलो हुनेले ४५ हजार, दोस्रोले २५ हजार र तेस्रोले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

पुरुष ५ किलोमिटर दौडमा अक्कलबहादुर पाल पहिलो, निरज भट्ट दोस्रो र सुवास कार्की तेस्रो भए । सोही स्पर्धाको महिलामा सिर्जना पाण्डेय पहिलो, पद्‍माकुमारी सुनुवार दोस्रो र सोनिमा शेर्पा तेस्रो स्थानमा रहे । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार जिते ।

विजेतालाई राखेपका सदस्य सचिव टंकलाल घिसिङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि प्रतियोगिताको उद्घाटन पनि सदस्य सचिव घिसिङले गरेका थिए ।

सो अवसरमा सदस्य सचिव घिसिङले कार्यक्रम सफल बनाउन साझेदारी गरेकोमा सुनापती गाउँपालिका, खाँडादेवी गाउँपालिका र दोरम्बा सैलुङ गाउँपालिकालाई धन्यवाद दिदै यो क्षेत्रलाई सैलुङ अल्ट्रा म्याराथनका लागि मात्र नभइ मोटर र्‍याली, माउन्टेन बाइक प्रतियोगिता र हाइ अल्टिच्युट ट्रेनिङ सेन्टरको रुपमा विकास गर्नु पर्ने आवश्यकता औल्याए ।

सदस्यसचिव घिसिङले स्थानीय पालिकाले योग खेलकुदलाई पनि विशेष जोड दिनु पर्ने धारणा व्यक्त गरे । प्रतियोगितामा १२७ पुरुष, ३१ महिला र ५ विदेशी खेलाडी सहभागी थिए । म्याराथन सुनापतीको हिलेदेखि सुरु भई सैलुङको चुचुरोमा पुगेर टुंगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?