+
+

भारतमा नेपालको लगातार दोस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २० गते १८:२७

२० चैत, काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप कपमा बरोडालाई २७ रनले हराउँदै लगातार दोस्रो जित हात पारेको छ । जितको लागि १५७ रनको लक्ष्य पछ्याएको बरोडाले २० ओभरमा सबै विकेट गुमाएर १२९ रन बनायो ।

बरोडाका भानु पानियाले २६ बलमा ३ छक्कासहित सर्वाधिक ३६ रन बनाए । कप्तान विष्णु सोलांकीले ३२ बलमा २ चौकासहित २५ रन बनाए । बाबा खानले १८ बलमा २ चौका र २ छक्कासहित २७ रन बनाए ।

नेपाललाई तीव्र गतिका बलर करण केसीले पहिलो ओभरमै किन्ती पटेल र शस्वात रावतलाई शून्यमा आउट गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । सोमपाल कामीले मोहित मोंगियालाई ३ रनमा बोल्ड गर्दा ३.४ ओभरमा २१–३ को अवस्थामा पुगेको थियो । त्यसपछि अमित पासी १४ रनमा रन आउट भए । दीपेन्द्रले उत्कृष्ट रन आउट गरेका थिए ।

एक समय २२(५ को दयनीय अवस्थामा पुगेको बरोडालाई छैटौं विकेटका लागि भानु र विष्णुले ५३ रनको साझेदारी गरेका थिए ।

नेपालका करण केसीले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १ मेडनसहित २० रन खर्चेर २ विकेट लिए । अभिनाश बोहराले २, गुलशन झा र दीपेन्द्रसिंह ऐरी १(१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाएको थियो । नेपालको जितमा कुशल मल्लले २५ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४० रन बनाए ।

सन्दीप जोरा १६ बलमा समान २ चौका र छक्कासहित २९ रनमा रन आउट भए । एक समय १२.५ ओभरमा ८२–५ को अवस्थामा पुगेको नेपाललाई छैटौं विकेटका लागि सन्दीप र कुशलले ४७ रनको साझेदारी गर्दै मध्यम योगफलमा पुर्याएका थिए ।

ओपनर आसिफ शेख र कुशल भुर्तेल ९–९ रनमा आउट भएका थिए । अनिल कुमार शाह २७ बलमा २ चौका र १ छक्कासहित २५ रनमा क्याच आउट भए । कप्तान रोहित पौडेल १३ बलमा ३ चौकासहित १८ र गुलशन झा १३ रनमा आउट भए ।

भारतबा बाबा खानले २, मोहित मोंगिया र पारीक्षित पाटीदारले १–१ विकेट लिए । नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको थियो । गुजरातले बरोडालाई ५ विकेटले हराएको थियो । अव नेपालले बुधबार गुजरात र शुक्रबार बरोडासँग खेल्नेछ । फाइनल आइतबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?