+
+

पोललाई बीचमै पारेर सडक डिभिजनले गर्‍यो कालोपत्र

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २२ गते १३:५९

२२ चैत, चितवन। चितवनको नारायणगढ बजार निकै व्यस्त मानिन्छ । यहीँ बजार क्षेत्रमा सडक साँघुरो भएको भनेर नारायणगढको पूल्चोकदेखि भरतपुरको टिकौली गोन्द्राङसम्म सडक विस्तार थालेको झण्डैं ४ वर्ष हुन लाग्यो ।

सडक विस्तारको काम अन्तिम चरणमा पुग्दा पनि अझैं विद्युत प्राधिकरणले पोल सार्ने काम सकेको छैन । प्राधिकरणले विद्युतको पोल नसारिदिएपछि नारायणगढको पुल्चोक क्षेत्रको दक्षिणतर्फको सव लेनमा सडक डिभिजनले विद्युत पोल बीचमा नै राखेर कालोपत्र गरेको छ । त्यसका लागि सडक निर्माणको ठेक्का पाएको सगुन कन्स्र्टक्सनले प्राइमरसमेत गरिसकेको छ ।

ठेकेदारले विद्युत पोल नै भएको ठाँउमा कालोपत्रे गर्ने पूर्व तयारी अन्तर्गत प्राइमर गरेपछि यसको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।  जानी बुझिकन नै प्राधिकरणबाट हैरान भएर बीचमा पोल भएको ठाँउमा प्राइमर गरिदिएको निर्माण कम्पनीको भनाइ छ ।

सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलले प्राधिकरणले विद्युतलाई पटकपटक विद्युत पोल सार्न अनुरोध गर्दा पनि नहटाएपछि दवाव दिन पोल बीचमै भएको सडकमा प्राइमर गरिएको बताए । ‘सबैले थाहा पाउन कि नेपालमा सडक विस्तार गर्दा कस्ता कस्ता अवरोध आउँछन् र के कारणले ढिला हुन्छ भनेर’ प्रमुख पौडेलले भने, ‘यो देशभरीको समस्या हो ।’

उनले विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले पोल सार्ने जानकारी आफूलाई गराएको बताए । प्राधिकरणले पोल सारेपछि अहिले भएको पोललाई काटेर त्यसमै मिलाउन सकिने सडक डिभिजन कार्यालयका प्रमुख पौडेलले बताउँछन् ।

‘खासै ठूलो कुरा त छैन तर सबैलाई थाहा होस् भनेरै गरिएको हो’ पौडेल भन्छन् ‘सडकको क्षेत्राधिकार भित्र गाडिएका पोल हटाउन सधै समस्या छ ।’ सडकको ठेक्का पुल्चोकको ट्राफिक आइल्याण्डसम्म भए पनि आफूहरुले ठेकेदार कम्पनीलाई अनुरोध गरेर पुलको मुखसम्म सडक विस्तार गर्न लागेको उनले बताए ।

‘निर्माण कम्पनीको ठेक्काभन्दा बाहिरको काम हो, हामीले केही साँघुरो बनाएर पुलको मुखसम्म सडक बनाउन खोजेका छौं,’ पौडेलले भने, ‘यसमा सबैको सकारात्मक साथ र सहयोग रहनुपर्छ ।’ उनले सडक विस्तारको काम अब सकिने चरणमा पुगेको जानकारी दिए ।

सरकारले ६ लेनको सडक विस्तारका लागि चालु आर्थिक बर्षमा ५ करोड मात्रै रकम विनियोजन गरेको र सो रकम ठेकेदारले पहिल्यै लिएको र थप १९ करोडको काम अहिलेसम्म रकम नलिई गरिसकेको बताए ।

ठेकेदारले रकम नपाए पनि आफूहरुले अनुरोध गरेर सडक विस्तारको कामलाई निरन्तरता दिएको डिभिजन प्रमुख पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?