+
+

त्रिविका उपकुलपति बिरामी बिदामा, भन्छन् : हस्तक्षेप भए विश्वविद्यालय चलाउन सकिँदैन

उपकुलपति बरालले भने, ‘प्रधानमन्त्रीलाई कसैले भनेको भए म के जानम् तर कुरा चाहिँ के हो भने मैले पेश गरेपछि अहिलेसम्म नियुक्ति भएका छैनन् ।’

अमृत सुवेदी अमृत सुवेदी
२०८० चैत २२ गते १६:१६

२२ चैत, पोखरा । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बराल स्वास्थ्यको कारण देखाउँदै आइतबारदेखि बिदामा बसेका छन् ।

उपकुलपति बरालले एक साता अगाडि नै रजिस्ट्रार र रेक्टरमा नाम सिफारिस गरेको भए पनि कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्म नियुक्ति गरेका छैनन् ।

त्रिविको रेक्टर र रजिष्ट्रार पदमा उपकुलपतिको सिफारिसमा कुलपति अर्थात प्रधानमन्त्रीले नियुक्ति गर्ने कानुनी व्यवस्था छ । त्यही व्यवस्थाअनुसार रजिष्ट्रारमा वातावरण विज्ञान विभागका प्राध्यापक केदार रिजाल र रेक्टरमा अन्तर्राष्ट्रिय सम्बन्धन विभागका प्राध्यापक खड्ग केसीको नाम उपकुलपति बरालले सिफारिस गरेका छन् ।

उपकुलपति बरालले सिफारिस गरेको नामप्रति कांग्रेस र एमाले निकट प्राध्यापक संघले असन्तुष्टि जनाएका छन् । सत्ता साझेदार नेकपा एमालेले रेक्टरमा प्रगतिशील प्राध्यापक संघका अध्यक्ष प्राडा बेदराज केसीलाई बनाउन चाहेको छ ।

बरालले रजिस्ट्रारमा सिफारिस गरेको नामप्रति कांग्रेसनिकट प्रजातान्त्रिक प्राध्यापक संघले पनि असन्तुष्टि जनाइरहेको छ । तर, उपकुलपति बराल भने दलनिकट संगठनको नेतृत्व नै गरिरहेको व्यक्तिलाई नियुक्ति गर्ने पक्षमा छैनन् ।

उपकुलपति बरालले राजनीतिक सन्तुलन नै मिल्ने गरी रजिस्ट्रार र रेक्टरमा नाम सिफारिस गरेको प्राध्यापकहरुले बताइरहेका छन् भने कतिपयले बरालले आफूसँग निकट रहेका व्यक्तिलाई सिफारिस गरेकोसमेत आरोप लगाइरहेका छन् ।

यसअघि पोखरा विश्वविद्यालयको उपकुलपति हुँदा पनि बरालले कनिष्ट व्यक्तिलाई जिम्मेवारी दिएको आरोप लागेको थियो । तर, बरालले भने आफू पहिल्यैदेखि राजनीतिक भागवण्डाको विरोधी रहेको र अहिले पनि त्यही अडानमा कायम रहेको बताएका छन् ।

बढी राजनीतिक दबाब आयो भने पद नै छाड्नेसमेत संकेत गरिरहेका बराल यही बेला लामो बिदामा बस्नुलाई धेरैले शंकाकै नजरले हेरेका छन् ।

पदाधिकारी नियुक्ति रोकिएकै कारण उनी बिदामा बसेका हुन् ? उपकुलपति बरालले असन्तुष्टिका कारण नभइ बिरामी भएका कारण गत आइतबारपछि बिदामा बसेको र स्वास्थ्य अवस्था हेरेर अझै एक हप्ता बस्न सक्ने अनलाइनखबरसँग बताएका छन् ।

‘असन्तुष्टिका कारण बिदामा बसेको होइन, विरामी भएको हुँ । ढाडमा नसा च्यापिने समस्या थियो’, उपकुलपति बरालले अनलाइनखबरसँग भने, ‘आइतबार बिहान फेरि चसक्क भएको थियो । अफिसबाट पनि बडो मुश्किलले फर्किएँ । आइतबारबाटै बेड रेस्ट गरिरहेको छु ।’

आफूले रजिस्ट्रार र रेक्टरमा नाम सिफारिस गरे पनि के कारणले रोकिएको हो भन्ने जानकारी नभएको बरालको भनाइ छ । तर, अहिलेसम्म कसैले पनि फलानोलाई गर, फलानोलाई नगर भनेर प्रत्यक्ष दबाब नदिएको बरालले बताए ।

‘मैले सिफारिस गरें, अहिलेसम्म नियुक्ति भएको छैन, त्यत्ति हो उहाँहरुले फलानोलाई यसो गर भनेर प्रेसर चाहिँ हानेका छैनन्’, उपकुलपति बरालले भने, ‘प्रधानमन्त्रीलाई कसैले भनेको भए म के जानम् तर कुरा चाहिँ के हो भने मैले पेश गरेपछि अहिलेसम्म नियुक्ति भएका छैनन् ।’

शिक्षामन्त्री सकारात्मक 

उपकुलपति बरालले पहिलेदेखि नै आफूले टिम बनाउन पाउनुपर्ने बताउँदै आएको सुनाए । राजनीतिक भागवण्डा हट्नुपर्छ भन्ने अडानमा आफू रहेको र अहिले पनि त्यही चाहेको बरालले बताए ।

‘पहिलेदेखि नै मैले मेरो टिम बनाउन पाउनुपर्छ भन्ने हो । राजनीतिक भागवण्डा हट्नुपर्छ, हुनुहुन्न, भन्ने मेरो स्ट्याण्ड हो’, उपकुलपति बरालले भने, ‘पार्टीका नेताहरुले पठाएको मान्छे भागबण्डामा नियुक्ति हुनुहुन्न भन्ने मेरो अडान हो, पहिल्यैदेखि । अहिले पनि मेरो अडान त्यही हो ।’

बरालले राजनीतिक हस्तक्षेप भयो भने विश्वविद्यालय बनाउन नसकिने जिकिर गरे ।हस्तक्षेप भयो भने उपकुलपतिमै बस्दिन भन्ने तपाईंको भनाइ हो ? भन्ने प्रश्नमा बरालले भने, ‘हस्तक्षेप भयो भने विश्वविद्यालय चलाउन सकिँदैन, धेरै गाह्रो हुन्छ ।’ तर, बरालले अहिलेसम्म राजनीतिक नेतृत्वले प्रत्यक्ष रुपमा दबाब नदिएको दोहोर्‍याए ।

‘अहिलेसम्म मलाई कसैले पनि प्रत्यक्ष रुपमा यसो गर, उसो गर भन्नुभएको छैन । प्रधानमन्त्रीजीले भन्नुभएको छैन, शिक्षामन्त्रीजी (सुमना श्रेष्ठ) ले पनि भन्नुभएको छैन’, उपकुलपति बरालले भने, ‘शिक्षामन्त्रीजीले त तपाईंको टिम बनाउन पाउनुपर्छ भन्नुभएको छ । तपाईंले भनेको मान्छे ल्याउनुपर्छ भन्नुभएको छ । त्यसबाहेक पोलिटीकल्ली कसैले मलाई केही भनेको छैन ।’

राजनीतिक दबाबका कारण आफूले सिफारिस गरेका व्यक्ति नियुक्ति नभए त्यसपछिको अर्कै कुरा हुने उनको भनाइ थियो । ‘त्यो परिस्थितिले बताउँला । रोक्नुको कारण के हो ? उहाँहरुलाई नै सोध्नुस्’, उपकुलपति बरालले भने, ‘अहिले चाहिँ म बिरामीका कारणले अझै अर्को हप्तासम्म पनि बिदा बस्न सक्छु, हेरौं कस्तो हुन्छ ।’

उपकुलपति बरालले ६ चैतमा सात दिनको समयावधि दिएर रेक्टर र रजिष्ट्रार पदमा माग गरेको आवेदनअनुसार परेका नामबाट रिक्त पदमा २ जनाको नाम सिफारिस गरेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयलाई राजनीतिमुक्त गराउने भन्दै गत पुस २० गते दरखास्त आह्वान भएको थियो । ४३ जनाले आवेदन दिएकामा ३ जनाको नाम छनोट गरी पोखराका बराललाई फागुन १० गते प्रधानमन्त्रीले त्रिविको २० औं कुलपतिमा नियुक्ति गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले उपकुलपति सिफारिसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई नेतृत्वमा समिति गठन गरेका थिए । समितिले चित्रबहादुर बुढाथोकी, बराल र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो ।

जसबाट १ नम्बरमा छानिँदै उपकुलपति नियुक्त भएका बरालले विश्वविद्यालयलाई राजनीतिक दलको सहयोगमा राजनीति हस्तक्षेपमुक्त बनाउने उद्घोष गरेका थिए ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?