+
+

आईटी क्षेत्रमा लगानी वातावरण बनाएको खोइ ?

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २२ गते १५:४७

२२ चैत, काठमाडौं । नेपालमा सूचना प्रविधि (आईटी) क्षेत्रमा लगानी र विकासबारे सरोकारवालाले चासो व्यक्त गरेका छन् ।

बिहीबार आयोजित ‘टेक पिक नेपाल २०२४’ कार्यक्रममा उनीहरूले आईटी क्षेत्रका विविध आयाममा छलफल र बहस गरिरहेका छन् ।

नेपाल उद्योग परिसंघ उपाध्यक्ष हेमराज ढकालले नेपालको आईटी क्षेत्रमा लगानी गर्न आग्रह गरे । ‘नेपालको आईटी क्षेत्रमा प्रचुर सम्भावना रहेकाले विदेशी लगानीकर्तालाई लगानी गर्न विशेष आग्रह गर्न चाहन्छु । लगानी गर्नुहोस् र फाइदा लिनुहोस्,’ ढकालले भने ।

नेपालमा भएका युवालाई विदेश पलायन हुनबाट रोक्न पनि प्रविधिले ठूलो सहायता गर्ने भन्‍दै लघु उद्यमीलाई प्रविधिसँग जोड्नुपर्ने उनले बताए । ‘नेपालमा हरेक दिन युवाहरू एयरपोर्टमा लाइन लागिरहेको दृष्य देख्न पाइन्छ। तर, सरकारले नीति बनाएर लघु उद्यमीलाई साथ दिए अर्थ व्‍यवस्थामा थप टेवा पुग्न सक्छ,’ ढकालले भने, ‘प्रविधिमा लाग्ने युवाले देशमै बसेर आईटी सेवा निर्यात गर्न सक्छन् ।’

विदेशी लगानी भित्र्याउन सरकारले स्थानीय उद्यमीलाई सँगसँगै लैजान सके अर्थतन्त्र सबल हुने र नयाँ रोजगारीका अवसरको ढोका खुल्ने दाबी उनको थियो ।

‘प्रविधिको बढ्दो विस्तारले अर्थतन्त्र सबल बनाउन मद्दत मिल्ने छ। शिक्षालाई थप व्‍यावहारिक र सिपमूलक बनाउन सकिन्छ र सञ्‍चार क्षेत्रमा थप प्रभावकारिता ल्‍याउन सकिन्छ,’ उनले भने ।

नेपालबाट सन् २०२२ मा ६७ अर्ब रुपैयाँभन्दा बढीको आईटी सेवा निर्यात भएको भन्‍दै उनले आगामी दिनमा पनि विश्व बजारमा प्रविधि सेवा बलियो रूपमा निर्यात गर्न सक्‍ने उनले दाबी गरे ।

मुलुकको कुल विदेशी विनिमय सञ्चितिमा आईटी सेवाले ५.५ प्रतिशत योगदान दिएकाले यसलाई सरकारले नीति बनाएरै काम गर्नुपर्नेमा उनको जोड थियो ।

उनले नेपाल भूपरिष्ठित मुलुक भएकाले भौतिक संरचना, क्रस बोर्डर रोड र कनेक्टिभिटीमा चुनौती रहेको भन्‍दै यसको समाधान गरी लगानीको वातावरण बनाउनुपर्ने बताए । साथै, प्रविधि सेवा विश्व बजारमा द्रूत गतिमा एकै समयमा दिन सकिने हुँदा लगानीको वातावरण सरकारले निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै डेटा सेन्टर राख्न पनि नेपालको तापक्रम उपयुक्त भएको बताउँदै उनले यसतर्फ विश्व बजारका टेक जाइन्ट कम्पनीहरू आउन वातावरण बनाउनुपर्नेमा जोड दिए ।

‘आईटी सेवा विनाअवरोध विश्व बजार निर्यात गर्न सकिन्छ। गुगल, फेसबुक, अमेजन लगायत टेक जाइन्ट कम्पनी नेपालमा डेटा सेन्टर बनाउन चाहन्छन्,’ उनले भने, ‘नेपाल डेटा सेन्टर राख्न यहाँको तापक्रम उपयुक्त छ । यसकारण प्रविधिमैत्री नीति र भौतिक पूर्वाधारको वातावरण बनाउन सके नेपालमै विदेशी टेक कम्पनी भित्र्याउन सकिन्छ ।’

यस्तै परिसंघ आइटी काउन्सिल अध्यक्ष एवम् एमचामका संस्थापक अध्यक्ष अजित साहले नेपालमा आईटी क्षेत्रमा लगानी भित्र्याउन सके आठौं हिम शृङ्खलापछिको नवौं शृङ्खलाका रूपमा विश्वमा चिनाउन सक्ने दाबी गरे ।

‘नेपाल हिमालय शृङ्खलाको देश भनेर मात्रै विश्वभरि चिनिएको छ। तर, प्रविधिमा लगानी भए विश्वका ८ हजार मिटर अग्ला ८ हिमालपछि नवौंका रूपमा चिनिन सक्छ। यसबारे हामी सबैले सोच्नुपर्ने बेला आएको छ,’ उनले भने ।

आईटी नेपालको आर्थिक क्षेत्र उकास्ने गरी आधार स्तम्भ बन्न सक्ने उनको भनाइ छ । तर, सरकारले गलत नीतिका कारण केही आइटी उद्योग भने धराशायी हुने अवस्था रहेकोप्रति चिन्ता व्‍यक्त गरे ।

त्यसैगरी फ्युज मसिनका संस्थापक समिर मास्केले ‘आर्टिफिसियल इन्टिलिजेन्स’ (एआई) को ‘फायर साइट च्याट’ को सफलता कथा सुनाउँदै नेपाल आईटी सेवा निर्यात गर्न सक्षम रहेको जिकिर गरे ।

‘मैले सुररुवातमा फ्‍युज मसिनको सपना नेपालमै देखेको थिएँ । यो सपना अहिले अमेरिकामा साकार भएर आएको छ भने विश्व बजारमा एआईका रूपमा सेवा दिइरहेको छ। प्रविधिले शक्ति, अर्थ र सिप मात्रै होइन, विश्वभरि राष्ट्रको पहिचान बनाउन सक्छ।’

यस्तै प्रविधि कम्पनीमा रहेर लामो समय काम गरेका ग्रेप्सरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमित चौधरी,  सेक्युरिटी पालका सीईओ पुकारचन्द्र हमाल, क्लाउड फ्याक्ट्रीकी रोबिना महर्जन,  लिप फ्रगका कैलाश विजयन्दाले आ–आफ्नो संघर्ष र सफलताका कथा सुनाएका थिए ।

अन्तर्राष्ट्रिय स्तरबाट प्रविधिमा क्षेत्रमा सफल भएका हरिश मेहताले आईटी क्षेत्रमा कसरी सफल बन्न सकिन्छ भन्‍ने आफ्नो सफलताका कथा सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?