+
+
विचार :

पर्यटनभन्दा दोब्बर बनिसक्यो आईटी क्षेत्र, सवा खर्बको निर्यात

नेपालको ठूलो सम्भावनाको क्षेत्र भनेर पर्यटनलाई मान्ने गरिएको छ । तर आईटी क्षेत्र त्यसको दोब्बर बनिसकेको अनुमान छ । गत आर्थिक वर्ष पर्यटनबाट नेपालले ६१ अर्ब ५२ करोड आय गरेको थियो । आईटी त्यसभन्दा कम्तीमा पनि दोब्बर बनिसकेको देखिन्छ ।

अजितविक्रम शाह अजितविक्रम शाह
२०८० चैत २३ गते १६:५५

सूचना प्रविधि सेवा विश्व बजारमा अहिलेको सबैभन्दा धेरै माग भएको क्षेत्र हो । आज प्रविधि क्षेत्रको विकासमार्फत विश्वबजारमा भारत, चीनलगायतले द्रूत गतिमा आर्थिक उन्नति गरिसकेका छन् । नेपालमा पनि पछिल्लो समय आईटी क्षेत्रको विकास तीव्र गतिमा भइरहेको छ ।

सर्वाङ्‍गीण विकास अध्ययन केन्द्र (आईआईडीएस) ले गरेको एक अध्ययनले सन् २०२२ मा मात्रै करिब ६८ अर्ब रुपैयाँको सूचना प्रविधि सेवा नेपालबाट निर्यात भएको देखायो । सूचना प्रविधि कम्पनी र १४ हजार ७२८ स्वतन्त्र निर्यातकर्ता (फ्रिल्यान्सर) ले यो सेवा निर्यात गरेको देखिएको हो ।

नेपालमा सरकार र जनताले पनि आईटी सेवा भनेको सफ्टवेयर मात्रै बुझिरहेका छन् । त्यो आंशिक बुझाइ मात्रै हो । आईटी सेवाअन्तर्गत इन्टरनेट प्रयोग गरेर हुने सबै कामहरू पर्छन् । यसलाई इन्फरमेसन टेक्नोलोजी इन्याबल्ड सर्भिसेस (आईटीईएस) भनिन्छ । नेपालमै बसेर विदेशमा अनलाइन कक्षा लिनु, अटो क्याड, सफ्टवेयर निर्माण, क्रिएटिभ राइटिङ, ग्राफिक डिजाइनिङ, एनिमेसन, टेलिमेडिसिन सेवा, मार्केटिङलगायतका कामहरू नै आईटीईएसमा पर्छन् ।

अहिले नेपालमा सूचना प्रविधि क्षेत्रलाई आधार बनाएर काम गरिरहेका कम्पनीकै संख्या ५ सयभन्दा बढी छन् । आईटी र आईटीईएस क्षेत्रमा काम गर्ने जनशक्तिको संख्या एक लाखभन्दा बढी भएको अनुमान छ । हेल्थ इन्स्योरेन्स (स्वाथ्य बीमा), रिटेलर, बैंकको मोर्टगेजको काम पनि गरिरहेका छन् । नेपालमा बिजनेस प्रोसेस आउटसोर्सिङको काम पनि यसैअन्तर्गत पर्छ ।

घरमै बसेर आईटी सेवा निर्यात गर्ने फ्रिल्यान्सरहरूको संख्या पनि आईआईडीएसको रिपोर्टमा देखिएभन्दा बढी छ । यो क्षेत्रमा सेवा दिनेहरूको संख्या पनि प्रतिदिन बढिरहेको छ । कतिपय वेबसाइटमा विदेशमै रजिस्ट्रेसन गरेर नेपालबाटै काम गरिरहेको उदाहरणहरू छन् । यसलाई हामीले अझै गन्नै सकेका छैनौं । त्यसकारण मेरो अनुमानमा आईटी सेवा निर्यातको यकिन तथ्यांक आईआईडीएसको अध्ययनभन्दा दोब्बर छ । तर यसको ट्र्याक गर्न सकिएको छैन ।

खासमा कत्रो आकारको छ आईटी क्षेत्र ?

नेपालमा अहिले पनि ६ सयभन्दा बढी दक्ष जनशक्तिलाई रोजगारी दिइरहेका ठूला प्रविधि कम्पनीदेखि व्यक्तिगत रुपमा काम गरिरहेका फ्रिल्यान्सरसम्मले आईटी सेवा निर्यात गरिहेका छन् । समग्रमा १ सयदेखि १५० जना दक्ष कर्मचारी राखेर काम गरिरहेका प्रविधि कम्पनीहरूको संख्या सबैभन्दा धेरै छ ।

नेपालका आईटी कम्पनीले एकजना जनशक्ति बराबर औसतमा मासिक ७ सयदेखि १ हजार अमेरिकी डलरको बिल काटेर निर्यात गर्छन् । यस क्षेत्रमा १ लाख जनशक्ति आबद्ध छन् भन्ने मान्ने हो भने ८४ करोडदेखि १ अर्ब २० करोड अमेरिकी डलरसम्मको आईटी सेवा निर्यात भएको हाम्रो अनुपान छ । यसको पनि औसत हिसाब गर्दा १ अर्ब अमेरिकी डलर अर्थात् १ खर्ब ३० अर्बभन्दा बढीको आईटी सेवा निर्यात भइरहेको हाम्रो अनुमान छ ।

नेपालको ठूलो सम्भावनाको क्षेत्र भनेर पर्यटनलाई मान्ने गरिएको छ । तर आईटी क्षेत्र त्यसको दोब्बर बनिसकेको अनुमान छ । गत आर्थिक वर्ष पर्यटनबाट नेपालले ६१ अर्ब ५२ करोड आय गरेको थियो । आईटी त्यसभन्दा कम्तीमा पनि दोब्बर बनिसकेको देखिन्छ ।

सुरूमा आईटीमा काम गर्नेहरूले सफ्टवेयरहरूको टुल्स र टेक्निकहरू जानेर सेवा निर्यात गर्दथे । अहिले आएर आईटीले दिएको सुविधाको प्रयोग गरेर नेपालीले विदेशमा थेरापी, परामर्श, विद्यार्थीलाई ट्युसन, टेलिमेडिसिनलगायत सेवा दिइरहेका छन् ।

यसबारेमा पनि नेपाल सरकारसँग कुनै आधिकारिक तथ्यांक छैन । जब विश्वभर कोरोना फैलियो तब सूचना प्रविधिको सेवा दिन दुई गुणा र रात चौगुणा बढ्दै गयो ।

विदेश गएका नेपालीले ल्याएको अवसर

नेपाली युवा तथा विद्यार्थीहरू ठूलो संख्यामा विदेशी रहनुलाई धेरैले चिन्ता व्यक्त गरेको मैले देखेको छु । तर म भने नेपालीहरुलाई विदेश जान दिनुपर्ने पक्षमा छु । किनभने विदेशमा नेपाली डायस्पोरा बढ्दै गएपछि नेपालको आईटी क्षेत्र पनि निश्चित रुपमा बढ्नेछ ।

सूचना प्रविधिमा लगानी गर्न चाहने उद्यमीका लागि कर कानुन घातक देखिएको छ । दुई/दुई पटक कर लगाइदिने खालको कानुन तथा नियमहरु एवम् सरकारी कर्मचारीले मनपरी गर्ने कानुनको अपव्याख्याले नेपालप्रति लगानीकर्ताको विश्वास घट्दै गएको छ ।

अहिले पनि विदेशमा पढेका वा अवसर पाएकाहरुले नेपालको आईटी क्षेत्रमा काम गरिरहेका छन् । नेपाल नै फर्केर उद्यम गरेका छन् वा उतै काम गर्दा पनि नेपालमा कार्यालय खोलेर यहाँका युवालाई रोजगारी दिएका छन् ।

भारत, चीन, फिलिपिन्स लगायत देशमा पनि आईटीको विस्तार यसैगरी भएको हो । त्यसैले नेपालीहरु बाहिर जाँदा हामीलाई आर्थिक रुपमा थप सबल बनाउँछन् ।

नेपालीहरू बाहिर गए पनि उसको पहिचान भने नेपालसँग जोडिइरहेको हुन्छ र नेपालमा आएर केही गर्न चाहेको हुन्छ ।

लगानीमैत्री वातावरणको खाँचो

विश्वासको वातावरण बनाए विदेशमा रहेको नेपाली सीप र ज्ञान लिएर नेपाल फर्किन चाहन्छ । विदेशमा जसरी नेपालीले आफ्नो क्षमतालाई दखाएर काम गर्न वातावरण पाउँछ, त्यसरी नै नेपालमा काम गर्ने वातावरण चाहन्छ । ऊ नेपालमा आउँदा काम गर्ने, लगानी गर्ने वातावरण खोजी गरिरहेको हुन्छ । तर, त्यो काम गर्ने वातावरण कसले बनाइदिने भन्‍नेमा सरकार र सम्बन्धित निकाय नै अलमलमा देखिन्छन् । लगानीमैत्री वातावरण नहुँदा नेपालीहरू सिप र ज्ञान भएर पनि नेपाल फर्किन चाहन्नन् ।

त्यसका लागि सरकारी नीति र कानुन सही बनाउनुपर्छ । नेपालमा सबैभन्दा मुख्य चुनौती नै लगानीमैत्री कानुनको अभाव हो जस्तो लाग्छ । हामीसँग एक त कानुनहरू पुराना छन्, प्रविधि नयाँ आइसकेको हुन्छ । लगानी गर्ने वातावरणमा नै कानुनी अवरोधहरु छन् । द्विअर्थी नियम कानुनहरू बनाइदिँदा व्यापार, व्यपसाय र प्रविधिमा नयाँनयाँ विकासका सेवाहरू दिन थप कठिनाइहरू झेल्नु परेको छ।

सूचना प्रविधिमा लगानी गर्न चाहने उद्यमीका लागि कर कानुन घातक देखिएको छ । दुई/दुई पटक कर लगाइदिने खालको कानुन तथा नियमहरु एवम् सरकारी कर्मचारीले मनपरी गर्ने कानुनको अपव्याख्याले नेपालप्रति लगानीकर्ताको विश्वास घट्दै गएको छ ।

अहिले कोटिभिटी मुद्दामा सरकारी कर्मचारीले जबरजस्ती कानुनको व्याख्या गरेर भ्याट असुल गर्न खोजेको विषय सार्वजनिक भएको छ। म कानुनको जानकार नभएकाले कोटिभिटीको कुरा यस्तै हो भन्न सक्दिनँ । तर मिडियाहरुमा आएजस्तो त्यो कानुनको अपव्याख्या नै हो भने त्यसले उद्यमी र आईटी सेवा निर्यात गर्ने कम्पनीलाई थप निराश बनाउनेछ ।

नेपालको कर प्रणाली कस्तो हुने भन्‍नेमा नेपाल सरकार प्रस्ट कानुन बनाउन नसकेको देख्छु  म। यसले निजी क्षेत्र र सूचना प्रविधि सेवाको निर्यात गर्ने जुनसुकै कम्पनीलाई एक पटक त्रासदी फैलाएको छ । हामी यसबारेमा पटक पटक सरकारका प्रतिनिधहरूसँग छलफल गरेका छौं ।

प्रविधिमा विकास भएका र यसलाई प्रयोग गरेर सेवा निर्यात गर्ने अवसर मुखमै आइसकेको छ, यसलाई छुट्न दिनु हुँदेन । यदि यसलाई सही समयमा लिन सक्यौ भने प्रविधि नेपालको लागि वरदान सावित हुनेछ ।

एउटा उद्यमीको नाताले मैले यही भन्नुपर्छ की नियम कानुन सही र स्पष्ट हुनुपर्छ । कानुन र नीति नै स्पष्ट नभए यसलाई स्पष्ट गराउने जिम्‍मेवारी लिनुपर्छ। अमेरिका, बेलायतमा कर लगाउने र लिनेसम्बन्धी कानुन एकदमै स्पष्ट छन्। त्यसैका कारण त्यहाँका उद्यमीहरूले लगानी गरिरहेका छन् । ठुल्ठूला भेन्चरहरू आइरहेका छन् । तर नेपालमा सानाको लागि अर्कै कानुन अनि ठूलाको लागि छुटै कानुनको व्याख्याले उद्यमीहरू आउन नचाहेका हुन् । अब सबैलाई एउटै कानुन र नीति नियम लागू हुने गरी स्पष्ट रुपमा आउनुपर्छ ।

अहिले संसदमा इकमर्स बिल गएको छ । त्यसलाई पनि जथाभावी हुने किसिमले ल्याउन भएन । इकर्मस बिलमा केही प्रावधानहरू लगानीविरोधी दखिएका छन्, उद्यमी भड्काउने खालका छन्। हामीले पटक-पटक अर्थमन्त्री, प्रधानमन्त्रीलगायतका सम्बन्धित सरोकारवालाहरूसँग भेटेर आग्रह गरेका छौं कि लगानीमैत्री वातावरण बनाउने खालको कानुन ल्याउनुस् । जबरजस्ती उद्यमीलाई मारमा पार्ने कानुन नलिएर आऊ भनेर अनुरोध गर्न धेरै पटक गएका छौं । बजार बिगार्ने गरी कानुन नल्याउन पनि सरकारका प्रमुखसँग आग्रह गरेका छौं । विरोधाभासी कुराहरू नियम कानुनमा ल्याएमा लगानी गर्नेहरू कोही पनि आउँदैनन् र पछि आर्थिक विकासको मुख्य चुनौती पनि यही बन्‍नेछ ।

सूचना प्रविधि सेवा विकासको नवौँ शृंखला बन्न सक्छ

नेपाललाई विश्वमा चिनाउने ८ वटा अग्ला अग्ला हिमश्रृंखलाहरू छन् । तर अब सूचना प्रविधि क्षेत्र विश्वमा नेपाललाई चिनाउने गरी ९ औं श्रृखला हो । किनकी सूचना प्रविधिको बजार विस्तार नेपालमा नभएर संसारभर बढ्दै गइहेको छ । नेपालीहहरूले घरमै बसेर आईटी सेवा निर्यात गरेर विदेशी मुद्रा आर्जन गरेर आफूसँगै देशको जीडीपीमा योगदान दिइरहेको छ । त्यसकारण यसमा लगानी र सेवालाई थप चुस्त दुरूस्त राख्न सरकार, उद्यमी र स्थानीय मिलेर आईटी सेवालाई विदेशमा निर्यात गर्न सके सूचना प्रविधिको बजारमा नेपालले पैसासँगै पहिचान दिलाउन सक्छ।

हामी सधैं हिमालको देश भनेर चिनिरहेको बेला अब आउने दिने सूचना प्रविधिमा सक्षम सेवा दिने देश भनेर चिनाउन सक्‍ने क्षमता राख्दछौँ। किनकि नेपालमा डेटा सेन्टर राख्‍न सक्ने उपयुक्त मौसम, काम गर्न सक्न दक्ष जनशक्ति र दृढ इच्छाशक्ति प्रशस्तै छ। तर, राज्‍यले सही समयमा सही निर्णय र नीति बनाउनुपर्ने देखिन्छ ।

सरकारले पब्लिक प्राइभेट पार्टनरसिपको नीतिलाई अंगालेर सँगै काम गर्न सके प्रविधिले देशको अर्थतन्त्रमा कायापलट गर्न धेरै समय नै लाग्दैन।  सरकार र नीजी क्षेत्र एकअर्काका शत्रु होइन, मित्र बनेर काम गर्ने वातावरण भएमा चाँडै ने नेपाल सूचना प्रविधिको नवौँ चुचुरो अर्थात् प्रविधिको सेवा निर्यात गर्ने देश भनेर चिनिने अवसर पाउनेछ । यो कुरालाई लिएरर म निक्कै उत्साहित र हौसिएको छु ।

हामीले विकासका पूर्वाधारहरूमध्ये धेरैमा पछि परिसकेका छौं । तर प्रविधिमा विकास भएका र यसलाई प्रयोग गरेर सेवा निर्यात गर्ने अवसर मुखमै आइसकेको छ, यसलाई छुट्न दिनु भएन। यदि यसलाई सही समयमा लिन सक्यौ भने प्रविधि नेपालको लागि वरदान सावित हुनेछ । विश्वमा नेपाल हिमालहरूको देश मात्रै होइन प्रविधिमा पनि सबल भएको देश भनेर चिनिनेछ ।

(सूचना प्रविधि उद्यमी शाह नेपाल उद्योग परिसंघअन्तर्गतको आईटी काउन्सिलका अध्यक्ष हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?