+
+
अग्रपथ :

राजनीतिको उद्देश्य राज्य कब्जा कि राष्ट्र निर्माण ?

यहाँ राजनीतिक सफलताको मापदण्ड राज्य र सत्ता कब्जा, शक्ति र स्रोत-साधन हत्याउने मात्र भएको छ । यदि राष्ट्र निर्माण राजनीतिको उद्देश्य हुन्थ्यो भने नेतृत्व पंक्ति यति तल गिर्न सक्दैनथ्यो । 

डम्बर खतिवडा डम्बर खतिवडा
२०८० चैत २५ गते १६:१२

कुरा गर्‍यो, कुरैको दुःख । यो देशमा धेरै चिज त्यस्तै लाग्छन् । राजनीति गर्‍यो, राजनीतिकै दुःख । विचार गर्‍यो, विचारकै दुःख । व्यवसाय गर्‍यो, व्यवसायकै दुःख । लगानी गर्‍यो, लगानीकै दुःख । पार्टी बनायो, पार्टीकै दुःख ।

काम गर्न खोज्यो, कामकै दुःख । मित्र बनायो मित्रताकै दुःख । जे चिज सुखका लागि होलान् भनेर गर्‍यो, अन्ततः त्यही थप दुःखको कारण भइदिन्छ । यति धेरै राजनीतिक रुचि, चर्चा र ज्ञान, यति धेरै दल, यति धेरै नेता÷कार्यकर्ता, यति धेरै आन्दोलन, यति धेरै क्रान्ति, यति धेरै संघर्ष र बलिदान कमै देशको इतिहासमा भएका होलान् ।

एउटा पाटोबाट हेर्ने हो भने नगरेको केही छैन । गर्न बाँकी केही छैन । सबैथोक भएको, सबैथोक गरेको देखिन्छ । अर्को पक्षबाट हेर्दा के गरियो ? के भयो ती कर्महरूबाट ? कस्तो आयो नतिजा ?

के आयो परिणाम ? के यस्तै देश, यस्तै समाज व्यवस्था, यस्तै प्रणाली, यस्तै अर्थतन्त्र, यस्तै भ्रष्ट र अक्षम प्रशासन, यस्तै संस्कार संस्कृतिका लागि थिए ती संघर्ष, बलिदान, क्रान्ति र आन्दोलन ? जस्ता प्रश्न बलिया भएर आउँछन् अगाडि । यो पक्षबाट हेर्ने हो भने कोही सन्तुष्ट हुन सक्दैन ।

सायद तिनको मनभित्र पनि कुनै न कुनै प्रकारको ग्याप, रिक्तता, शून्यता, पाप, अपराध वा पश्चात्तापबोध आवश्यक होला, जो नेतृत्व, सत्ता र शक्तिमा भएको भ्रममा बाँचेका छन् । जीवनमा ठूल्ठूला पदमा पुगेको, सफल राजनीति गरेको अभिमान बोकेर हिंडेका छन् ।

के ओली खुशी छन् ? के देउवा खुशी छन् ? के प्रचण्ड खुशी छन् ? के माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई खुशी छन् ? के उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो खुशी छन् ? के ज्ञानेन्द्र शाह, कमल थापा, राजेन्द्र लिङ्देन खुशी छन् ?

यिनै त होलान् यो देशको शक्ति संरचनाका ठूला मान्छे । यिनै त होलान् यो देशको शक्ति संरचनाको पिरामिडमा उपल्लो तहमा भएका मान्छे । यिनै त होलान् यो राज्यको शक्ति सम्भ्रान्तको वृत्त ।

के यिनलाई हृदयमा साँच्चै लाग्छ कि उनीहरूले आ–आफ्नो समयमा राम्रो देश बनाए ? सुशासन दिए ? भ्रष्टाचार रोके ? आर्थिक विकास गरे ? नागरिकलाई सुख दिए ? देशलाई चाहिने सामयिक नीतिगत परिवर्तन गरे ? कुनै त्यस्तो प्रखर र प्रष्ट देखिने काम गरे, जसले गर्दा सन्तोषको सास फेरेर मर्न पाइयोस् !

मलाई लाग्दैन कि त्यस्तो भएको छ वा होला । एक से एक पीडा, कुण्ठा, उद्विग्नता, हीनता, लघुता र रिक्तताबोधमा बाँचेका देखिन्छन् यी । यी सबैको हृदयमा असीमित पीडा र पश्चात्ताप छ । रिक्तता वा शून्यता छ । ग्याप, दूरी वा खाडल छ । कहिल्यै नभरिने दुःख, कहिल्यै नपुरिने असन्तोष, मर्दा एक मुट्ठी सास राम्ररी नजाने घिडघिडो बोकेर बाँचेका छन् यी ।

मुखले स्वीकार नगर्लान् तर उनीहरूको व्यवहार र बोलीमा व्यक्त हुने सत्य यही हो । अभिव्यक्त हुने यथार्थ यही हो । अनुहारको भावभंगिमाले पुष्टि गर्ने प्रकल्पन यही हो ।

एकअर्कालाई गालीगलौज गरेर, आलोचना गरेर, दोष पन्छाएर, पानीमाथिको ओभानो भएर आ-आफ्ना असन्तोष र रिक्ततालाई मेट्न, छोप्न खोजिरहेका हुन्छन् यी । नत्र किन त्यसो गर्छन् ? कुन सुखका लागि ? कुन लक्ष्य, उद्देश्यका लागि ? कुन महानता, वीरता र धीरताका लागि ?

बरु तराईको भदौरे घाममा हलो जोत्दै गरेको किसान सन्तुष्ट होला, यी असन्तुष्ट छन् । हुम्ला-जुम्लाका जोखिमपूर्ण ‘भर्जिन ट्रयाक’ मा गाडी कुदाइरहेका ड्राइभर सन्तुष्ट होलान्, यी असन्तुष्ट छन् । बरु कर्णाली र सुदूरपश्चिमका पहाडबाट निस्केर भारतका शहरमा दरबान र कुल्ली गरिरहेका गरिब, श्रमिक सन्तुष्ट होलान्, यी असन्तुष्ट छन् । बरु पहाडका पीरपाखामा घाँस-दाउरा गरिरहेका महिला सन्तुष्ट होलान्, यी असन्तुष्ट छन् ।

वचन, असफलता र निराशाले देखाउँछ कि यी संसारकै दुःखी र असन्तुष्ट आत्ममध्येका हुन् । राजनीति गर्नेहरूमा, नेतृत्व गर्नेहरूमा यो ग्याप किन छ ? मलाई लाग्दछ कि यो राजनीतिको उद्देश्यबाट निःसृत छ ।

मनमा लागेको, यसो विश्लेषण गरिटोपलेको मात्र हैन, नजिकबाट नियालेको, हेरे/भोगेको, प्रत्यक्ष/परोक्ष संगत गरेको हो यी मान्छेसँग, यिनको चित्तवृत्ति, आकांक्षा र महत्वाकांक्षाको स्तर, गुणस्तर छामेको आधारमा दाबीका साथ भन्न सकिन्छ- यिनले राजनीतिको उद्देश्य नै सानो बनाए ।जसले आफ्नो चित्त नै सानो बनाउँछ, आकांक्षा नै संकुचन गर्दछ, त्यसको अस्तित्वको फैलाव ठूलो, लामो र बृहत् हुन सम्भव नै हुँदैन ।

यो विरोधाभासभित्रको चुरो कुरा के हो भने राज्य कब्जालाई यिनले राजनीतिको उद्देश्य र जीवनको लक्ष्य बनाए । खासमा राजनीतिको उद्देश्य राष्ट्र निर्माण हुनुपर्दछ, राज्य कब्जा हैन । राज्य कब्जा भयो, शक्ति हात पर्‍यो, पद प्राप्त भयो, सार्वजनिक स्रोत-साधन जगन्नाथ भयो, यी खुशी हुने भए, क्षणिक । तर, ती चिज गुम्यो फेरि त्यही उद्विग्नता, उही असन्तुष्टि ।

यस्तो किन हुन्छ ? किनकि यहाँ राजनीतिक सफलताको मापदण्ड राज्य कब्जा, सत्ता कब्जा, शक्ति हत्याउने, स्रोत–साधन हत्याउने मात्र भएको छ ।

यदि राष्ट्र निर्माण राजनीतिको उद्देश्य हुन्थ्यो, राजनीतिक जीवन लक्ष्य हुन्थ्यो भने नेतृत्व पंक्ति यति तल गिर्न सक्दैनथ्यो । यति स्वार्थी, लोभी, पापी, पाखण्डी, अनैतिक र अवसरवादी हुन सक्दैनथ्यो ।

हरेक चिजको मानक यहाँ सत्ता कब्जासँग जोडिएको हुन्छ, कुनै निष्पक्ष, तटस्थ, विवेकसम्मत, नैतिक साक्षीभावसँग हैन । न्याय र मूल्य प्रणालीसँग हैन । यदि सत्ता कब्जामा सहयोगी बन्छ भने जसले जसको पनि प्रतिरक्षा गर्दछ । जसले जससँग पनि घाँटी जोड्दछ । जो जसको कित्तामा उभिन राजी हुन्छ, रातारात, एकाएक ।

उपेन्द्र यादव, राजेन्द्र महतो र महन्थ ठाकुर एमाले अध्यक्ष केपी शर्मा ओलीको पोल्टामा हुनु स्वाभाविक हुन्छ कुनै बेला, जबकि यी एमालेका लागि अवैचारिक र विजातीय मानिन्छन् ।

यी कुनै बेला एमालेलाई संघीयता र मधेश विरोधी भनेर सत्तोसराप गरिरहेका हुन्छन् । कुनै बेला ओलीको सरकार जोगाउन, सरकारको मन्त्री खान, एमालेसँग गठबन्धन र तालमेल गर्न तँछाडमछाड गरिरहेका हुन्छन् ।

नयाँ पार्टी अस्तिसम्म ओली, देउवा र प्रचण्डलाई बडो ठूलो टाउकोदुखाइको विषय थियो । अहिले अब राज्य कब्जाको सहयोगी बन्यो, सात खत माफी भयो । सहकारी पीडितहरू सडकमा रुँदैछन् । दैनिक तिनै नेता कहाँ बिन्तीपत्र बोकेर धाइरहेका छन् । बाल मतलब छैन । सत्ता कब्जाका लागि जो सहयोगी छ, सरकार टिकाउन जो टेको बन्न सक्दछ, त्यो मात्र आफ्नो हो ।

बोलीको कुनै ठेगान छैन कसैको, आज एउटा, भोलि एउटा । चुनावमा एउटा चुनावपछि अर्कै । भोट बटुल्दा एउटा, जित्ने बित्तिकै अर्कै । चुनावमा ‘नो नट् अगेन’ । चुनाव सकिने बित्तिकै ‘एस, वान्स अगे’ । निर्लज्जताको पराकाष्ठा ! प्रतिपक्षमा हुँदा सरकारले अपराधी लुकायो भनेर भाषण ठोक्यो । सरकारमा हुँदा आफैं अपराधी लुकायो । दोहोरो मापदण्ड र पाखण्डको पराकाष्ठा !

यो सबै चिजको अन्तर्यमा के छ त ? त्यही राज्य कब्जाको सोच ? किन यति तल निर्लज्जतापूर्वक गिर्न तयार छन् मान्छे ? त्यही राजकीय पद प्राप्तिको आकांक्षा ।तर, त्यसका के त्यस्तो सुख छ ? के त्यस्तो ठूलो प्राप्ति छ ? छैन । तर, सानो चिजलाई उद्देश्य र लक्ष्य बनाएपछि लडाइँ पनि त्यसैका लागि हुने त हो !

दुर्भाग्यको कुरा हो कि यो देशको राजनीतिमा राष्ट्र निर्माणको सोच र भावनाले कहिल्यै महत्व, प्राथमिकता पाएन-हिजो पनि, आज पनि ।

शाही दरबारभित्र हुने षडयन्त्र, काटमार, धोकाधडी, छलछाम, पारिवारिक रडाकोको सार त्यही थियो- राज्य कब्जा। राज्य कब्जाको सोचले नै रणबहादुर शाह जस्ता सनकी राजा जन्मिएका थिए ।

राज्य कब्जाको सोचले नै थापा-पाँडे जस्ता दरबारियाहरूको लामो झगडा चल्यो । राज्य कब्जाको सोचले नै राजेन्द्र-राज्यलक्ष्मी जस्ता नालायक राजा-रानी जन्मिए। राज्य कब्जाको सोचले कोत पर्व भयो । राज्य कब्जाको सोचले २०१७ सालको ‘कु’ गरियो । राज्य कब्जाको सोचले नारायणहिटी दरबार हत्याकाण्ड भयो ।

नेपाली कांग्रेसभित्र मातृका र बीपी, गिरिजाप्रसाद र किसुनजी बीचको अन्तर्घातको सार पनि त्यही राज्य कब्जा थियो । कम्युनिस्टहरूको बारम्बारको टुट, फुट र गुटको सार पनि पार्टी सत्ता कब्जा, राज्य कब्जा नै हो ।

राज्य कब्जा, राज्य कब्जा, राज्य कब्जा ! आखिर प्रचण्ड नेतृत्वको माओवादी युद्धको अन्तिम सार पनि त्यही राज्य कब्जा रहेछ, राष्ट्र निर्माण हैन ।

यदि प्रचण्ड साँच्चै कम्युनिस्ट, माओवादी र राष्ट्र निर्माणको सोचबाट प्रेरित नेता हुन्थे त आज ओली र देउवाबीचको पेन्डुलम, एमाले र कांग्रेसबीचकोे पल्टुराम हुने थिएनन् । त्यो नियति स्वीकार्य नहुनुपर्ने हो उनलाई । तर, सहर्ष स्वीकार्य छ ।

क्रान्तिकारी हुनेको स्वाभिमान र गरिमा भिन्नै हुन्छ । मर्यादा र आदर्श भिन्नै हुन्छ । क्रान्तिकारी हुनुको इतिहास चेतना र गौरव-गाथा भिन्नै हुन्छ । क्रान्तिकारीहरू बरु मर्छन्, सजिलै झुक्दैनन् ।

क्रान्तिकारीहरू बरु जेलमा सड्न राजी हुन्छन् तर सजिलै बिक्दैनन् । क्रान्तिकारीहरू बरु फाँसीमा झुन्डिन तयार हुन्छन् तर पदको सौदाबाजी गर्दैनन् । ती मान्छे जो क्रान्तिकारीले गर्न नहुने सबै काम गर्दछन् भने यो बुझ्नुपर्दछ कि यथार्थमा क्रान्तिकारी थिएनन् । ती पदका भोका थिए । ती क्रान्तिकारी हुनुको पाखण्ड गर्दै थिए ।

राज्य कब्जा नै तिनको चिन्तनको स्रोत थियो, राष्ट्र निर्माण हैन । पद, प्रतिष्ठामै तिनको आसक्ति थियो, मानवता र उदात्त भावनामा हैन । राष्ट्र निर्माणको सोच र आदर्शले प्रेरित मान्छे त्यति सजिलै कहाँ झुक्छ ? त्यति सजिलै कहाँ बिक्छ ? त्यति सजिलै पेन्डुलम र पल्टुराम किन स्वीकार गर्दछ ?

अक्सर हामी ‘देश’, ‘राज्य’ र ‘राष्ट्र’ लाई एउटै अर्थमा, पर्यायवाची शब्दका रूपमा बुझिदिन्छौं । यहीबाट राजनीतिक सोच र समझको समस्या शुरु हुन्छ । मेरा एक मित्र छन्– प्रशान्त सिंह । उनले आफ्ना भाषण, प्रवचनमा ‘देश’, ‘राज्य’ र ‘राष्ट्र’ बीचको अन्तरसम्बन्ध र भिन्नतालाई बडो सजिलो गरी बुझाउने गर्दछन् ।

भूगोलमा भूगोल जोडेर सिमानाको अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नु देश हो । देशमा शासन जोडियो भने राज्य हुन्छ । राज्यमा नागरिक सर्वोच्चता वा केन्द्रीयता स्थापित भयो भने त्यो राष्ट्र हुन्छ ।

राष्ट्र निर्माणको राजनीतिमा पद नपाएरै, चुनाव नजितेरै पनि अमर हुन सकिन्छ । जस्तो कि गान्धी भए, मण्डेला भए, गणेशमान सिंह भए । मानव जीवनको सार्थकता उसको लक्ष्य, उद्देश्यको बृहत्तता वा व्यापकता हो । यो बुझौं कि राज्य कब्जाको राजनीतिले पद, तलब, भत्ता र सुविधा दिन्छ ।

सूत्रमा भन्दा भूगोल जोड भूगोलले अन्तर्राष्ट्रिय मान्यता पाउँदा देश हुन्छ । देश जोड शासन राज्य हो । राज्य जोड नागरिक सर्वोच्चता राष्ट्र हो । यो सूत्र र परिभाषाबाट हेर्दा पृथ्वीनारायण शाहले देश बनाएका हुन्, राज्य, राष्ट्र बनाएका होइनन् । राज्य त पाँच हजार वर्ष अघिदेखि थियो यहाँ । राज्य न शाहले, न राणाले, न पञ्चले, न कांग्रेस, न कम्युनिस्टले, न मधेशकेन्द्रित शक्तिले बनाएका हुन् ।

इतिहासका अनेक कालखण्डमा अनेक राज्य थिए । प्राचीनकालमा नेपालमण्डल, मिथिला, कपिलवस्तु, खस साम्राज्य थिए । मध्यकालमा तिरहुत, सेन, लिम्बुवान अनेक राज्य थिए । स्वयं अहिलेको नेपाल ५४ राज्य मिलेर बनेको हो ।

राज्यको कहिले के कमी थियो यहाँ ? राज्य सञ्चालन गर्न चाहने, शासक हुन चाहनेहरूको कहिले के कमी थियो यहाँ ? त्यस्ता त सधैं थिए । प्रश्न त राज्यको चरित्रको हो, राष्ट्र निर्माणको हो ।

राज्य निर्माणको जस अहिलेका कुनै राजनीतिक शक्तिले दाबी नगरे हुन्छ । राज्य छँदै थियो । यो स्वीकार गर्नुपर्दछ कि देश शाहवंशको पालामा बन्न थालेको हो, सुगौली सन्धि र जंगबहादुरको पालासम्म त्यो जारी थियो । तर, राष्ट्र ? राष्ट्र त अहिलेसम्म पनि बनेकै छैन ।

आजको राजनीतिको मुख्य उद्देश्य, मुख्य कार्यभार राष्ट्र निर्माण हुनुपर्ने हो । तर, दुर्भाग्य हाम्रा यावत् प्रयत्न राज्य कब्जामा सीमित छन् ।

हाम्रा राजनीतिक शक्ति र नेतृत्व वृत्तको गुणस्तर यति कमजोर छ कि त्यसले राष्ट्र निर्माण र राज्य कब्जा बीचको भिन्नता नै छुट्याउन सक्दैनन् । राज्य कब्जाको भागदौड, हाँपझाँप, छिनाझपट, षडयन्त्र र अस्वस्थ प्रतिस्पर्धालाई नै हामीले राजनीति बुझेका छौं ।

दुःखको कुरा यो हो कि देशमा राष्ट्र निर्माण गर्न चाहने राजनीतिक शक्ति नै छैन । एक भयानक शक्ति शून्यता र रिक्तताको युगमा बाँचिरहेका छौं हामी । यही कारण हो कि सबैको हृदयमा नभरिएको एक खाली ठाउँ छ । नपुरिएको एक चहर्‍याउने घाउ छ । कहिल्यै सन्तुष्ट हुन नसक्ने एक अतृप्त आत्मा छ । कहिल्यै नअघाएको भोको हंस छ ।

यो रिक्ततालाई हामी सत्ता कब्जाको प्रयत्नबाट भर्ने, पद प्रतिष्ठाको राजनीतिबाट पुर्ताल गर्ने प्रयासमा छौं, जो असम्भव हो । कुरा यो कहिल्यै र किमार्थ हुने छैन । सत्ता कब्जाको राजनीति म्युजिकल चेयरको खेल झैं क्षणिक हो । एक सस्तो हर्कत, एक आत्मतुष्टि, एक महाभ्रम !

यदि हामी सार्थक, सुन्दर, नैतिक, परिणाममुखी र सन्तोषको सास फेरेर मर्न सकिने राजनीति गर्न चाहन्छौं भने सबैले राज्य कब्जाको चाहना छोड्नुपर्दछ । राष्ट्र निर्माणको राजनीतिमा प्रवृत्त हुनुपर्दछ । राष्ट्र निर्माणको राजनीति राज्य-कब्जाको राजनीति जस्तो क्षणिक हैन, दीर्घकालीन सोच, दूरदृष्टि र मिसनमा आधारित हुन्छ ।

राष्ट्र निर्माणको राजनीतिमा पद नपाएरै, चुनाव नजितेरै पनि अमर हुन सकिन्छ । जस्तो कि गान्धी भए, मण्डेला भए, गणेशमान सिंह भए । मानव जीवनको सार्थकता उसको लक्ष्य, उद्देश्यको बृहत्तता वा व्यापकता हो । यो बुझौं कि राज्य कब्जाको राजनीतिले पद, तलब, भत्ता र सुविधा दिन्छ ।

क्षणिक शान, अभिमान दिन्छ । गाडी, क्वार्टर र सेलुट दिन्छ । तर, आत्मगौरव र सन्तुष्टि दिंदैन । अझ ठूलो कुरा नीचता र पतनको त्रासद कथा लेख्छ त्यसले, इतिहासमा गौरव–गाथाको अध्याय थप्दैन । राष्ट्र निर्माण गर्न गौरवपूर्ण इतिहास शृङ्खला चाहिन्छ, बारम्बार दोहोरिने पतनका कथा र मजाक हैन ।

लेखकको बारेमा
डम्बर खतिवडा

राष्ट्रिय राजनीतिमा सशक्त कलम चलाउने राजनीतिक विश्लेषक डम्बर खतिवडाको नियमित स्तम्भ 'अग्रपथ' हरेक आइतबार प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?