+
+

दक्षिण एशियामा वायु प्रदूषण किन बढ्यो ?

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २६ गते १३:५५
पाकिस्तानको कराँचीमा प्रदूषित वातावरणमा खेलिरहेका बालबालिका । तस्वीर : रोयटर्स

सन् २०२३ मा बंगलादेशको वायु प्रदूषण सबैभन्दा खराब मापन भयो । जलवायुबारे काम गर्ने स्वीस समूह आईक्यू एयरले १३४ राष्ट्रको अवस्था मापन गर्दा बंगलादेशमा वायुको गुणस्तर सबैभन्दा खत्तम देखिएको हो । भारत र पाकिस्तान बंगलादेशपछिको सूचीमा छन् । आईक्यू एयरको प्रतिवेदनले दक्षिण एशियामा वायुको गुणस्तर खराब हुँदै गएको तथ्य उजागर गरेको छ ।

वायुको गुणस्तरबारे विश्व प्रतिवेदनले के भन्छ ?

प्रतिवेदन तयार गर्नुअघि विश्वभरका ७ हजार ८१२ शहरमा वायुको गुणस्तर मापन गरिएको थियो । वायुको स्वच्छता २.५ माइक्रोन्सभन्दा कम भएको अवस्थामा श्वासप्रश्वासका लागि घातक मानिन्छ । विशेषगरी धुलो धुँवा तथा डढेलोका कारण वायुमा हानिकारक कण पैदा हुने गर्छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार वार्षिक रुपमा पीएम २.५ को तह ५ माइक्रोग्राम प्रति क्युबिक मिटर हुनुपर्छ । यो मापदण्ड अनुसारको वायु स्वच्छता १० वटा राष्ट्रमा मात्रै रहेको छ । यसमा फ्रान्स, न्युजिल्याण्ड, फिनल्याण्ड, इस्टोनिया लगायत रहेका छन् ।

बंगालदेशमा पीएम २.४ को तह ७९.९ माइक्रोग्राम प्रति क्युबिक मिटर मापन भएको छ । यो विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा १६ गुणाले बढी हो । यस्तै पाकिस्तामा ७३.७ रहँदा भारतमा ५४.४ माइक्रोग्राम रहेको छ ।

कस्ता छन् दक्षिण एशियाली शहर ?

आईक्यू एयरले मूल्यांकन गर्दा हरेक राष्ट्रका शहरमा प्रदूषणको स्थिति फरक फरक छ । बिहारको औद्योगिक तथा आर्थिक शहर बेगुसरीमा वायु गुणस्तर सबैभन्दा खराब मापन भएको छ । त्यहाँ ११८.९ माइक्रोग्राम मापन गरिएको थियो ।

यस्तै नयाँ दिल्लीमा ९२.७ मापन भएको थियो । बंगलादेशको ढाकामा ८०.२ छ भने पाकिस्तानको लाहोरमा ९९.५ रहेको छ । भारतको ८३ वटा शहरमा ५० माइक्रोग्राम प्रति क्युबिक मिटरको स्थितिमा प्रदूषण छ । यो भनेको मापदण्डभन्दा १० गुणा बढी हो ।

आईक्यू एयरको प्रतिवेदन अनुसार पोर्तो रिकको शहर सान जुआन विश्वकै सबैभन्दा कम प्रदूषित शहर हो । त्यहाँ वायुको गुणस्तर २.७ माइक्रोग्राम रहेको छ । यस्तै न्युजिल्याण्ड ३.१ माइक्रोग्राम सहित दोस्रो र अष्ट्रेलियाको क्यानबेरा ३.८ माइक्रोग्राम सहित तेस्रो स्थानमा छ ।

प्रतिवेदनका अनुसार दक्षिण एशियामा रहेका ईट्टाभट्टा, अन्य औद्योगिक उत्सर्जन तथा कृषिजन्य उत्पादन जलाउने जस्ता क्रियाकलापले प्रदूषण बढाउन भूमिका खेलेका छन् ।

बंगलादेशमा मात्रै मापदण्ड विपरीतका ८ हजार ईट्टाभट्टा छन् । यस्तै बाली संकलनपछि खेतमा आगो लगाउने कारणले गर्दा भारत, नेपाल र पाकिस्तानमा धुँवाका कारण हुने प्रदूषण बढी रहेको प्रतिवेदनमा भनिएको छ ।

दक्षिण एशियाको भौगोलिक अवस्थितिका कारण  पनि प्रदूषण बढेको प्रतिवेदनमा भनिएको छ । भारत- गंगा मैदानमा पर्ने, बंगलादेश, पूर्वी पाकिस्तानको अधिकांश भूभाग, यस्तै उत्तर तथा पूर्वी भारत तथा दक्षिण नेपालको प्रदूषक तत्वहरू तटीय क्षेत्रबाट बहने हावाका कारण जम्मा हुने र यी प्रदूषण उत्तरी क्षेत्रका हिमालय क्षेत्रमा जम्मा हुने प्रतिवेदनमा बताइएको छ ।

कस्तो असर ?

इम्पेरियल कलेज अफ लण्डनले अप्रिल २०२३ मा वायु प्रदूषणका असरबारेको वैज्ञानिक अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको थियो । यसमा वायु प्रदूषण र नवजात शिशु तथा गर्भवती महिलाहरूको स्वास्थ्यबारे उल्लेख थियो । वायु प्रदूषणको असरले कम वजनका बच्चा जन्मिएको, गर्भ तुहिनुका साथै मृत जन्मको अवस्था आएको उल्लेख छ । यस प्रतिवेदनका अनुसार गर्भवती महिला प्रदूषित वायुको सम्पर्कमा आएमा बाल विकासमा समेत असर पर्छ ।

वायु प्रदूषणकै कारण भारतमा प्रतिव्यक्ति आयु ५ वर्षले घटेको र दिल्ली शहरमा १० वर्षले घटेको प्रतिवेदनमा दाबी गरिएको छ । यस्तै पाकिस्तानमा प्रतिव्यक्ति आयु ३ वर्षले घटेको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?