+
+

सडकमा माग्दै हिंड्ने ६ जना महानगरको नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २६ गते १६:४२

२६ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा माग्दै हिंड्ने ६ जनालाई नियन्त्रणमा लिएको छ ।

सडकमा बसेर माग्न बाध्य रहेका अशक्त, अपाङ्गता भएका ६ जना सहयोगापेक्षीलाई महानगर प्रहरीले नियन्त्रणमा लिएको हो ।

दरबारमार्ग, महाराजगञ्जमा पैदलयात्रु र सवारी साधनलाई अवरोध गरेको भन्दै नगर प्रहरीले नियन्त्रणमा लिएर महानगर प्रहरी बलको कार्यालय बागदरबारमा राखेको छ ।

नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले काठमाडौं महानगर क्षेत्रभित्र माग्न नपाइने भन्दै उनीहरूलाई नियन्त्रणमा लिएको बताए । ‘अशक्त भएको भए, सहयोगापेक्षी भएको भए महानगरपालिकाले आफैं व्यवस्थापन गर्छ । तर व्यवसायिक रुपमा काठमाडौंमा माग्न पाइँदैन,’ अनलाइनखबरसँग उनले भने ।

‘हामीले महानगरभित्र कतै पनि मागेको देखिएमा नियन्त्रणमा लिन्छौं, उहाँहरू एक जना अशक्त लिएर अरू पनि माग्न हिंड्नु भएको रहेछ, त्यही भएर नियन्त्रणमा लिएको हो । उपचार, व्यवस्थापन, खानपानको समस्या छ भने महानगरले मानव सेवा आश्रममार्फत व्यवस्थापन गरिरहेकै छ,’ पाण्डेले भने ।

महानगरपालिकाले २०७९ साउन १७ गते सूचना प्रकाशित गर्दै सार्वजनिक स्थानमा भिक्षा माग्ने वा माग्न लगाउने कार्य गरेमा कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको थियो । त्यसपछि महानगरले विभिन्न समयमा सहयोगको लागि गीत गाएर, प्रदर्शन गरेर माग्नेहरूलाई नियन्त्रणमा लिंदै आएको छ । यस्तै सडकमा सहयोगापेक्षीहरूलाई पनि माग्न बन्देज गर्दै आएको छ ।

महानगरले जारी गरेको सूचनामा साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चलिआएको परम्पराअनुसार घरघरमा पुगी भिक्षा माग गरेमा वा कुनै धार्मिक वा सांस्कृतिक कार्यमा माग्ने बाहेक अन्य अवस्थामा भिक्षा माग्न निषेध गरिएको उल्लेख गरेको थियो ।

सूचनामा लेखिए अनुसार महानगरपालिका क्षेत्रभित्रको सडक, गल्ली, पार्क, सवारी बिसौनी, सरकारी कार्यालय वा कार्यालय परिसर, सार्वजनिक सवारी साधन र अन्य सार्वजनिक स्थानमा भिक्षा माग्न पाइने छैन । साथै बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा माग्न लगाउन पाइने छैन ।

फोटो/भिडियो : महानगर प्रहरी बलको फेसबुक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?