+
+

कहिलेसम्म बन्ला नेपाल आलु उत्पादनमा आत्मनिर्भर ?

सरकारले आलु उत्पादन गर्न किसानलाई प्रोत्साहन गर्नेदेखि पकेट क्षेत्र बनाउनमात्र नभई किसानलाई सहुलियतपूर्ण ऋण, अनुदान, मल, बीउ उपलब्ध गराउँदै आएको छ । तै पनि आलु उत्पादनमा मुलुक आत्मनिर्भर बन्न सकिरहेको छैन ।

अमृत चिमरिया अमृत चिमरिया
२०८० चैत २७ गते १९:४०

२७ चैत, काठमाडौं । आलुलाई खासमा ‘तरकारीको राजा’ भन्दा दुई मत नहोला । आलु तरकारीमा मात्र नभई अन्य विभिन्न परिकार बनाउन पनि उपयोग हुने गर्छ । नेपालमा उत्पादित आलुले तरकारीतर्फ कुल मागको ८० प्रतिशत धानिरहेको छ ।

सरकारले आलु उत्पादन गर्न किसानलाई प्रोत्साहन गर्नेदेखि पकेट क्षेत्र बनाउनमात्र नभई किसानलाई सहुलियतपूर्ण ऋण, अनुदान, मल, बीउ उपलब्ध गराउँदै आएको छ । तै पनि आलु उत्पादनमा मुलुक आत्मनिर्भर बन्न सकिरहेको छैन ।

के नेपाल आलु उत्पादनमा आत्मनिर्भर बन्न सक्ला ? वा, कहिलेसम्म आत्मनिर्भर बन्ला ? यसको वर्तमान बजार अवस्था कस्तो छ ? आलु उत्पादन गरिरहेका किसान के भन्छन् ? उनीहरूले उत्पादनको सही भाउ पाएका छन् कि छैनन् ? यसबारे विस्तृतमा चर्चा गरौं ।

नेपाल कृषि अनुसन्धान परिषद् केन्द्र (नार्क) अन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान कार्यक्रमले गरेको अध्ययनले आर्थिक वर्ष २०७७/७८ मा नेपालभरि १ लाख ९८ हजार ७ सय ८८ हेक्टर क्षेत्रमा आलु खेती हुँदा ३३ लाख २५ हजार २ सय ३१ टन उत्पादन भयो ।

राष्ट्रिय अनुसन्धान कार्यक्रम संयोजक युवराज भुसाललका अनुसार नेपालमा आलु खेती र उत्पादनबारे २०७७/७८ मा देशव्यापी अनुसन्धान भएको थियो ।

अध्ययन अनुसार कोशी प्रदेशमा ५८ हजार २ सय ७३ हेक्टरमा आलु खेती हुँदै आएको छ । जसमा ९ लाख ८५ हजार ६ सय ८२ टन उत्पादन भएको थियो ।

मधेश प्रदेशमा २५ हजार ७ सय ९९ हेक्टरमा खेती हुँदा ४ लाख ४ हजार ३ सय ८१ टन उत्पादन भएको देखिन्छ । बागमती प्रदेशमा ४० हजार ८ सय ७९ हेक्टरबाट ७ लाख ५६ हजार ७ सय ४८ टन उत्पादन भएको थियो ।

त्यस्तै गण्डकी प्रदेशमा २१ हजार १० हेक्टरमा आलु खेती हुँदा ३ लाख १६ हजार ९ सय ५० टन, लुम्बिनी प्रदेशमा २३ हजार ९ सय ४ हेक्टरबाट ३ लाख ७७ हजार ९ सय २२ टन, कर्णाली प्रदेशमा १२ हजार ७ सय ५७ हेक्टरमा खेती हुँदा २ लाख २० हजार ७ सय ९० टन तथा सुदूरपश्चिम प्रदेशमा १६ हजार १ सय ६५ हेक्टरबाट २ लाख ६२ हजार ७ सय ५७ टन आलु उत्पादन भएको छ ।

तरकारी खानै आयात हुन्छ ३ लाख टन

संयोजक भुसालका अनुसार नेपालमा तरकारी खानकै लागि वार्षिक करिब ३ लाख टन आलु आयात हुने गरेको छ । नेपालमा मुख्य गरी आलु चीन र भारतबाट आयात हुने गरेको छ ।

‘हाम्रो उत्पादनले तरकारीका लागि मात्रै ८० प्रतिशत खपत गर्छ,’ उनले भने, ‘हामीले तरकारीकै लागि भनेर आलु आयात गर्ने जम्मा २० प्रतिशत जति मात्रै हो ।’

आयातित अधिकांश आलु फ्रेन्च फ्राइज, चिप्स उद्योगले प्रयोग गर्ने उनले बताए । ‘नेपालमा आलु चिप्स उत्पादन गर्ने चौधरी ग्रुप (सीजी) बाहेक अन्य सबैले आलु आयात गर्ने गरेका छन्,’ भुसालले भने, ‘सीजी ग्रुप आफूले बीउ दिएका किसान मार्फत आलु उठाउँछ । तर, नेपालमा चिप्सको मार्केट सीजीले २० प्रतिशत मात्रै लिएको छ ।’

उनले नेपालमा औद्योगिक प्रयोजनका लागि आलु आयातमै भर पर्नुपरेको सुनाए । ‘हामीले भान्छामा प्रयोग गर्ने आलुमा खासै अरू देशको भर नपर्दा हुन्थ्यो, तर औद्योगिक रूपमा प्रयोग हुने आलु विदेशबाट आउनुपर्ने देखिन्छ,’ उनले भने ।

पछिल्लो समय बजार भाउ राम्रो भए पनि उत्पादन भने वृद्धि नभएको भुसालले बताए ।

‘पाँचखालको आलु, मनाङे आलु, पालुङको आलु, मुडेको आलु जस्ता आलुका ब्रान्ड भएर पनि हाम्रो आलु उत्पादन बढ्न सकेको छैन,’ भुसालले भने, ‘नेपालमा आलुको बजारमा कहिले कमी आएको छैन तर उत्पादन भने वृद्धि भएन । यो चिन्ताको विषय हो ।’

नेपालमा आलु उत्पादन क्षमता बढाएर व्यावसायिक खेती बढाउन सके आत्मनिर्भर हुन समय नलाग्ने उनको भनाइ छ ।

‘हामीलाई थोरै उत्पादन बढाउँदा तरकारीका लागि मात्रै आलु आयात गर्नै पर्दैन, तर आलु उत्पादनमा सरकारले प्राथमिकता दिने नीति ल्याए औद्योगिक उत्पादनलाई पनि पुग्छ,’ भुसाल भन्छन् ।

हिमाल, पहाड र तराई सबैतिर आलु खेतीको सम्भावना रहेको भन्दै सोही अनुसार किसान लक्षित कार्यक्रम गर्नुपर्ने उनले बताए ।

‘हाम्रो उत्पादन भएका बेला खपत पनि धेरै हुन्छ,’ नेपालमा आलु खपतबारे भुसाल भन्छन्, ‘आयातले धान्ने बेला खपत कम हुन्छ ।’

बारीमै भाउ पाउँदा किसान खुसी

हेमबहादुर दनुवार यसपालि औधी खुसी छन् । काभ्रे पाँचखालका किसान उनले यसपालि बारीमा खन्दाखन्दै आलुको भाउ किलोकै ४० देखि ४५ रुपैयाँसम्म पाए ।

बितेको वर्ष किलोको ३० रुपैयाँ पनि पाउन नसकेका उनलाई यसपालि सोचेभन्दा बढी भाउ, त्यो पनि बारीमै दिन व्यापारीको ओइरो लागेको देखेर रमाइला लागेको छ ।

‘गएको वर्षभन्दा यसपालि हामीले आलुको भाउ धेरै पाएका छौं । यसपालि बारीमै व्यापारी आएका छन्,’ दनुवारले अनलाइनखबरसँग खुसी साटे, ‘पोहोरभन्दा धेरै भाउ पाएपछि खुसी नहुने करै भएन । व्यावसायिक रूपमा आलु खेती गर्नेले यसपालि चाहिँ राम्रै कमाए ।’

२७ रोपनी जग्गा भाडामा लिएर आलु लगाएका हेमबहादुरले अघिल्लो वर्षभन्दा यसपालि आलुका लागि वातावरण पनि राम्रो भएको सुनाए ।

‘पोहोरभन्दा यसपालि आलु राम्रै फल्यो, खन्ने बेलामा पनि खासै समस्या भएन,’ उनले सुनाए, ‘नत्र, निकाल्ने बेला रोग र कुहिने डर हुन्थ्यो ।’

स्थानीय व्यावसायिक किसान रणबहादुर बोहोरा पछिल्लो समय ‘पाँचखालको आलु’ भनेर नाम फैलिएको बताउँछन् ।

‘हाम्रो यहाँ फलेको आलुको माग एकदमै बढेको छ,’ उनी भन्छन्, ‘तर, उत्पादन वृद्धि हुन सकेको छैन ।’ व्यापारीहरू पनि सिधै बारीबाट नै उठाउन आएकाले अघिल्लो पटकभन्दा यसपालि नाफामा वृद्धि हुने उनी बताउँछन् ।

पाँचखाल रविओपीको फेदी आलु उत्पादनको मुख्य पकेट क्षेत्र हो । यहाँका किसान अहिले धमाधम आलु खनिरहेका छन् ।

‘पोहोरभन्दा यसपालि गाउँमै भाउ त बढेको हो । तर, किलोकै ४० रुपैयाँ आउनु भनेको राम्रो हो,’ बोहोरा भन्छन्, ‘पहिला–पहिला बिक्री गर्न नै कठिन हुने गथ्र्यो । यसपालि भने व्यापारी आइरहेका छन् ।’

उनले निरन्तर व्यापारी आइरहेपछि किसानको मूल्य समयमै आउन थालेको र भाउ बढी दिनेमा व्यापारीबीच बारीमै प्रतिस्पर्धा भएको बताए ।

‘प्रतिस्पर्धा हुने बित्तिकै मूल्य त राम्रो आउने नै भयो नि ! यो राम्रै कुरा हो । पाँचखालको वातावरण आलुका लागि उपयुक्त नै हुन्छ,’ उनी थप्छन्, ‘बरु, सरकारले पनि किसानका लागि आलु उत्पादन गर्न प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्‍यो ।’

तरकारी तथा फलफूल सहकारीका केन्द्रीय अध्यक्ष विनोद पराजुली अहिले किसान गत वर्षभन्दा धेरै खुसी भएको बताउँछन् ।

‘आलु उत्पादनमा त खासै वृद्धि भएन तर किसानले भाउ पाएका छन् । यो ठूलो कुरा हो,’ पराजुली भन्छन्, ‘गत वर्ष यतिबेला (चैत) तिर किलोको ३० रुपैयाँ कटाउन काठमाडौं पुर्‍याउनुपथ्र्यो तर अहिले यहीँबाट बिक्री भइरहेको छ ।’

उनले ‘पाँचखालको आलु’ ब्रान्डले पनि यहाँका किसानले मूल्य पाएको बताए ।

‘पाँचखालको आलु भनेपछि बजारमा एक किसिमको आकर्षण छ । मुस्ताङे आलु जस्तो नभए पनि पाँचखालको आलुलाई नेपाली भान्छामा लोकप्रियता साथ हेरिन थालिएको छ,’ पराजुलीले भने, ‘यसलाई यहाँका किसानले अझै उपयोग गर्नुपर्ने देखिन्छ ।’

उनले पहिले–पहिलेभन्दा अहिले आधुनिक र वैज्ञानिक ढंगले खेती गर्न थालेको भन्दै थोरै क्षेत्रफलमा पनि उत्पादन बढाउन सरकारले किसान लक्षित कार्यक्रम ल्याउनुपर्ने बताए ।

पाँचखालको मुख्य बजार बाहेक अन्य क्षेत्रमा आलुसहित तरकारी खेती व्यावसायिक रूपमा हुँदै आएका छन् ।

पाँचखाल नगरपालिकामा संघीय सरकारले गत आव २०७९/८० मा ‘आलु बाली पकेट विकास कार्यक्रम’ सञ्चालन गरिरहेको छ ।

संघीय सरकारको सर्सत कार्यक्रम अन्तर्गत आलु बाली (पकेट) विकासका लागि नगरपाालिकालाई मन्त्रालयले कार्यक्रम पठाएको हो ।

उक्त कार्यक्रम अन्तर्गत दर्ता भएका कृषि उद्यमी, कृषि सहकारी, कृषि समूहले सहुलियतपूर्ण ऋण, बीउ, मल, अनुदान लगायत प्राप्त गर्न गरिरहेको मन्त्रालयले जनाएको छ ।

के छ पाँचखालको आलुको बजार ?

काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा आइतबार, सोमबार आलुको भाउ ४० देखि ४५ रुपैयाँ प्रतिकिलो छ ।

‘किसानले बारीमा बजारकै भाउ अनुसार मूल्य पाइरहेका छन् । पाँचखालको आलु आफैंमा ब्रान्ड बनेको छ, सोही अनुसार हामीले पनि मण्डीमा मात्रै नभई साना साना तरकारी तथा फलफूल थोक बजारमा लगिरहेका छौं,’ पाँचखालमा किसानको बारीमै आलु किन्न पुगेका एक व्यापारी भन्छन्, ‘यसको फाइदा किसान र उपभोक्ता दुवैलाई छ ।’

कालिमाटीका व्यापारीका अनुसार पाँचखालको आलुको बजार अहिले विशेषगरी काठमाडौं उपत्यका नै हो ।

‘पहिले–पहिले यहाँबाट बजार (बनेपा) पुर्‍याएर अन्य बजारतिर लैजाने गरेका थियौं । तर, अहिले खेतमै आउने भएपछि थोक बिक्री गर्नेले नै बजार पुर्‍याउँछन्,’ ती व्यापारीले भने, ‘मुख्यतः काठमाडौं उपत्यका नै आलुको मार्केट हो ।’

तरकारी तथा फलफूल सहकारीका केन्द्रीय अध्यक्षसमेत रहेका विनोद पराजुलीले आन्तरिक उपभोक्तालाई पुर्‍याउन नसक्ने भएर निर्यातको अवस्था नरहेको बताए ।

‘पूरै देशको स्थिति हेर्ने हो भने यो त एकदम कम उत्पादन भएको हो । हामीले अझै पाँच गुणा बढी उत्पादन गरे पनि नेपालमै बिक्री हुन्छ । अहिले त काठमाडौं उपत्यकालाई नै पुर्‍याउन सकेको छैनौं,’ उनले भने, ‘त्यही भएर बजारबारे त्यति सोच्नुपर्दैन । भनेको बेला भाउ आइदियो भने किसानलाई सजिलो हुन्छ ।’

यसो त आलु खेती गर्ने पाँचखालको मात्रै नभई देशभरिका किसानले यो वर्ष आलुको मूल्य पाइरहेका छन् । गत वर्षभन्दा यसपालि आलुको भाउ बढ्नुलाई थोक व्यापारीहरू आन्तरिक खपत र औद्योगिक प्रयोजनका लागि धेरै जानु रहेको बताउँछन् ।

तस्वीरहरू : विकास श्रेष्ठ

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?