+
+
विचार :

कर्णालीमा जीविकोपार्जन प्रवर्द्धनका लागि आलु

यस पंक्तिकारले दुई दशक बढी कर्णालीमा काम गरेको अनुभवको आधारमा उच्च गरिबी भएको यहाँको पहाडी क्षेत्रमा आलु खेतीगरिबी न्यूनीकरणका लागि सहयोगी हुन्छ भन्ने अनुभव गरेको छ ।

पदम भण्डारी पदम भण्डारी
२०८० कात्तिक २७ गते १४:३६

नेपालमा जनविद्रोह, जनआन्दोलन, मधेश आन्दोलन र विशेष कर्णाली प्रदेश स्थापनार्थका लागि भएको आन्दोलन पछि २०७२ मा जारी भएको नेपालको संविधान बमोजिम गठन भएका ७ वटा प्रदेशमध्ये कर्णाली प्रदेश एकहो ।

हुम्ला, मुगु, जुम्ला, डोल्पा, कालिकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम, सल्यान र सुर्खेत गरी १० वटा जिल्लालाई समेटेर यो प्रदेश निर्माण भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत हो । कर्णाली प्रदेशमा देशको ५.४ प्रतिशत जनसंख्या बसोवास गर्छन् ।

यस प्रदेशमा लगभग ६ लाख मानिस बहु–आयामिक गरिबी सूचकांकको आधारमा गरिबीको रेखामुनि छन्, जुन देशका सबै गरिबहरूको ८ प्रतिशत प्रतिनिधित्व गर्दछ ।

कर्णालीको बहुआयामिक गरिबी०.२३० छ जुन राष्ट्रिय बहुआयामिक गरिबी०.१२७भन्दा बढी हो । बहुआयामिक गरिबी मापन भनेको गरिबीको पूर्ण तस्बिर खिच्नका लागि तीन आयामहरूजस्तै मौद्रिक गरिबी, शिक्षा र आधारभूत पूर्वाधार सेवाहरूबाट वञ्चित परिवारहरूको प्रतिशत मापन गर्ने सूचकांकहो ।

केन्द्रीय तथ्याङ्क विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ मा कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योगर सेवा क्षेत्रको योगदान क्रमशः ३३.५, १०.२ र ५६.३ प्रतिशत रहेको छ ।

यस परिदृश्यले कर्णाली प्रदेशले गरिबीघटाउन विशेष आर्थिक गतिविधिलाई बढावा दिन पर्याप्त प्रयास गर्नुपर्ने सुझाव दिन्छ ।

कर्णालीको गरिबी हटाउन गर्नुपर्ने धेरै प्रयासमध्ये सबैभन्दा छिटो परिणाम दिनसक्ने उपाय भनेको गरिब तथा साना किसानहरूलाई समूह एवं सहकारीको माध्यमबाट संगठित गर्ने र उच्च मूल्यका बालीहरूको उत्पादनलाई बजारसँग जोड्ने गतिविधिमार्फत परम्परागत निर्वाहमुखी कृषि व्यवसायीकरणतर्फ उन्मुख हुन्छ र गरिबी न्यूनीकरण हुन्छ ।

यस पृष्ठभूमिमा यस पंक्तिकारले झण्डै दुई दशक भन्दा बढी समय कर्णालीमा काम गरेको अनुभवको आधारमा उच्च गरिबी भएका कर्णालीको पहाडी क्षेत्रमा उच्च मूल्यको बाली आलुगरिबी न्यूनीकरणका लागि सहयोगी हुन्छ भन्ने अनुभव गरेको छ ।

कर्णालीको ग्रामीण क्षेत्रका बहुसंख्यक जनताको जीविकोपार्जनको प्रमुख माध्यम कृषि हो । कृषि कर्णालीप्रदेशको अर्थतन्त्रको मेरुदण्ड हो जसले देशको करिब दुई तिहाइ भन्दा बढी श्रमशक्तिलाई रोजगारी दिन्छ ।

यद्यपि, कर्णालीमा कृषि अझै पनि व्यावसायिक खेती र आधुनिक प्रविधिको अभावमा खेती प्रणालीको प्रकृति निर्वाहमुखी छ तर अझै पनि आर्थिक वृद्धि, गरिबी निवारण, जनताको राम्रो जीवनस्तर र जनसंख्याको समग्र मानव विकासको लागि मुख्य मुद्दाको रूपमा रहेको छ ।

कृषि विकास कर्णालीका जनताको जीविकोपार्जनको प्रवर्द्धनका लागि मात्र नभई सम्पूर्ण पर्यावरणको दिगोपनका लागि पनि महत्वपूर्ण छ । यो जीविकोपार्जनको अवधारणा मुख्यतया गरिबीको प्रकृति बुझ्न र प्रभावकारी र दिगो रूपमा गरिबी न्यूनीकरणका लागि उपयुक्त रणनीति र गतिविधिहरू पहिचान गर्नका लागि उपयोगी छ ।

कृषि मूल्य शृंखला र जीविकोपार्जन प्रवर्द्धनका लागि कर्णालीका सबै जिल्लामा आलु मुख्य खाद्यान्नका रूपमा परिचित छ ।

कर्णाली प्रदेशको हजारौं मानिसको जीविकोपार्जन आलुमा निर्भर छ । चामल, गहुँ र मकै पछि खपत हुने चौथो उच्च कृषि उत्पादन आलु हो । आलु कर्णालीका साना किसानहरूको लागि खाद्य आवश्यकताहरू सम्बोधन गर्न महत्वपूर्ण नगदे बाली पनि हो ।

उत्पादन, उत्पादकत्व र खेतीयोग्य क्षेत्रफलको हिसाबले कर्णाली प्रदेशमा आलु महत्वपूर्ण बाली हो । यो कर्णालीको उच्च पहाडी क्षेत्रमा खाद्य सुरक्षाको लागि महत्वपूर्ण बाली हो जसले त्यहाँ रहेका गरीब किसानहरूको जीविकोपार्जनमा ठूलो योगदान पु¥याउँछ । कर्णालीको पहाडी क्षेत्रमा आलु प्रायःजसो चैतदेखि साउनसम्ममा रोपिन्छ ।

कर्णालीमा झण्डै दुई दशकभन्दा बढी समय काम गर्दाका बखत गरेको विभिन्न अध्ययन र अनुसन्धान, त्यस क्षेत्रका किसान, व्यापारी र उपभोक्ताहरूबाट प्राथमिक तथ्याङ्कका आधारमा साथै नीति निर्माताहरू र सम्बन्धित प्रदेश मन्त्रालयबाट जानकारी सङ्कलन गरेको आधारमा उच्च मूल्यको बाली आलुगरिबी न्यूनीकरणका लागि प्रमुख नगदे बालीको रूपमा लिन सकिन्छ ।

कर्णालीको पहाडी क्षेत्रमा आलुलाई प्रमुख नगदे बालीको रूपमा लिइन्छ, जसमा आलुको मूल्य शृंखला प्रणालीलाई थप वृद्धि गर्ने व्यापक अवसर छ । कर्णालीमा आलुको उत्पादन प्रशस्त मात्रामा हुन्छ । उत्पादनका साथै प्रशोधित वस्तुहरू जस्तै चिप्स र अन्य उत्पादनहरू उत्पादन गर्ने व्यावसायिक उद्योगहरूमा आलुको प्रयोगका लागि क्षेत्र विस्तारको अतिरिक्त, उत्पादनको गुणस्तरमा सुधार आवश्यक छ ।

यसले नेपालमा सबैभन्दा बढी गरिबी रहेको कर्णालीको पहाडी क्षेत्रमा रोजगारी सृजना र गरिबी न्यूनीकरणको सम्भावनाका साथ नेपालमा ठूलो परिमाणमा आलु आयातको प्रतिस्थापनको लागि मार्गप्रशस्त गरेको छ।

कर्णालीमा अहिलेको समयमा कृषि भनेको निर्वाहमुखी प्रकारको नै हो जसमा प्रति परिवार औसत जग्गा ०.६८ हेक्टर पर्छ ।

कर्णालीमा आलुको खेती यसको फराकिलो अनुकूलन क्षमता, उच्च उत्पादन क्षमता र बजारमा मागका कारण साना किसानहरूमाझ लोकप्रिय छ । यसरी, यो धेरै ग्रामीण किसानहरूको लागि खाना, आम्दानी र रोजगारीको प्रमुख स्रोत बनेको छ ।
निःसन्देह, उच्च मूल्य बालीको मूल्य शृंखला विकास मार्फत ग्रामीण गरिबी घटाउन यो धेरै महत्वपूर्ण र व्यावहारिक छ ।

कर्णालीमा आलु खेतीको प्रवर्द्धनका लागि आलुको मूल्य शृंखला विश्लेषण गर्ने,फसलको विस्तारको सम्भावनाको मूल्याङ्कन गर्ने,आलु बालीमा न्यून आय भएका परिवारहरूलाई कसरी एकीकृत गर्ने र उनीहरूको जीविकोपार्जनमा सुधार गर्ने भन्ने विषयमा राम्ररी योजना बनाउनु जरूरी छ ।

कर्णालीमा गरेका विभिन्न अनुसन्धानहरूले कर्णालीको उच्च पहाडी क्षेत्रमा आलुको उत्पादनले जीविकोपार्जन प्रवर्द्धन र गरिबी न्यूनीकरणको प्रशस्त सम्भावना देखाएको छ । कर्णाली व्यावसायिक रूपमा आलु उत्पादन उच्च सम्भावना भएको प्रदेश हो । त्यसमध्येपनि दैलेख र जुम्ला झन् सम्भावना भएका जिल्लाहरू हुन् ।

जुम्ला जिल्लाको पातारासी, गुठीचौर, डियालेख र उर्थु आलु उत्पादनका लागि पकेट क्षेत्र मानिन्छ । मनिसाँघु, गढीगाउँ, डिल्लीचौर र चोत्रालगायतका सबै बस्तीमा प्रशस्त आलु उत्पादन हुन्छ । जुम्लामा झण्डै २ हजार ६५० हेक्टरमा आलु खेती भइरहेको छ । त्यसैगरी हुम्लामा ८६० हेक्टरमा व्यावसायिक आलुखेती विस्तार भएको छ भने मुगु जिल्लामा करिब ६२५ हेक्टर जमिनमा आलु खेती गरिन्छ ।

जिल्लाको सोबा, मन्दु, कोटिला, ताल्च, माग्री, चितै, पुलु, खमाले, लगायत बस्तीहरूमा मुख्य आलु पकेट क्षेत्र मानिने भएपनि यस जिल्लाको सबै बस्तीहरूमा आलु फल्ने गरेको छ ।कालिकोटमा १३ हजार ९७६ हेक्टर खेतीयोग्य जमिन छ, जहाँ आलु खेती हुन्छ ।

यस्तै गत आर्थिक वर्ष २०७९/८० मा सल्यानमा ३५ करोड ३९ लाख २५ हजार रुपैयाँ बराबरको आलु उत्पादन भएको छ।

त्यसैगरी दैलेखको गुराँस र डुङ्गेश्वर गाउँपालिका आलु पकेट क्षेत्रको रूपमा चिनिन्छ भने जाजरकोटको ढिमे पाँचकाटिया, रुकुमपश्चिमको आठविसकोट तथा मुसीकोट नगरपालिकाका लसुनबारी, पाखापानी, झिम्मा, क्वाम्मा, घोरखानी, काप्रीबास लगायत क्षेत्रहरू आलु पकेट क्षेत्रको रूपमा परिचित छन् ।

आर्थिक वर्ष २०७७/७८ मा कर्णालीमा ९.९० प्रतिशतले आलु उत्पादनमा वृद्धि भएको छ। कृषिबजार व्यवस्थापन समिति, वीरेन्द्रनगर, सुर्खेतले २०८० कात्तिक५ गते प्रकाशित गरेको दैनिक बजार मूल्यसूची अनुसार आलु रातोको न्यूनतम मूल्य रु.५५ देखि अधिकतम रु.६० र औसत रु.५७.५० छ भने आलु रातो (भारतीय) को न्यूनतम मूल्य रु.३५ देखि अधिकतम रु.४० र औसत रु.३७.५० रहेको छ ।

यसबाट के प्रष्ट हुन्छ भने भारतीय आलु भन्दा कर्णालीका जिल्लाहरूमा उत्पादित आलुको बजार भाउ राम्रो छ । सरदरमा एक मुरी गहुँ फल्ने ठाउँमा ६ क्विन्टल आलु फल्छ । त्यसलाई मूल्यमा तुलना गर्ने हो भने गहुँको ४ हजार रुपैयाँ जति कमाइ हुन्छ भने आलुको १८ हजार रुपैयाँ कमाइ हुन्छ । कर्णालीका सबै जिल्लामा उत्पादित आलुको स्वाद त्यहाँको फरक हावापानीका कारणले विशिष्ट प्रकारको हुन्छ ।

हिउँदमा अधिकांश किसानले खाडलमा भण्डारण गरी राख्छन् जुन बेमौसमी वर्षाले क्षति पु¥याउने गरेको छ । यसबाट जोगाउन वर्षेनि आलु उत्पादन गरेर पुरानै शैलीमा खाडल खनेर राख्ने चलन हटाएर शीतभण्डार गृहमा राख्नुपर्छ । आलुमा लाग्ने डढुवा र खुम्रे कीराको कारण आलु उत्पादनमा कमी हुने गरेको छ । त्यसबाट पनि आलुलाई जोगाउनु जरूरी छ ।

कर्णालीमा व्यावसायिक स्तरमा खेती/उत्पादन गर्नका लागि सडक सञ्जाल, सङ्कलन केन्द्र र अन्य भौतिक पूर्वाधार भएको हुनुपर्छ । त्यसका लागि प्रदेश र स्थानीय सरकारहरूबाट सहयोग उपलब्ध हुनु जरूरी छ ।

त्यस्तै भूमिकोएकीकरण/चक्लाबन्दी (क्लस्टरिङ), यान्त्रिकीकरण, गुणस्तरीय बीउ र कृषि सामग्री आपूर्तिमा सुनिश्चितता, प्राङ्गारिक खेतीको प्रवर्द्धन, बेमौसमी उत्पादनको प्रवर्द्धनले कर्णाली प्रदेशमा आलुको खेती, उत्पादन र उत्पादकत्व वृद्धि सँगै बजारीकरण र श्रमिक समस्या समाधान गर्न मद्दत गर्नेछ ।यसले थप रोजगारीको अवसर बढाउन मद्दत पुग्नेछ ।

कर्णालीमा आलुको प्रशोधन गर्ने गतिविधिहरू हालसम्म आलुको चिप्स उत्पादनमा मात्र सीमित छन् । यसबाहेकयो उद्योगको लागि आवश्यक आलुको आकार नेपाली आलुले पूरा गर्दैन । त्यसैले यस सन्दर्भमा नयाँ प्रजातिहरूको विकास महत्वपूर्ण छ । आलु कृषकहरूले उत्पादन लागत घटाउन वा आफ्नो उत्पादनको बजार विस्तार गर्न आवश्यक छ ।

कर्णाली थोत्रा लुगा लगाएर चामलको लाइनमा बस्ने मानिसको प्रदेश होइन, शहरियाहरूले नाम समेत नसुनेकासम्पूर्ण रूपमा अग्र्यानिक आलुको प्रदेश भनेर चिनियोस् । कर्णालीलाई भोकमरीग्रस्त क्षेत्र होइन, विविधता र विशिष्टताको क्षेत्रका रूपमा चिनाउने अभियान थाल्नका लागि यो सबभन्दा उपयुक्त समय हो ।

कर्णालीको आलु र त्यसबाट बनेका विभिन्न परिकारको महत्व र प्रतिष्ठा बढाउने हामीले नै हो । जसरी अहिले काठमाडौंका ठूला होटल र रेस्टुरेन्टहरूमा मुस्ताङे आलुको परिकार विशिष्ट मेनुमा पर्छ, त्यसैगरी कर्णालीको आलु हरेक घर, साना–ठूला होटल, विकासे गोष्ठी आदिका मेनुमा चढ्ने गरी प्रचारप्रसार हुनु जरूरी छ । कुनै दिन कर्णालीको आलुको परिकारहरू पनि नेपाली समाजमा स्पष्ट रूपले देखिन थाल्नेछन् ।

(लेखक भण्डारी दुई दशक भन्दा बढी कर्णालीमा बसोबास गरी अध्ययन गरेका कर्णालीसम्बन्धी विज्ञ हुन् । हाल उनी कृषि तथा वन विश्वविद्यालयमा आंशिक रूपमा प्रोफेसर पदमा कार्यरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?