+
+

राजनीतिमा खारिएकी घिमिरेलाई राष्ट्रिय सभा उपाध्यक्षको जिम्मेवारी

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८० चैत २८ गते १५:०९

२८ चैत, काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरे निर्वाचित भएकी छन् । बुधबार राष्ट्रिय सभामा भएको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी घिमिरेले ३९ मत प्राप्त गरिन् । उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले १६ मत पाइन् ।

घिमिरेलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले मत दिएका थिए । पुडासैनीलाई कांग्रेस र लोसपाका सांसदले मत दिए ।

राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित घिमिरे २०७६ सालमा लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा चुनिएकी थिइन् । राष्ट्रिय सभामा चार वर्ष काम गरेकी घिमिरेको कार्यकाल दुई वर्ष मात्रै बाँकी छ ।

नेकपा एमालेकी सांसद भगवती न्यौपानेका अनुसार विमला घिमिरे २०४६ सालदेखि नेपाली राजनीतिमा छिन् । २०२९ साल साउन १२ गते कपिलवस्तुमा जन्मिएकी घिमिरेले २०४७ सालमा एमालेको संगठित पार्टी सदस्यता प्राप्त गरेकी थिइन् ।

अखिल नेपाल महिला संघमा आवद्ध भएर राजनीतिक जीवनको सुरूवात गरेकी घिमिरे त्यसयता निरन्तर राजनीतिमै छन् । राजनीतिमा लागेको ३३ वर्षपछि घिमिरे राष्ट्रिय सभाको उपाध्यक्ष पदमा पुगेकी हुन् ।

राष्ट्रिय सभाकी निवर्तमान उपाध्यक्ष उर्मिला अर्याल नेपाली राजनीतिमा घिमिरे निखारिएको व्यक्तित्व भएको बताउँछिन् ।

बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै निवर्तमान उपाध्यक्ष अर्यालले नेपाली जनवादी आन्दोलनमा लागेर खारिएकी घिमिरेलाई राष्ट्रिय सभा उपाध्यक्षको जिम्मेवारी उपयुक्त भएको बताइन् ।

‘विमला घिमिरे नेपाली राजनीतिमा चर्चित नाम हो । उहाँ जनस्तरमा स्थापित व्यक्तित्व हो । यो हिसाबले उहाँले उपाध्यक्षको कार्यभार राम्रोसँग सम्हाल्न सक्नुहुन्छ’ अर्यालले थपिन्, ‘राष्ट्रिय सभाको उपाध्यक्ष भन्दा ठूलो जिम्मेवारी दिए पनि सम्हाल्न सक्ने अनुभव भएको व्यक्तित्व हो । मैले यस हिसाबले बुझेकी छु ।’

२०४९ सालमा तत्कालीन नेकपा एमाले इलाका कमिटी सदस्य भएकी उनी जिल्ला कमिटीको उपसचिव हुँदै सचिवसम्म भइन् ।

एसएसलीसम्म अध्ययन गरेकी घिमिरेसँग राष्ट्रिय प्रतिनिधि परिषद्, पार्टी केन्द्रीय स्कुल विभाग, अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीमा रहेर काम गरेको अनुभव छ ।

उनी नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केन्द्रीय सदस्य थिइन् । एमाले र माओवादीबीचको पार्टी एकता सर्वोच्च अदालतले भंग गरिदिएपछि बनेको एमालेमा घिमिरेले कपिलवस्तुको इन्चार्ज जिम्मेवारी पाएकी थिइन् ।

राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएपछि भने उनले अब दलीय आवद्धता त्याग गर्नुपर्ने हुन्छ ।

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?