+
+

वेष्टइण्डिज सिरिज : विश्वकपअघि नेपाललाई स्तरमापनको अवसर

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८१ वैशाख १२ गते १४:२८

१२ वैशाख, काठमाडौं । दुई पटकको टी–२० विश्वकप विजेता वेष्टइण्डिज ए र एसोसिएटको मजबुत टोली नेपालबीच पाँच टी–२० सिरिज शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ । इण्डियन प्रिमियर लिग (आईपीएल) नखेलेका लगभग सबै प्रमुख खेलाडीलाई वेष्टइण्डिज ए ले आफ्नो टोलीमा समेटेको छ ।

नेपाल आएका शीर्षक्रमका ब्याटर जोनसज चाल्र्स, तीव्र गतिका बलर ओबेद म्याककोय, किमो पल, ओसान थोमस, स्पिन अलराउण्डर रोस्टन चेस, गुडाकेश मोती, हेडन वाल्स र फबियन एलेनले निरन्तर वेष्टइण्डिजबाट खेल्दै आएका छन् । त्यस्तै वेष्टइण्डिजका भविष्य मानिने म्याथ्यु फर्ड, केसी कार्टी र एलिक एथानाज पनि नेपाल आएका छन् ।

एसीसी प्रिमियर कपको सेमिफाइनलमा युएईसँग हार्दै एसिया कप गुमाएपछि निराश बनेका खेलाडी र समर्थक दुबैमा खुसी फर्काउने वेष्टइण्डिज ए सिरिज राम्रो अवसर हो । नेपालको ठूला टेष्ट टोलीसँग घरेलु मैदानमा सिरिज खेल्ने अब सपना नभएर एउटा आवश्यकता बनिसकेको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रदर्शनले अफगानिस्तान, बंगलादेश, श्रीलंका, जिम्बाब्बे र आयरल्याण्ड जस्ता टेष्ट मान्यता प्राप्त साना टोली नेपाल आउन इच्छुक छन् । तर प्रतिस्पर्धात्मक प्रदर्शनमा विश्वास नराखेर राष्ट्रिय टोलीको साटो ए टोली पठाएका छन् ।

नेपाल ए का प्रशिक्षक कलाम अली वेष्टइण्डिजविरुद्ध राम्रो गर्न सके ठूला टोलीहरुलाई बोलाउन सहज हुने बताउँछन् । ‘यहाँबाट हामीले टेष्ट टोलीहरुसँग आगामी दिनमा सम्बन्ध राम्रो बनाउन सक्छौं । हाम्रो खेलाडीहरुलाई टेष्ट टोलीविरुद्ध खेल्न सक्छौं भनेर आत्मविश्वास आउँछ’, अलीले भने ।

नेपालले हाल भ्रमणमा आएका टोलीहरुसँग उत्कृष्ट प्रदर्शन गर्न सके त्यसलाई देखाएर अन्य टोलीलाई बोलाउन सकिने प्रशिक्षक अलीले बताए ।

आईसीसी टी–२० विश्वकप आगामी जेठमा अमेरिका र वेष्टइण्डिजमा हुँदैछ । टी–२० विश्वकपमा नेपाल रहेको समूह डी मा श्रीलंका, बंगलादेश, नेदरल्यान्ड्स र दक्षिण अफ्रिका छन् । दक्षिण अफ्रिका उपाधिको दाबेदार हो भने श्रीलंका र बंगलादेश टेष्ट मान्यता प्राप्त टोली हुन् । एसोसिएट नै भए पनि नेदरल्यान्ड्स नेपाल भन्दा मजबुत टोली मानिन्छ ।

नेपालका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरी विश्वकपअघि नेपाली टोलीले आफ्नो कमजोरी सुधार्ने राम्रो अवसर पाएको बताउँछन् । ‘वेष्टइण्डिजले धेरै राम्रो टोली पठाएको छ । विश्वकपअघि हाम्रो कमजोरी र प्लस प्वाइन्ट हेर्ने अवसर हुनेछ । हामी कहाँ छौं र एक महिनामा गर्नुपर्ने कामको एउटा रोडम्याप यस सिरिजले दिन्छ’, उनले भने ।

नेपाली खेलाडीलाई विदेशी लिग खेल्ने अवसर खुलाउन पनि प्रदर्शन सुधार गर्नुपर्ने चौधरी बताउँछन् । ‘वेष्टइण्डिजका सबै खेलाडीहरु क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्छन् । हाम्रा खेलाडीले राम्रो गर्न सके फ्रेन्चाइज लिगहरु खेल्ने अवसर हुन्छ । वेष्टइण्डिजको ए टोलीसँगको सिरिज राम्रो भयो भने आगामी दिनमा राष्ट्रिय टिम मै आउन सक्छ । यो सबै हाम्रो प्रदर्शन, आयोजना र संस्कारमा भर पर्छ, उनले भने ।

यसअघि नेपाल भ्रमणमा आएका दुई टेष्ट मान्यता प्राप्त टोली जिम्बाब्बे र आयरल्याण्ड ए नेपालकै स्तरका थिए । एसोसिएटमा नेपाली बलरको प्रदर्शन मध्यम छ । विश्वकपमा नेपालले खेल्नुपर्ने टोली बंगलादेश, श्रीलंका र दक्षिण अफ्रिकासँग विश्वस्तरीय ब्याटर छन् ।

दक्षिण अफ्रिकामा क्वीन्टन डी कक, हेनरिक क्लासेन, एडेन माकरम, डेविड मिलर र रास्सी भान डर डुसेन जस्ता आक्रामक ब्याटर छन् । वेष्टइण्डिज ए सँगको प्रदर्शनले नेपालको बलिङको स्तर थाहा पाउन सजिलो हुनेछ ।

नेपाललाई पछिल्लो समय पार्टटाइम स्पिनर दीपेन्द्रसिंह ऐरीले बढी सफलता दिलाएका छन् । नेपालका बलरहरुको औसत गति १३०-३५ किलोमिटर प्रतिघण्टा छ । वेष्टइण्डिजका ब्याटरहरुसँग १५० किलोमिटर प्रतिघण्टा गतिको बलसँग खेलेको अनुभव छ ।

नेपालका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले वेष्टइण्डिजका बलरमा १४० किलोमिटर प्रतिघण्टाको गति भएकाले नेपाली ब्याटरलाई विश्वकप खेल्न सहिज हुने बताउँछन् ।

‘नेपाली टोलीमा निरन्तर १४० को स्पिडमा बलिङ गर्ने बलर पनि छैनन् । बलिङमा १५० माथिको गति हुनेबित्तिकै विपक्षी टोली हामीमाथि हाबी भइहाल्छ’, उनले भने, ‘वेष्टइण्डिजका बलरमा १४० माथिको गति भएकाले हामीलाई केही फाइदा हुनेछ ।’

नेपालसँग सिरिज खेल्ने वेष्टइण्डिज ए टिममा बायाँ हाते तीव्र गतिका बलर ओबेद म्याकोय, ओसान थोमस र म्याथ्यु फर्ड हुनेछन् । बायाँ हाते बलरविरुद्ध नेपाली ब्याटरको इतिहास राम्रो छैन ।

२०२२ मा भारतविरुद्ध टी–२० आईमा एकै खेलमा ६ विकेट लिएका ओबेदसँगै अन्य बलरविरुद्ध नेपाली ब्याटरको प्रदर्शन हेर्न लायक हुनेछ । चोटका कारण आईपीएलमा समेत नभएका ओबेदको लागि पनि यो सिरिज महत्वपूर्ण हुनेछ । दुई विश्वस्तरीय स्पिनर हेडन वाल्स र गुडाकेशी मोतीविरुद्ध नेपाली ब्याटरलाई रन बनाउन सहज हुनेछैन ।

हालै ओमानमा भएको एसीसी प्रिमियर कपमा नेपालको ब्याटिङमा कमजोरी देखिएको थियो । शीर्षक्रम नचल्दा मध्यक्रम र तल्लोक्रमले राम्रो भूमिका निर्वाह गर्न सकेका छैनन् । नेपालले आफ्नो रणनीति र मानसिकता परिवर्तनको जोखिम लिन यो सिरिज सहयोगी बन्नेछ ।

नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईले सन् २०१९ देखि २०२२ सम्म ब्याटिङ प्रशिक्षकको रुपमा काम गरेको हुँदा वेष्टइण्डिजको कमजोरी राम्रोसँग थाहा छ ।

टी–२० विश्वकपमा नेपालले नेदरल्यान्ड्स र श्रीलंकासँग अमेरिकामा खेल्नेछ भने दक्षिण अफ्रिका र बंगलादेशसँग वेष्टइण्डिजमा खेल्नेछ । वेष्टइण्डिजका खेलाडी र कोचिङ स्टाफसँग त्यहाँको मैदान, पिच र कन्डिसनबारे पनि नेपालले जानकारी लिन सक्नेछ ।

वेष्टइण्डिज टी–२० मात्रै नभएर सन् १९७५ र १९७९ को एकदिवसीय विश्वकप विजेता हो । उसले ब्रायन लारा, शिवनारायण चन्द्रपाउल, भिभियन रिचर्ड्स, गेरी, सोबेर्स, क्रिस गेल, कर्टली एम्ब्रोस, कर्टनी वाल्स र ड्वेन ब्राभो जस्ता विश्व प्रसिद्ध खेलाडी उत्पादन गरेको छ । विश्वकप विजेता टोलीसँग नेपालले क्रिकेट कल्चरबारे पनि धेरै सिक्न सक्छ ।

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?