+

हरि खड्का पुरुष फुटबल टिमको प्रशिक्षक नियुक्त

२०८२ कात्तिक  १४ गते १७:१० २०८२ कात्तिक १४ गते १७:१०
हरि खड्का पुरुष फुटबल टिमको प्रशिक्षक नियुक्त

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल फुटबल संघले टेक्निकल डिरेक्टर हरि खड्कालाई नेपाली पुरुष राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
  • खड्कालाई एसियन कप छनोटका लागि नोभेम्बर १८ मा मलेसिया विरुद्ध खेल्ने तयारीका लागि प्रशिक्षक बनाइएको हो।
  • खड्का पहिलो पटक पुरुष टिमको मुख्य प्रशिक्षक बनेका हुन् र नेपालमा हाल प्रो लाइसेन्स प्राप्त प्रशिक्षक छैनन्।

१४ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका टेक्निकल डिरेक्टर हरि खड्का आफैँ नेपाली पुरुष राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

एन्फाले शुक्रबार खड्कालाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । अष्ट्रेलियन प्रशिक्षक म्याट रोसले राजीनामा दिएपछि एन्फाले आसन्न एएफसी एसियन कप छनोटका खेललाई मध्यनजर गर्दै खड्कालाई नै प्रशिक्षक बनाएको हो ।

नेपालले नोभेम्बर १८ मा मलेसिया विरुद्ध एसियन कप छनोट खेल खेल्दैछ । उक्त खेलका लागि खड्कालाई प्रशिक्षक नियुक्त गरिएको एन्फाले जनाएको छ । यस्तै नोभेम्बर १३ मा नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

खड्का नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान तथा महिला राष्ट्रिय फुटबल टिमका पूर्व मुख्य प्रशिक्षक समेत हुन् । पुरुष टिममा भने उनी यसअघि सहायक प्रशिक्षक थिए । खड्का पहिलो पटक पुरुष टिमको मुख्य प्रशिक्षक बनेका हुन् ।

एसियन कप छनोटका लागि प्रो लाइसेन्स प्राप्त प्रशिक्षक आवश्यक पर्ने भएपनि एन्फाले भने एएफसी ए लाइसेन्स भएका प्रशिक्षक नियुक्त गरेको हो ।

नेपालमा अहिले प्रो लाइसेन्स प्राप्त कुनै पनि प्रशिक्षक छैनन् ।

यस विषयमा एन्फा सिइओ इन्द्रमान तुलाधरले पनि तत्काल मुख्य प्रशिक्षक नियुक्त गर्न सम्भव नभएकोले नेपालकै प्रशिक्षकलाई कार्यवाह मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिए । ‘हाम्रो हेड कोचले तत्काल राजीनामा दिएकोले हामीले अहिले प्रो लाइसेन्स प्राप्त कोच नियुक्त गर्न सकेनौँ भनेर एएफसीलाई भनेका छौँ,’ एन्फा सिइओ इन्द्रमान तुलाधारले अनलाइनखबरलाई बताए, ‘आगामी एक खेलका लागि हामीले छुट मागेका छौँ र लाओस विरुद्धको अर्को खेलमा प्रो लाइसेन्स प्राप्त प्रशिक्षक नै नियुक्त गर्ने प्रतिबद्धता जनाएका छौँ । त्यसैले यस पटक ए लाइसेन्स प्राप्त प्रशिक्षकले नै टिम सम्हाल्नेछन् ।

उनले हरि खड्कालाई अन्तरिम मुख्य प्रशिक्षक बनाएको र मुख्य प्रशिक्षक नहुँदा कार्यवाहक प्रशिक्षकको रुपमा रहन पाउने दावी गरे । ‘हामीले उहाँलाई अन्तरिम मुख्य प्रशिक्षक बनाएका हौँ । संसारभरीकै नियम के छ भने हेड कोच नहुँदा टेक्निकल डिरेक्टरले नै कार्यावहक सम्हाल्ने चलन छ ।’

हरि खड्का
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय