+
+

आधा दर्जन नेपाली कलाकारले अभिनय गरेको फिल्म ‘द सेमलेस’ कान्समा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ३० गते १६:५७

काठमाडौं । केही साता काठमाडौंमा छायांकन भएको र आधा दर्जनभन्दा धेरै चर्चित नेपाली कलाकारले अभिनय गरेको फिल्म ‘द सेमलेस’ यस वर्षको विश्वप्रसिद्ध कान्स फेस्टिभलमा छनोट भएको छ ।

भारतीय र फ्रान्सेली निर्माताको सहलगानी रहेको यो फिल्मलाई बुल्गेरियाली निर्देशक कोन्सटान्टिन बोन्जोभले निर्देशन गरेका हुन् । यो फिल्म कान्सको ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट भएको छ ।

यसमा नेपाली कलाकारहरु लुनिभा तुलाधर, प्रमोद अग्रहरि, प्रकाश घिमिरे, विनिता थापा मगर, अमितेष साह, सरिता साह, पूर्वमिस नेपाल तथा अभिनेत्री निकिता चाण्डक, सविता अधिकारी, प्रकाश ढकाल, राजु खत्री, गोविन्द सुनार र राधिका भण्डारीको पनि अभिनय छ ।

काठमाडौं र भक्तपुरका पर्यटकीय सम्पदासहित कोटेश्वर, जडिबुटी क्षेत्रमा यसको छायांकन भएको थियो । फिल्ममा नेपालसहित भारत, फ्रान्स, स्वीट्जरल्याण्ड, बुल्गेरिया, ताइवान र मेक्सिकोका कलाकार समावेश छन् ।

क्राइम-थ्रिलर जनराको यो फिल्म भारतपछि नेपालमा सुटिङ गरिएको थियो । नेपालमा शान्त नेपाली प्रोडक्सनले लाइन–प्रोड्युसिङ गरेको थियो । यो फिल्मले नेपालको पर्यटनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

आक्का फिल्म्स र हाउस अन फायर प्रोडक्सन ब्यानरको संयुक्त निर्माण रहेको यो फिल्म सन् २०२३ मा नेपालमा छायांकन हुने दोस्रो ठूलो अन्तर्राष्ट्रिय फिल्म हो । सोही वर्ष बलिउडको ‘उचाई’ समेत नेपालमा छायांकन भएको थियो ।

यो फिल्मका निर्देशक बोन्जोभको कुरा गर्दा उनी बुल्गेरियाली निर्देशक हुन् । उनको पहिलो फिचर फिल्म ‘एभी’ सन् २०११ मा कान्समा प्रिमियर भएको थियो ।

यसअघि नेपाली अभिनेत्री सुरक्षा पन्तको अभिनय रहेको इटालीको फिल्म ‘एट माउन्टेन्स’ कान्समा प्रिमियर भइसकेको छ । यस वर्षको कान्स फेस्टिभल मे १४ देखि मे २५ सम्म फ्रान्समा आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?