+
+
वर्षान्त : ०८० :

२०८० मा नेपाली फुटबल : मैदान बाहिरको खेल हावी

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० चैत ३० गते १८:५९

३० चैत, काठमाडौं । वर्ष २०८० मा नेपाली फुटबल मैदानमा भन्दा मैदान बाहिर बढी चर्चामा रह्यो । अघिल्लो वर्ष जस्तै यस वर्ष पनि फुटबलर विदेश पलायन हुने क्रम जारी रहँदा मैदानमा नेपाली टिमको प्रदर्शन कमजोर बन्यो ।

फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को आन्तरिक विवाद र खेलाडी विदेश पलायनको असर मैदानमा देखियो । पुरुष टोली साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरियाे, विश्वकप छनोटमा खेलेको ६ मध्ये ४ खेलमा पराजित भयो ।

महिला टोलीले पहिलो पटक वाफ च्याम्पियनसिप खेल्दा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बनेर नेपाली समर्थकलाई खुशी दियो । उमेर समूहमा नेपालको महिला र पुरुष दुवै टिमको प्रदर्शन खस्कँदै गयो ।

व्यक्तिगततर्फ भने कोही खेलाडी भविष्यको बारेमा सोच्दै विदेश पलायन भइरहँदा केही नेपाली खेलाडीले भने विदेशी लिगमै खेलेर सनसनी मच्चाइरहेका छन् ।

एन्फा अध्यक्ष बर्खास्तीको मागदेखि साधारण सभाको कीर्तिमान

यस वर्ष एन्फाको खुबै चर्चा भयो । चाहे त्यो अध्यक्षको बर्खास्तीको माग होस् या साधारण सभाको कीर्तिमान होस् । एन्फाको इतिहासमै अध्यक्षले पहिलो पटक आफ्नो पदबाट बर्खास्तीको सामना गर्नुपर्‍यो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलाई बर्खास्तीको माग गर्दै बहुमत सदस्यले प्रस्ताव हाले । तर हेटौंडामा भएको विशेष साधारण सभाले अध्यक्ष बर्खास्तीको प्रस्तावलाई बहुमतले अस्वीकार गरेपछि नेम्वाङको पद जोगियो ।

एन्फाले चार महिनाभित्र तीन साभारण सभा गर्दै कीर्तिमान बनायो । तर उपलब्धि भने उत्साहपूर्ण थिएन । केन्द्रीय कार्यसमिति भित्रै पदाधिकारी र सदस्यले असहमति राख्दा राख्दै एन्फाले वार्षिक साधारण सभा गर्दे क्यालेन्डर पास लगायत महत्वपूर्ण निर्णय अनुमोदन गरेको थियो । तर त्यसअघिको कार्यसमिति बैठकमै केही पदाधिकारीहरूले साधारण सभामा लैजाने एजेन्डा सर्वसम्मत हुनुपर्ने माग राखे पनि त्यसो हुन सकेन ।

एन्फाले घरभित्रको समस्या समेत राम्रोसँग मिलाउन नसक्दा बाहिर छताछुल्ल नै भयो । अष्ट्रेलियामा भएको फिफा महिला विश्वकपमा टिकट र पदाधिकारी भ्रमणदेखि नेपालको खेलमा मलेसिया र बहराइनमा अफिसियलको भ्रमणमा नकारात्मक रूपमा चर्चा पायो । मैदानमा टिमको प्रदर्शन राम्रो हुन नसक्दा पदाधिकारी भ्रमणकै विषय बढी हावी बन्यो ।

विश्वकप छनोटमा कमजोर प्रदर्शन

सन् २०२६ मा उत्तर अमेरिकी महादेशको तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकप २०२६ को छनोटमा नेपालको प्रदर्शन निकै कमजोर रह्यो ।

सन् २०२७ मा हुने एएफसी एसियन कपको प्रारम्भिक छनोटको रूपमा समेत रहेको विश्वकप छनोटमा नेपालले यस वर्ष कूल ६ खेल खेल्दा जम्मा एक खेल मात्र जित्यो भने चार खेलमा पराजित भयो । एक खेल बराबरी गरेको थियो ।

प्रारम्भिक छनोटमा नेपालले लाओससँग होम एण्ड अवेका आधारमा खेलेको थियो । यस खेलमा विजेता हुने टोली मात्र अघि बढ्ने भएकोले दुवै टोलीलाई जितको विकल्प थिएन ।

घरेलु मैदानमा भएको पहिलो खेलमा नेपालले लाओससँग १-१ गोलको बराबरी खेलेको थियो । तर लाओसलाई उसको मैदानमा दोस्रो खेलमा १-० ले पराजित गर्दै नेपाल समग्रमा २-१ को जितसहित दोस्रो चरणमा पुग्यो ।

दोस्रो चरणमा नेपालको प्रदर्शन निकै कमजोर रह्यो । समूह एचमा रहेको नेपालले यूएईसँगको पहिलो अवे खेलमा ४-० हार व्यहोर्‍यो । त्यसपछि नेपालले हराउन सक्ने टिमको रुपमा रहेको यमनविरुद्ध घरेलु मैदानमा खेल्दा जित्ने सम्भावना थियो तर उल्टै यमनसँग नेपाल २-० ले पराजित भयो ।

 त्यसपछि नेपालले होम र अवे दुवै म्याच बहराइनसँग उसैको मैदानमा यही चैत महिनामा खेलेको थियो । होम म्याचको रूपमा रहेको पहिलो खेलमा ५-० ले पराजित भएको नेपाल दोस्रो खेलमा भने केही सुधारिएको प्रदर्शन गर्दै ३-० ले पराजित भयो । समग्रमा नेपाले चार खेलमा १४ गोल खाँदा एक गोल समेत गर्न सकेन । खेलाडी विदेश पलायनको असर यहाँ पनि देखियो ।

साफ च्याम्पियनसिपमा समूह चरणबाटै आउट

नेपालको पुरुष टिम माल्दिभ्समा २०२२ मा भएको साफ च्याम्पियनसिपमा फाइनल पुगेको थियो । साविक उपविजेताको हैसियतमा असारमा भारतको बेंगालुरमा भएको साफ च्याम्पियनसिप खेल्न पुगेको नेपाली टोलीलाई साख जोगाउने चुनौती थियो । यस पटक नेपालको प्रशिक्षक नयाँ थिए भिनसेन्चो अल्बर्टो एनेस । साफ च्याम्पियनसिप नै नेपालको लागि उनको पहिलो प्रतियोगिता थियो । अर्कोतर्फ कुवेत र लेवनान आमन्त्रित टिमको रूपमा साफ खेल्दा नेपाल जस्तो टिमलाई राम्रो प्रदर्शन गर्ने चुनौती थियो ।

तर नेपाल समूह चरणबाटै बाहिरियो । नेपालको नतिजा दुई खेलमा हार र एकमा जित थियो । पहिलो खेलमै कुवेतसँग ३-१ ले पराजित भएको नेपाल दोस्रो खेलमा भारतसँग २-० ले पराजित भएपछि सेमिफाइनल पुग्ने सम्भावना सकिएको थियो । प्रतिष्ठाको लडाईंको रूपमा रहेको अन्तिम खेलमा नेपालले पाकिस्तानलाई १-० ले हराएर घर फर्कियो । नेपालका लागि अन्जन विष्टले कुवेतविरुद्ध गोल गरेका थिए भने आशिष चौधरीले नेपालका लागि पहिलो पटक गोल गर्दा पाकिस्तानलाई नेपालले १५ वर्षपछि साफ च्याम्पियनसिपमा हराएको थियो । नेपालले पाकिस्तानलाई साफमा पछिल्लो पटक सन् २००८ मा पराजित गरेको थियो ।

महिला फुटबलको एसियाडमा डेब्यु

महिला फुटबल टिमले एसियाली खेलकुदमा पनि यसै वर्ष डेब्यु गर्‍यो । असोजमा चीनको हान्झाउमा भएको १९औं एसियाडमा नेपालको महिला टिमले पहिलो पटक सहभागिता जनाएको हो । पुरुष टिम भने यस पटक सहभागी थिएन ।

महिला टिमले पहिलो पटक एसियाड खेल्दा कुनै खेल त जितेन तर विश्व विजेता जापान लगायत देशमा खेल्दै अनुभव बटुल्ने अवसर पायो ।

पहिलो पटक जापानसँग खेल्दा नेपाल ८-० ले पराजित भयो । यस्तै विश्वकप छनोटमा खेलिसकेको टिम भियतनाम विरुद्ध पनि नेपालले एसियाडमा खेल्यो । त्यस खेलमा भने नेपाल ३-० ले पराजित भयो । अन्तिम खेलमा नेपालले बंगलादेशविरुद्ध खेलेको थियो । उक्त खेलमा नेपाले एक गोलले पछि परेको स्थिति उल्टाउँदै १-१ को बराबरी गरेको थियो । सविना खातुले बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । तर रेखा पौडेलले नेपालका लागि बराबरी गोल गरिन् । रेखा एसियाडमा गोल गर्ने पहिलो नेपाली महिला बनिन् ।

वाफ च्याम्पियनसिपमा महिला टिमको उत्कृष्ट प्रदर्शन

नेपालको महिला टिमले घरेलु प्रतियोगिता खेल्न नपाए पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा भने गज्जबको प्रदर्शन गर्‍यो । त्यसैको नतिजा नेपाली महिला टिम साउदी अरेबियामा भएको वाफ वुमन्स च्याम्पियनसिपमा उपविजेता बन्यो ।

यस पटक महिला टिम उपविजेता मात्र बनेन् संसारभर रहेको नेपालीलाई खुशी दियो र मैदानमा अब्बल प्रदर्शन गर्दे उत्तिकै चर्चा पनि पायो । महिला टिमले लगानी गरेमा नतिजा दिन सकिन्छ भनेर सन्देश दियो ।

पहिलो पटक वाफमा खेल्दा नेपालको प्रदर्शन कस्तो होला भन्ने थियो । तर समूह चरणको तीनवटै खेल जितेर सेमिफाइनल पुगेको नेपाले सेमिफाइनलमा लेवनानविरुद्ध पुनरागमन जित निकाल्दै फाइनल पुगेको थियो ।

फाइनलमा जोर्डनविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको नेपाल पेनाल्टी सुटआउटमा पराजित हँदै उपविजेता बन्यो । नेपाली महिला टोली अन्तर्राष्ट्रिय फुटबलमा ११औं पटक उपविजेता बनेको हो ।

उमेर समूहमा कमजोर प्रदर्शन

कुनै समय नेपालको उमेर समूहको टिम दक्षिण एसियामै बलियो थियो । तर नेपालका एकेडेमीहरू सञ्चालन हुन छाडेपछि उमेर समूहको टिमको प्रदर्शन कमजोर हुँदै गयो । वर्ष २०८० मा पनि नेपालको महिला र पुरुष दुवैको उमेर समूहको टिमको प्रदर्शन कमजोर रह्यो ।

अखिल नेपाल फुटबल संघ एन्फाले उमेर समूहको लागि खुला छनोटमार्फत टिम बनाउँदा नेपालको प्रदर्शन अपेक्षा अनुसार हुन सकेन ।

यस वर्ष नेपालको पुरुष यू १९ टिमले घरेलु मैदानमा साफ यू १९ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य राखेको थियो । तर दशरथ रंगशालमा भएको प्रतियोगितामा नेपाल सेमिफाइनलमा भारतसँग पेनाल्टीसुट आउटमा पराजित हुँदै बाहिरियो ।

समूह चरणमा पहिलो खेलमै पाकिस्तानसँग पराजित भएको नेपालले माल्दिभ्सलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । तर भारतसँग निर्धारित समयमको खेल २-२ को बराबरी भएपछि नेपाल पेनाल्टी सुटआउटमा पराजित भयो ।

घरेलु मैदानमा भएको अर्को प्रतियोगिता हो साफ यू १६ महिला च्याम्पियनसिप । अनुभवविहीन टोलीबाट उपाधि जित्ने लक्ष्य राखेको नेपालको प्रदर्शन कमजोर हुँदा फाइनल समेत पुग्न सकेन । बंगलादेशसँग ३-० ले पराजित भएको नेपालले भुटानलाई ३-० ले नै पराजित गरेको थियो । तर भारतविरुद्ध १०-० को फराकिलो हार नेपालको लागि गिज्याउने खालको थियो । जुन दक्षिण एसियामै उमेर समूहमा नेपालको सबैभन्दा फराकिलो हार हो ।

बंगलादेशको ढाकामा भएको साफ यु १९ महिला च्याम्पियनसिपमा समेत नेपाल फाइनल पुग्न सकेन ।

बंगलादेशसँग ३-१ ले पराजित हुँदै च्याम्पियनसिप सुरु गरेको नेपालले दोस्रो खेलमा भुटानलाई १-० ले पराजित गरेको थियो । तर अन्तिम खेलमा भारतसँग ४-० ले पराजित भएपछि नेपाल फाइनल पुग्न सकेन ।

एएफसी यू २० महिला च्याम्पियनसिप छनोटको पहिलो चरण पार गरेको नेपालले म्यानमार भएको दोस्रो चरणको छनोट खेलेको थियो । तर दोस्रो चरणमा नेपाल समूहको तीनवटै खेलमा पराजित भयो । म्यानमार, चीन र चाइनिज ताईपेईसँग नेपाल समान ५-० को नतिजामा पराजित भयो ।

यस्तै भुटानको थिम्पुमा भएको साफ यू १६ च्याम्पियनसिपमा नेपाल समूह चरणबाटै बाहिरियो । भारत र बंगलादेश सम्मिलित उक्त समूहमा नेपाल दुवै खेलमा समान १-० को नतिजामा पराजित भयो ।

साम्बाको छलाङ 

यस वर्ष नेपाली फुटबलमा भएको सबैभन्दा राम्रो कुरा सावित्रा भण्डारी साम्बाले युरोपमा खेल्दै कीर्तिमान बनाउनु बन्यो । सावित्रा फ्रेन्च लिगमा खेल्ने पहिलो नेपाली खेलाडी बनिन् । उनले फ्रेन्च लिग खेलिन् र एक गोल समेत गरिन् ।

साम्बाले फ्रान्समा खेल्नुअघि इजरायली क्लब हापोएल रानामा अनुबन्ध हुँदै इतिहास बनाएकी थिइन् । त्यसमा उनी दक्षिण एसिया बाहिर खेल्ने पहिलो नेपाली खेलाडी बनिन् । इजरायल एसियाली देश भए पनि उनीहरूले युरोपियन फुटबल खेल्ने भएकोले सावित्राले युरोपियन लिगमा अनुभव इजरयालमा हुँदै लिइसकेकी थिइन् ।

तर इजरायलमा युद्ध हुँदा सावित्रा नेपाल फर्केकी थिइन् । सावित्राको लागि भने अर्को अवसरको ढोका खुल्यो । इजरायलमा हुँदै उनको फ्रेन्च क्लबसँग कुरा भइरहेको थियो र उनी गुइगाम्पमा अनुबन्ध भइन् ।

सावित्रा बाहेक नेपालका अन्य ७ खेलाडीले यस वर्ष भारतमा इन्डियन वुमन्स लिग खेले । कप्तान एन्जिला तुम्बापो सुब्बाले लगातार दोस्रो सिजन सेथु एफसीबाट खेल्दा गीता रानाले पनि पहिलो पटक सेथुबाट खेलिन् । यस्तै प्रीति राई र दीपा शाहीले किकस्टार्ट एफसीबाट खेले । प्रीति वाफ च्याम्पियनसिपमा घाइते भएपछि उनको स्थानमा अनिता केसीले बाँकी खेल खेलिन् । यसैगरी अमृता जैशी र रश्मीकुमारी घिसिङले स्पोर्टस् ओडिशाबाट खेले ।

यस्तै पुरुषतर्फ नेपाली टिमका कप्तान किरणकुमार लिम्बु भारतीय शीर्ष लिग इन्डियन सुपगमा पञ्जाव एपसीबाट खेलिरहेका छन् । मिडफिल्डर एरिक विष्ट दोस्रो श्रेणीको लिग आई लिगमा सिलोङ लाजोङबाट खेलिरहेका छन् ।

नेपाली राष्ट्रिय टिमाका लागि हरि खड्का र निराजन रायमाझीको नाममा रहेको सर्वाधिक १३ गोलको कीर्तिमान बराबरी गरेका अन्जन विष्टले सिक्किम प्रिमियर लिग खेलेका थिए । बंगलादेश प्रिमियर लिगमा फोर्टिस एफसीमा अनुबन्ध समेत भएका अन्जनले बहराइनविरुद्ध खेल्दा घाइते भएपछि बंगलादेशमा खेल्ने अवसर गुमाए ।

यस्तै रोहित चन्द इन्डोनेसियन लिगमा खेलिरहेका छन् ।

घरेलु फुटबल

राष्ट्रिय टिम छनोटको मुख्य आधारको रूपमा रहेको शहीद स्मारक ए डिभिजन लिग यस वर्ष हुन सकेन । एन्फाले पिफाको कन्ट्रो फण्डिङ लगायत विभिन्न कारणले गर्दा ए डिभिजन लिग हुन नसकेको जनायो । यसकै कारण पनि धेरै जसो खेलाडी विदेश पलायन भए । अघिल्लो वर्ष सुरू भएको ए डिभिजन लिग भने २०८० को जेठमा सकिएको थियो । जसमा चर्च ब्वाइजले शीर्ष डिभिजनमा डेब्युमै ए डिभिजन लिगको उपाधि जित्दै कीर्तिमान बनायो ।

यस्तै बी डिभिजन लिग पनि सुरू हुन सकेन भने सी डिभिजन लिग केही दिनअघि सुरू भएको छ ।

एन्फाले पहिलो पटक एन्फा यू १६ युथ लिग आयोजना गर्‍यो । तर सुरूमा विवाद भएको यस प्रतियोगिता एन्फाले जसोतसो सकायो । यसमा मच्छिन्द्र क्लबले उपाधि जित्यो ।

फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण यसै वर्ष आयोजना भयो । जसमा ललितपुर सिटी एफसीले धनगढी एफसीलाई हराउँदै नयाँ विजेता बन्यो । धनगढी लगातार दोस्रो पटक उपविजेता बन्यो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?