+
+

विद्यार्थी संगठन कालिदासको ‘क’ कि जेनेरेसन ‘जेड’तिर ?

इतिहासलाई सम्मान गर्दै भविष्यतिर फर्किएको विद्यार्थी संगठन बनाउन सकिएन भने अब विद्यार्थी संगठनहरु विघटन जस्तै हुने देखिन्छ ।

नरेश रेग्मी नरेश रेग्मी
२०८१ वैशाख ३ गते ८:२०

देशको एउटा दुर्गम जिल्लामा शैक्षिक सत्र अगाडि नै किताब पुगेपछि विभिन्न मिडियाहरुमा समाचार बने । विगतका वर्षहरुमा किताबहरु समयमा नपुगेका समाचार आइरहन्थे । समयमा किताब पुग्न थालेको समाचार देखेपछि मैले पनि सामाजिक सन्जालमा सेयर गरें । मैले सेयर गरेको देखेपछि एकजना विद्यार्थीले मेसेन्जरमा कल गरे ।

उमेरले करीब २१–२१ वर्ष पुगेका उनले मलाई आश्चर्य मान्दै भने, ‘दाइ सरकारले आजभोलि पनि यसरी ढाडमा बोकाएर किताब नै पठाउनु भन्दा डिजिटल किताब बनाए हुन्न ? दुर्गम जिल्लातिर योजना बनाएर कम्प्युटर, डिजिटल बोर्ड र इन्टरनेट पुर्याउनतिर लाग्ने लाग्नु पर्ने होइन र ? त्यस्तो भयो भने काठमाडौंबाटै दुर्गम ठाउँमा पनि उत्कृष्ट शिक्षा दिन सकिन्छ । होइन र ?’

मैले हाँसेर समर्थन जनाएँ । म विद्यार्थी नेता भएको हुनाले उनले मलाई यस्ता मुद्दाहरु उठाउन सुझाव दिए । म उनको सुझावको व्यवहारिक पाटोमा भन्दा पनि त्यो प्रकृतिको पुस्ताले कसरी सोच्छ ? भनेर घोत्लिने प्रयास गरें ।

आज सूचना प्रविधि उत्पादन प्रणालीको एउटा मुख्य आधार बनिसकेको अवस्था छ । यसले प्रभावित नपारेको कुनै पनि क्षेत्र नै छैन । शिक्षा क्षेत्र भनेको त झन् सूचना प्रविधिको प्रवेशद्वार हो । आज भौतिक लाइब्रेरीहरु ‘ई–लाइब्रेरी’मा रुपान्तरित हुँदैछन् । कागजका किताबहरुले डिजिटल स्वरूपहरु धारण गर्दैछन् । विस्तारै भौतिक कक्षाहरु नै डिजिटल कक्षामा रुपान्तरण हुने अवस्था छ ।

शिक्षकले चक र डस्टरबाट पढाउने तरिका आफ्नो अन्तिम चरणमा छ । भौतिक कक्षा भित्र पनि प्रोजेक्टर, ल्यापटप र डिजिटल बोर्डबाट पढाउने तरिका अनिवार्य जस्तो बन्दैछ ।

पढाउने प्लाटफर्मको रुपमा ‘माई सेकेन्ड टिचर’ जस्ता प्लाटफर्महरु उपलब्ध हुन थालेका छन् । अब ल्यापटप जस्तो प्रविधि ‘एलकेजी’मा पढ्ने विद्यार्थीहरुका लागि पनि अनिवार्य आवश्यकता बनिसकेको छ । सूचना प्रविधिमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढेसँगै अब दुनियाँ अर्कै चरणमा प्रवेश गर्दैछ । कसैले माने पनि, नमाने पनि सूचना प्रविधिले समाजको हरेक अवयवहरुलाई फेर्दै लैजाने निश्चित प्राय छ । समयको यस आवश्यकतासँगै नफेरिने कुराहरु विस्थापित हुँदै जाने निश्चित छ ।

त्यसैले गर्दा, विद्यार्थी संगठन र आन्दोलनको शैलीहरुलाई नै पुनर्परिभाषित गर्नुपर्ने अवस्था आएको छ ।

हिजो नेपालमा कृषिमा आधारित अर्थतन्त्र थियो । विद्यार्थीहरुको दाल चामलको आवश्यकता आफ्नै घरको उत्पादनले पूरा गर्थ्यो। विद्यार्थीहरुलाई वैचारिक विमर्शले मात्र पनि संगठित गर्न सकिन्थ्यो तर आजको समाज त्यस्तो छैन । आजका विद्यार्थीहरुको सोच्ने तरिका निकै भिन्न छ ।

मोबाइल र इन्टरनेटसँगै १९९७ पछि जन्मिएको पुस्तालाई पछिल्लो समय जेनेरेसन ‘जेड’ भन्न थालिएको छ । हात हातमा प्रविधि पुगेपछि उनीहरुले देश र दुनियाँलाई भिन्न तरिकाले हेर्ने र बुझ्ने भएका छन् ।

समय यस्तो भइसकेको छ कि अब हातले मात्र काम गर्ने र सूचना प्रविधिमा परिस्कृत नहुने डाक्टर असान्दर्भिक हुने अवस्था छ । डाक्टर मात्र होइन इन्जिनियरदेखि शिक्षकसम्म, किसानदेखि मजदुरसम्म, नेतादेखि कार्यकर्तासम्म, लेखकदेखि पत्रकारसम्म जो कोही पनि प्राविधिक कर्मसँग नजोडिएर उन्नति गर्न सम्भव छैन । यस्तो अवस्थामा आजको विद्यार्थी संगठनहरुले दिमागमा मशाल मात्र बोकेर आन्दोलनको कल्पना गर्नु भनेको ‘डेट एक्सपायर’ हुँदै जानु हो ।

आजको आवश्यकता भनेको स्मार्ट विद्यार्थी नेता र स्मार्ट विद्यार्थी संगठन हो । शैक्षिक मुद्दाहरु उठानमा पनि स्मार्ट तरिका अपनाउनु पर्ने अवस्था आएको छ ।

सबै क्षेत्रहरुलाई ‘पेपरलेस’ बनाउन माग लिएर जाँदै गर्दा कागजमा लेखिएको विद्यार्थी संगठनको ‘विज्ञप्ति’ अब आफैंमा एउटा व्यंग्य हुने अवस्था आयो । त्यसमा पनि मान्छेले भन्दा राम्रो ‘विज्ञप्ति’ त ‘च्याट जिपिटी’ले नै तैयार गरिदिन्छ । तसर्थ, डिजिटल रुपमा अब्बल नभएका विद्यार्थी संगठनहरु अब विस्थापित हुने अवस्था आउन सक्छ । आज विद्यार्थी संगठनहरु ‘काम छैन’ भनेर चलेको बहस पछाडि हाम्रो काम गर्ने र सोच्ने तरिका आजको आवश्यकतासँग मेल नखानु हो ।

आजको विद्यार्थी आन्दोलन पञ्चायतकालतिर फर्किएर रुन जरूरी छैन । अब ‘जेनेरेसन जेड’तिर फर्किएर उनीहरुको अनुहारमा आशा जगाउने संगठन बनाउने हो । त्यसरी सोचियो भने विद्यार्थी संगठनहरु खारेज गर्नुपर्छ भन्ने बहस आफैं समाप्त भएर जानेछ

मानविकी संकायको विद्यार्थी होस् या व्यवस्थापन संकायको, विज्ञान संकायको विद्यार्थी होस् या शिक्षा संकायको, अब हरेक संकायहरुमा सूचना प्रविधि पनि एउटा प्रमुख विषय हुनु पर्ने अवस्था आएको छ । अर्थशास्त्रदेखि समाजशास्त्रबाट, जीवविज्ञानदेखि फाइनान्सबाट नयाँ प्रकारका विद्यार्थीहरु उत्पादन हुँदैछन् । ‘जेनेरेसन जेड’का विद्यार्थीहरुलाई परम्परागत तरिकाहरुले आजका संगठनहरुले संगठनहरुप्रति आकर्षित गर्न गाह्रो छ । अब संगठन सुदृढीकरण अभियान मात्र भनेर संगठन बलियो बन्ने अवस्था देखिँदैन । यसको लागि हाम्रो अखिल (क्रान्तिकारी) पनि ‘जेनेरेसन जेड’को विद्यार्थी संगठन बन्न जरूरी छ । होइन भने ‘जेनेरेसन जेड’ले आफूलाई चाहिएको जस्तो संगठन आफैं निर्माण गर्ने छ ।

हिजोको विद्यार्थी संगठन सामन्तवादी समाजमा हुर्किएको विद्यार्थी संगठन थियो । पञ्चायतकालमा दलहरु प्रतिबन्धित भएको बेला विद्यार्थी संगठनको मुख्य भूमिका भनेको राजनीतिक रुपान्तरण थियो । त्यही चेतनाको जगमा जनयुद्धदेखि जनआन्दोलनसम्म आजका विद्यार्थी संगठनहरुले निरंकुश राजतन्त्र फाल्न निर्णायक संघर्ष गरे । हिजो राजनीतिक रुपान्तरण प्रमुख र शैक्षिक रुपान्तरण सहायक जस्तो भएको हुनाले विद्यार्थी संगठनहरुको त्यो भूमिका आवश्यकता पनि थियो तर आजको अवस्था त्यस्तो होइन । हिजो पाकिस्तानमा जुल्फिकार अलि भुट्टोलाई फाँसी दिँदा नेपालका विद्यार्थी संगठनहरु आन्दोलित हुन्थे तर आजको अवस्था त्यस्तो होइन । राजनीतिक विषयहरुमा पक्षधरता नै लिनु हुन्न भन्ने होइन तर पक्षधरता मात्र लिएर आजका विद्यार्थी संगठनहरु अगाडि बढ्न सक्दैनन् ।

आज आन्दोलनको स्वरूपलाई प्रविधिसँग जोड्नुको साथसाथै रचनात्मक बनाउन पनि जरुरी छ । केही दिन अगाडि काठमाडौंमा एउटा संस्थाले फोहोर उठाउने प्रतिस्पर्धाको आयोजना गरेको थियो । समय समयमा विभिन्न प्रकारका प्रतियोगिताहरु हुने गरेकै थिए तर यो प्रतियोगिता अलि भिन्न थियो । सबैभन्दा धेरै फोहोर संकलन गरेर उठाएको आधारमा प्रथम, द्वितीय र तृतीय स्थान निर्धारण गरिएको थियो । त्यस कार्यक्रमका लागि बनाइएका डिजिटल प्रचार सामग्री पनि अत्यन्त प्रभावकारी थिए ।

कार्यक्रमले देशैभरीको ध्यान पनि तान्यो र रचनात्मक भएको हुनाले धेरैको प्रशंशा पनि प्राप्त गर्यो । कार्यक्रममा एक हजार हाराहारीको उपस्थिति थियो र उपस्थित जति प्राय सबै युवा एवं विद्यार्थी देखिन्थे ।

त्यो कार्यक्रमका भित्री पक्षहरु अरु पनि होलान् तर कार्यक्रमबाट विद्यार्थी संगठनहरुले सिक्ने कुरा धेरै छ । फोहोर उठाउने र सहर सफा राख्ने कुरा एउटा एजेन्डा हो । प्रतियोगिता भनेको एजेन्डा प्राप्त गर्न गरिएको रचनात्मक कार्यक्रम हो । कार्यक्रमको सहभागिताले संस्थाप्रतिको आकर्षण बढाउने काम गर्यो । कार्यक्रमको लागि गरिएको डिजिटल प्रचारले व्यापकता सृजना गर्यो । त्यही डिजिटल व्यापकताले गर्दा त्यो कार्यक्रमसँग असम्बन्धित मान्छे भए पनि मैले समेत थाहा पाएँ । आज विद्यार्थी संगठनहरुले यसरी नै सोच्नु पर्ने अवस्था आएको छ ।

विद्यार्थी संगठनहरु पार्टीकै भ्रातृ संगठन भएको हुनाले राजनीतिक कोण भन्दा बाहिरबाट मात्र विषयहरुलाई हेर्ने हेर्ने कुरा त ठिक होइन तर पनि आजको विद्यार्थी आन्दोलनको लागि शैक्षिक विषय प्रधान र राजनीतिक विषय सहायक बन्नुपर्छ । शैक्षिक मुद्दालाई रचनात्मक तरिकाले उठाउने र प्रविधिसँग जोड्ने कुरा झनै प्रमुख बनेको छ । आज संसद भवनभित्र चल्ने हरेक बहसहरुमा विद्यार्थी संगठनहरुले विज्ञप्ति निकाल्न जरूरी छैन । कुनै विशेष राजनीतिक घटनाहरुमा पक्षधरता लिने विषय ठिक हो तर आजका विद्यार्थी संगठनहरुको मुख्य ध्यान शैक्षिक मुद्दाहरुमा भएन भने विद्यार्थी संगठनहरुको सान्दर्भिकता समाप्त हुने खतरा छ ।

आज केही मानिसहरुले हिजोको जस्तो विद्यार्थी आन्दोलन छैन भनेर बारम्बार गुनासो एवं आलोचना गर्ने गरेको सुन्न पाइन्छ । त्यो बुझाइमा पनि गम्भीर समस्या छ । हिजोको जस्तो विद्यार्थी संगठन मात्र होइन, केही पनि छैन । न हिजोको जस्तो समाज छ, न हिजोको जस्तो आर्थिक प्रणाली छ, न हिजोको जस्तो शिक्षा प्रणाली छ, न हिजोको जस्तो राज्यसत्ता छ, न हिजोको जस्तो परिस्थति छ । समाजका हरेक आयामहरु बदलिएको सन्दर्भमा विद्यार्थी आन्दोलन कसरी एकनास रहन सक्छ ? सधैं हिजोको जस्तै हुने कुरा परिवर्तनको नियम विपरीत धारणा हो । आजको विद्यार्थी आन्दोलन हिजोको जस्तो हुनुपर्छ भन्ने कुरा आफैंमा एउटा समस्या हो ।

आजको विद्यार्थी संगठनहरु अझै पनि पञ्चायतकालको ‘ह्यांगओभर’ बोकेर बाँचिरहेका छन् । त्यस प्रकारको ‘ह्यांगओभर’बाट तत्काल बाहिर आउनु जरूरी छ । इतिहासलाई सम्मान गर्दै भविष्यतिर फर्किएको विद्यार्थी संगठन बनाउन सकिएन भने अब विद्यार्थी संगठनहरु विघटन जस्तै हुने देखिन्छ ।

यस्तै यस्तै प्रसंगमा कालिदाससँग जोडिएको एउटा किम्बदन्ती निकै प्रसिद्ध छ । धेरै वर्षपछि कालिदास एक दिन एउटा पुस्तकालयमा पुग्छन् । कालिदास त्यति बेलासम्म विद्वान भैसकेका हुँदैनन् । पुस्तकालयमा रहेका अनेक किताबहरुबाट एउटा किताब निकालेर पानाहरु पल्टाउन थाल्छन् । कालिदाससँग त्यतिबेलासम्म अक्षर अलि अलि चिन्ने बराबरको मात्र ज्ञान हुन्छ । उनी ‘महाकवि’ भैसकेका हुँदैनन् ।

किताबको पाना पल्टाउन थालेपछि उनको ध्यान एउटा यस्तो कुरामा जान्छ कि उनी डाँको छोडेर रुन थाल्छन् । कोही जोड–जोडले रोएको आवाज सुनेपछि नजिकमा रहेको एउटा अर्को मानिस हत्तपत्त उनको छेउमा पुग्छन् र सोध्छन्, ‘महोदय, तपाईं किन यसरी रुनु भएको ? के भयो तपाईंलाई ?’

रुँदै गरेका कालिदास ती मानिसतिर फर्किन्छन् र रुन्चे आवाजमा जवाफ दिन्छन्, ‘हेर्नुस् न महोदय, मलाई सानोमा गुरुले ‘क’ भन्ने अक्षर पढाउनु भएको थियो । त्यतिबेलासम्म गुरुले भित्तामा लेखेको ‘क’ त निकै ठूूलो र मोटो थियो । धेरै वर्षपछि किताबमा आज हेर्दा त बिचरा ‘क’ साह्रै सानो भएछ र दुब्लाएछ । विचरा ‘क’ लाई के भयो होला त्यस्तो ? म त्यही भएर रोएको ।’

यस्तो जवाफ सुनेपछि सुन्ने मान्छे आश्चर्यचकित भए । कतै-कतै बेहोस् नै भए पनि भन्ने गरिन्छ ।

आज विद्यार्थी संगठनहरुको अवस्था पनि त्यस्तै हुने हो कि भन्ने डर छ । पञ्चायतकालको जस्तो मोटो विद्यार्थी संगठन खोज्ने कुरा हामीलाई कालिदासको ‘क’तिर पुर्‍याउने कुरा हो । आजको आवश्यकता त्यो होइन । आजको विद्यार्थी आन्दोलन पञ्चायतकालतिर फर्किएर रुन जरूरी छैन । अब ‘जेनेरेसन जेड’तिर फर्किएर उनीहरुको अनुहारमा आशा जगाउने संगठन बनाउने हो । त्यसरी सोचियो भने विद्यार्थी संगठनहरु खारेज गर्नुपर्छ भन्ने बहस आफैं समाप्त भएर जानेछ ।

(एमफिल अध्ययनरत रेग्मी अखिल क्रान्तिकारीका उपाध्यक्ष हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?