+
+

मनाङमा धनुर्विद्या खेल सुरू

रासस रासस
२०८१ वैशाख ३ गते १३:२८

३ वैशाख, मनाङ । उपल्लो मनाङमा धनुर्विद्या (मेथा) र तल्लो मनाङमा धाज्याङ खेल सुरु भएको छ ।  मनाङ ङिस्याङ गाउँपालिका–६ मनाङगाउँमा धनुर्विद्या खेलमा युवाले कला, कौशल प्रदर्शन गर्दछन् ।

एक सातासम्म मनाइने यो खेललाई मनाङीले आफ्नो परम्परा र सम्पदाकारूपमा उल्लासका साथ मनाउने गर्दछन् ।  विशेषगरी आफ्नो कला, पराक्रम, कौशलता प्रदर्शन गरी यहाँका गुरुङ, घले समुदायले एक सातासम्म मनाउने चलन छ ।

नेपाल बाइसेचौबिसे राज्यमा विभाजित हुँदा यो पर्वको उत्पत्ति भएको अनुमान गरिएको यहाँका बुढापाकाहरुको भनाइ छ ।

राजाहरू आपसमा लड्ने गर्दथे । त्यसैले उनीहरूले सत्रुमाथि विजय प्राप्त गर्नका लागि यस पर्वको सुरुवात भएको र यस पर्वलाई आजसम्म पनि निरन्तरता दिइराखेको पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले जानकारी दिए ।

उनले भने, ‘हाम्रा सांस्कृतिक तथा प्राकृतिक र परम्परालाई जोगाउनुपर्छ । यसको संरक्षणमा युवालाई प्रोत्साहन गरिरहेका छौँ । यहाँ मनाइने विभिन्न संस्कृतिको प्रदर्शनबाट नै पर्यटनसँग जोडी आयस्रोत बनाउन सक्नुपर्छ ।’ युवालाई यसतर्फ आकर्षित गर्नुपर्नेमा जोड दिएका उनले बताए ।

वसन्तऋतुको आगमनसँगै नयाँ वर्षको पूर्वसन्ध्यामा मनाइने यस पर्वलाई तल्लो मनाङमा ‘धाज्याङ’ पनि भनिन्छ । पूजा आराधनासँगै तल्लो मनाङमा पनि आजदेखि यस पर्व सुरु भएको छ ।

माथिल्लो मनाङमा सुरु भएपछि तल्लो मनाङ सुरु हुने गर्दछ । यस पर्वमा गाउँका दुवै छेउका गाउँले तोकिएको ठाउँमा भेला भएर दुई समूहमा विभाजित हुन्छन् ।

पर्व व्यवस्थापन समितिले दुवै समूहबाट पैसा उठाउँछ । धनुर्विद्या प्रतियोगिता गराउँछन् ।  पर्वमा विजेता समूहलाई नगद पुरस्कारसहित फूलमाला र खादाले सम्मान गर्ने चलन रहेको अध्यक्ष गुरुङले जानकारी दिए ।  चाडपर्वको अन्तिम दिन लामाहरूको अनुष्ठान नृत्य गरिन्छ ।

नृत्य प्रदर्शनपछि दानवरुपी पुरुष र महिलाका दुईवटा तस्बिर जोड्छन् । यिनीहरूलाई गाउँको शत्रु मानी जसले तिनीहरूलाई प्रहार गर्छ उसैलाई त्यस वर्षको ‘नायक’ उपाधि दिइने चलन छ ।

पर्वको अन्त्यमा, गाउँलेद्वारा स्याब्रु नाच नाचिन्छ । यस पर्वको मुख्य उद्देश्य भनेको दुष्ट आत्मा र दानवको विनाश गरी मानिसको समृद्धि, स्वस्थ र सुखी बनोस् भन्ने रहेको छ ।

यसबाहेक यसपर्वमा एकता, मेलमिलाप कायम गर्ने जनविश्वास रहेको छ । यस पर्वका अवसरमा सांस्कृतिक कार्यक्रम गरी नाचगान, भोजभतेर, आपसी मित्रता कायम गर्ने गरिन्छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?