+

ट्रेल रनिङका नयाँ स्टार मनकुमार

२०८१ वैशाख  १९ गते ७:२७ २०८१ वैशाख १९ गते ७:२७
ट्रेल रनिङका नयाँ स्टार मनकुमार

१९ वैशाख, काठमाडौं । मनकुमार रोकामगर पछिल्लो समय नेपालको अल्ट्रा ट्रेल रनिङमा नयाँ स्टारका रुपमा उदाएका छन् । रोल्पा थबाङ गाउँपालिका-१ का २१ वर्षीय मनकुमारले यही अप्रिलमा नेपालमै आयोजना भएको दुई अन्तर्राष्ट्रियस्तरको रेस जित्दै चर्चा बटुलेका छन् ।

उनले अप्रिल ५ मा काठमाडौंमा भएको चौथो मन्जुश्री ट्रेल रेसमा १०० मिकी पुरुषतर्फ १४ घण्टा ४५ मिनेट २६ सेकेण्डमा दूरी पूरा गर्दै उपाधि जितेका थिए ।

त्यस लगत्तै मुस्ताङमा भएको मुस्ताङ ट्रेल रेसको पनि उपाधि जिते । विभिन्न स्टेजमा हुने १७० किलोमिटरको यो रेस उनले कीर्तिमानी समय १९ घण्टा ३१ मिनेट ०२ सेकेण्डमा पूरा गरे । विदेशी धावकहरुमाझ एक मात्र नेपाली धावकका रुपमा रहेका उनले सबैलाई पछि पारेका हुन् ।

‘मैले दुवै रेस पहिलो पटक दौडेको हो । दुवैमा पहिलो भएँ । एकदमै खुशी लागेको छ । सिनियर दाइहरुसँग दौडिँदा धेरै अनुभव लिने अवसर समेत भयो’, मनकुमारले अनलाइनखबरसँग भने ।

एसिया ट्रेल मास्टर्सको छनोटको रुपमा रहेको मन्जुश्री र विदेशी धावकहरुसमेत आउने मुस्ताङ ट्रेल रेस जितेपछि मनकुमार निकै उत्साहित छन् । अब उनले नेपाल मात्र नभएर विदेशमा समेत नेपालको प्रतिनिधित्व गर्ने लक्ष्य राखेका छन् ।

लाहुरे नभएपछि दौडमा

थबाङको श्री वीर बलभद्र मोडेल सेकेण्डरी स्कुलमा पढ्दा नै मनकुमार अतिरिक्त क्रियाकलापहरुमा रुचि राख्थे । उनी भलिबल, कबड्डी लगायत खेल खेल्थे ।

कक्षा ८ मा पढ्दा फागुनमा जनयुद्ध दिवसको अवसर पारेर ५ किमी रोड रेस भएको थियो । त्यो नै उनले भाग लिएको पहिलो रेस थियो । जसमा उनी पहिलो भए । त्योबेला उनीसँग न जुत्ता थियो, न दौडिने तौरतरिका ।

तै पनि ‘म पनि गर्न सक्छु’ भन्ने लक्ष्यका साथ दौडिएका उनले पहिलो स्थान ल्याए । ‘चप्पल लगाएर दौडिएपनि मैले जितेको थिएँ’, उनले भने ।

त्यहीँबाट उनमा धावक बन्ने सम्भावना देखिइसकेको थियो । तर उनले यसमै भविष्य बनाउने भने त्यस बेला सोचेका थिएनन् ।

स्थानीय स्कुलबाट एसईई सकाएपछि उनी लाहुरे बन्ने लक्ष्यसहित दाङ झरे । ‘फुपुहरुले काठमाडौंमै बोलाउनुभाथ्यो । यतै पढ यतै ट्रेनिङ गर भनेर । तर साथीहरुसँगै भएकोले लाहुरे बन्ने लक्ष्यसहित गएँ’, उनले भने ।

उनले प्लस टु दाङकै भरपुरस्थित पद्मोदय पब्लिक मोडर्न स्कुलबाट सकाए । त्यो बेला उनी लाहुरे बन्नको लागि दौड लगायत अन्य ट्रेनिङहरु गर्थे ।

तर लाहुरे बन्ने उनको सपना भने पूरा हुन सकेन । उनले लाहुरेका लागि दुई पटक प्रयास गरे । आफ्नो शतप्रतिशत दिएपनि उनी सफल हुन सकेनन् । ‘मैले सबैमा राम्रो गरिराको थिएँ । तर दुवै पटक अन्तिममा फालिएँ । किन फालिएँ मलाई पनि थाहा छैन,’ मनकुमारले भने, ‘एकदमै मिहिनेत गरेको थिएँ । पक्कै हुन्छ भन्ने थिएँ । तर आफ्नो मान्छे नभएर हो कि किन हो छनोट भइनँ । निकै  दु:ख पनि लाग्यो । ट्रेनिङ सेन्टरमा पनि सबैले म छनोट हुन्छ भन्न सोचेका थिए । तर नहुँदा उनीहरु पनि अचम्ममा परे ।’

मिहिनेत गरेर पनि नहुने रै’छ भनेर उनले चित्त बुझाए । ‘मैले भविष्यमा लाहुरे सपना सोचेको थिएँ । तर भएन’, उनले भने । उनलाई लाहुरे बन्न नसकेको पीडा पछिसम्म पनि भइरह्यो ।

लाहुरे बन्न सकेपछि उनको बाटो मोडियो ।

लाहुर बन्का लागि गरेको दौडको ट्रेनिङलाई उनले दौडमै प्रयोग गरे । अनी अल्ट्रा ट्रेल रनर बनेर देशकै नाम चिनाउनतिर लागे ।

गुरिल्ला रेसको दु:

मनकुमारले सबैभन्दा सुरुमा कुदेको तेस्रो गुरिल्ला अल्ट्रा ट्रेल रेस हो । २०७८ सालमा भएको ५५ किमीको उक्त रेसमा उनी छैठौं भएका थिए । तर, पहिलो पटक लामो दूरीको अल्ट्रा रेस कुद्दा उनले धेरै दु:ख कष्ठ व्यहोरे ।

‘सुरुमा दौडदा कस्तो ड्रेस लगाउने पनि थाहा थिएन । जुत्ता पनि अरुसँग मागेर लगाएर दौडिएको थिएँ । जुत्ता सानो भएर औँलाबाट रगत नै आएछ । तर मैले ‘गिभ अप’ गरिनँ । घर आएर हेर्दा त नङ पनि गएछ,’ मनकुमारले पहिलो रेसको अनुभव सुनाए, ‘त्यसपछि दु:ख कस्तो हो के हो भनेर बुझेँ । कस्तो जुत्ता लगाउने थाहा भयो ।’

त्यसपछि उनले २०७९ साल फागुनमा जनयुद्ध दिवसकै अवसर आयोजित ५ किमी रेसमा भाग लिए । जसमा उनले १६ मिनेट ४५:५३ सेकेण्ड समयमा पूरा गर्दै पहिलो स्थान हात पारे ।

लाहुरे बन्ने सपना पनि पूरा भएन । प्लस टु पनि सकाइसकेका थिए । भविष्यमा के गर्ने कसो गर्ने भन्ने चिन्ता उनको मनमा थियो । उनीसँग छोटो दूरी कुदेको र गुरिल्ला रेसको मात्र अनुभव थियो ।

अनि २०७९ साल चैतमा उनी काठमाडौं फुपुकोमा बस्न आए । त्यसपछि उनको बाटो मोडियो ।

पञ्चासे रेस टर्निङ प्वाइन्ट

काठमाडौं आएपछि एक दिन यत्तिकै फेसबुक हेर्दा उनले पोखरामा पञ्चासे ट्रेल रेस हुँदैछ भन्ने देखे । उनलाई त्यसमा भाग लिन मन लाग्यो । त्यही रेस नै उनको करियरको टर्निङ प्वाइन्ट भयो । त्यहीँबाट उनको अल्ट्रा रेस करियरको असली सुरुआत भयो ।

‘मलाई कस्तो दौड भन्ने थाहा त थिएन । तर ट्रेनिङहरुमा छोटो दूरी दौडिएको थिएँ । म फिट थिएँ । लामो दौडको धेरै जानकारी थिएन’, उनले भने । यद्यपि उनले पोखरामा भएको ५५ किमी ट्रेल रेसमा भाग लिने निधो गरे ।

फुपुलाई नभनी उनले नाम दर्ता गरे । अनि दौड आउनुअघि पोखरा लागे । त्यहीँ उनले ट्रेल रनिङमा चर्चित धावकहरु अर्जुन कुलुङ राई, प्रिया राईहरुलाई देखे । जसको उनले नाम सुनिरहेका थिए । ‘मैले नाम सुनेको चर्चित धावकहरु पनि आएका थिए । अब कस्तो हुन्छ म पनि दौडन सक्छु कि भनेर म गएको थिएँ’, उनले सुनाए ।

तर दौड उनले सोचे जस्तो सहज थिएन । उनलाई लामो दूरी कसरी दौडिने थाहा थिएन । सुरुको १०-१५ किमी उनी एकदमै छिटो दौडिए । सिनियर धावकहरु समेत उनलाई देखेर अचम्ममा परे । उनले खुसी हुँदै त्यो दिनतिर फर्किए, ‘होइन को रै’छ यो मान्छे भनेर सोच्यो होला !’

सुरुमा उनले सबैलाई पछि पारेका थिए । तर विस्तारै उनको रफ्तार घट्यो । ‘मेरो इनर्जी पनि सकिँदै गयो । खुट्टा मर्कियो । खुट्टा दुख्यो । सुरुमा फस्ट थिएँ । पछि अर्जुन दाइले पछि पारे दोस्रो झरे तेस्रो हुँदै म चौठ्ठोमा पुगें’, उनले भने ।

जे होस उनले उक्त रेस चौथो स्थानमा सकाए, ६ घण्टा ५८ मिनेट ०९ सेकेण्डका साथ ।

पहिलो रेसबाट उनले धेरै कुरा सिक्ने अवसर पाए । ‘त्यो रेसपछि अनुभव पनि भयो । अर्जुन दाइहरुसँग पनि कुरा गरेँ । पोखरामा दाइहरुले पनि तिमीले राम्रो गर्न सक्छौ भनेर हौसला दिनुभयो’, मनकुमारले भने, ‘घरबाट दाइले पनि समर्थन गर्नुभयो । राम्रो गरिरहेको छौँ भनेर हौसला दिनुभयो ।’

उनले रेसहरु बुझ्न थाले । अनुभवी खेलाडीहरु भेट भयो । अनी यो एक वर्ष उनले लगातार विभिन्न स्थानमा भएको रेसहरुमा भाग लिए ।

एकै वर्ष १८ रेस दौडिए

२०७९ चैतमा पञ्चासे दौड दौडिएपछि उनले निरन्तर रेसहरुमा भाग लिन थाले । लगत्तै उनले २०८० वैशाखमा जुम्लामा भएको चौथो जुम्ला रारा अल्ट्रा म्याराथनमा भाग लिए । जहाँ उनी आठौं भएका थिए ।

सुरुआती दौडहरुमा उनी शीर्ष ३ मा पनि आउन सकेनन् ।

तर वर्ष २०८० मा उनले वर्षको अन्तिममा मन्जुश्रीसहित १८ रेस दौडिए । जसमा उनले लामो दूरीतर्फ फिस्टेल रेस र मन्जुश्रीको उपाधि जितेका थिए । यस्तै वर्ष २०८१ को सुरुमै स्टेज रेज अन्तर्गत रहेको  मुस्ताङ ट्रेल रेसमा सहभागगी भएर उनले कीर्तिमानी टाइमिङमा उपाधि जिते ।

२०८० मा उनले छोटो दूरीतर्फ १५ किमीको फार्म रनिङ फेस्टिभल, २५ किमीको चेजिङ सनसाइन, २० किमीको सिस्ने ट्रेल रेस र केभिआर स्टेज रेस अन्ततर्गत ३३ किमीको दोस्रो स्टेजको उपाधि जितेका थिए ।

यसबाहेक उनी ५० किमीको फिस्टेल १०० अल्ट्रामा दोस्रो,  ४२ किमीको तेस्रो अन्नपूर्ण म्याराथन र पाँचौ संस्करणको ५२ किमी गुरिल्ला म्यारथनमा चौथो,  ६० किमीको आठौं सिन्धुपाल्चोक अन्तर्राष्ट्रय ट्रेल रेसमा दोस्रो, ५५ किमीको स्काई रेस पिके पिकमा तेस्रो, ५५ किमीको शैलुङ अल्ट्रा ट्रेल रेसमा दोस्रो भएका थिए ।

उनले राइट टु प्रोटिन हाफ म्यारथनमा समेत सहभागी जनाएका थिए । त्यसमा भने उनी सातौं भए ।

गत वर्ष वैशाखमै भएको फिस्टेल १०० मिटर अल्ट्रा रेसमा उनी दोस्रो भए । ठूलो ट्रेल रेसमा शीर्ष ३ मा आएको यो नै उनको पहिलो रेस थियो ।

यस्तै गत मंसिरमा भएको चौथो फिस्टेल ट्रेल रेसमा उनी पहिलो भए । उनले पहिलो पटक जितेको सबैभन्दा ठूलो रेस यही थियो । ‘अल्ट्रा रेस कुद्न थालेपछि मेरो पहिलो उपाधि हो । यसले अझ हौसला दियो । स्पोनर नभएपनि मैले आफ्नै बलमा जितेका थिए’, उनले भने ।

कुनै सहयोगीदाता नभएपनि आफ्नै बलमा पनि केही गर्न सक्छु भन्ने अठोटका साथ उनले रेसलाई निरन्तरता दिए ।

त्यसको फल उनले वर्षको अन्तिममा मन्जुश्ररीमा १०० किमीतर्फ पहिलो भएर पाए ।

मन्जुश्रीमा दौडनु एक साता अघि उनले रामेछापमा भएको शैलुङ अल्ट्रा म्याराथन दौडेर आएका थिए । त्यसैले उनलाई धेरैले मन्जुश्रीमा नदौडन भनेका थिए । ‘मैले यति लामो अहिलेसम्म कुदेका पनि थिएन । ५५ किमी मात्र कुदेको थिएँ । अरुले पनि सक्दैन भनेर भनेका थिए’, उनले भने ।

उनले राम्रोसँग ट्रेनिङ पनि गर्न पाएका थिएनन् । तर उनले जे पर्ला भनेर दौडने अठोट गरेनन्  शीर्षस्थान पनि हात पारे ।

मन्जुश्री जितेपछि उनी लगत्तै मुस्ताङ ट्रेल रेसमा सहभागी हुन गए । नाम मात्र सुनेको रेसमा सहभागी हुन पाउँदा उनी निकै उत्साहित थिए । ‘जिम्मी दाइले नै सबै व्यवस्था मिलाउनुभयो । मन्जुश्री दौडेको एक सातामै फुपुले नजा भन्दा भन्दै पनि म गएँ’, उनले भने ।  फुपुलाई धेरै थाहा थिएन । उनले सबै ठिक छ भनेर गए ।

प्रवेश शुल्क नै महँगो थियो ।

तर जिम्मी दाइहरुले उनको व्यवस्था मिलाएका थिए । ‘आई एक्सपेक्ट यु विल सो गुड रिजल्ट’ जिम्मी दाइको यो भनाइबाट पनि उनी मोटिभेट भए । ‘जित्छु भन्ने त सम्भवना नै थिएन । म घुम्न भएपनि जान्छु भन्ने सोचेर जिम्मी दाइलाई हुन्छ भनें,’ उनले भने ।

यसअघि सुमन कुलुङहरुले जितेको भएर उनलाई जित्नुपर्छ भन्ने लागेपनि रुट थाहा थिएन । तर  अन्तिममा उनले सुमन कुलुङको कीर्तिमान तोडे, १९ घण्टा ३१ मिनेटमा पूरा गरेर । यसअघि सुमनले १९ घण्टा ३८ मिनेटको कीर्तिमान बनाएका थिए ।

थबाङको परिभाषा फेर्ने लक्ष्य

मनकुमारको जन्मस्थान थबाङ माओवादी जनयुद्ध सुरु भएको ठाउँ भनेर चिनिन्छ । त्यहाँबाट खेलकुदमा अन्तर्राष्ट्रियस्तरसम्म कोही पुगेका छैनन् । राष्ट्रियस्तरमा केही खेलाडी छन् । तर मनकुमार भने खेलाडी बनेरै अब यो गाउँकै परिभाषा बदल्ने लक्ष्यमा छन् ।

‘थबाङ माओवादी जनयुद्ध सुरु भएको क्रान्तिकारी गाउँको रुपमा चिन्छ । अब मैले त्यो ठाउँलाई अर्कै नामले पनि चिनाउने लक्ष्य राखेको छु । त्यो परिवर्तन गर्न सक्छु भन्ने लागेको छ’, उनले अठोटका साथ भने ।

५ जनाको परिवारमा उनलाई घरबाट पनि राम्रो साथ छ ।

पछिल्लो एक वर्ष उनले निरन्तर दौडिए । नेपालका अनुभवी र सिनियर खेलाडीहरुसँग सँगै दौडिएर प्रतिस्पर्धा पनि गरे । धेरैलाई उनले पछि पारे पनि । उनीहरुसँग सिक्ने अवसर पाए र अनुभव पनि लिए ।

यस्तै उनको अर्को लक्ष्य भने नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय रेसमा जाने छ । ‘एक वर्षदेखि दौडिरहेको छु । अहिले रेसबाहेक केही सोचेको छैन । भविष्यमा नेपालबाट विदेशमा गएर रेसमा भाग लिने र पदक जित्ने लक्ष्य छ’, उनले आफ्नो आगामी योजना सुनाए ।

त्यसका लागि सहयाोगीदाताहरु हुनुपर्ने, सरकार, संघहरुले सहयोग गर्नुपर्ने उनी बताउँछन् । ‘ट्रेलमा पैसा थोरै छ । खेल खेल्न महँगो छ । सामानहरु जुटाउन कठिन छ । डाइट, इन्ट्री फी, गियरहरु महँगो छ । जिम्मी दाइले धेरै सहयोग गर्नुभाछ । संघ संस्थाहरुले सहयोग गर्‍यो, मेरो पनि  टिम र स्पोनर भयो र कसैको साथ पाएँ भने भने यसैमा लाग्छु । अझ राम्रो गर्ने लक्ष्य छ’, उनले भने ।

एक वर्षका राम्रो साथ पाएमा दौडलाई निरन्तरता दिने उनको योजना छ । भन्छन्, ‘एक-दुई वर्ष अझ दौडन्छु । यसैमा केही गर्छु भन्ने छ । अब केही भएन भने अर्को विकल्प पनि सोच्नुपर्छ होला !’

 

 

ट्रेल रनिङ मनकुमार
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय