+

एएफसी यू-२० महिला एसियन कप छनोटका लागि नेपाल तयार

२०८२ साउन  २० गते १३:३४ २०८२ साउन २० गते १३:३४
एएफसी यू-२० महिला एसियन कप छनोटका लागि नेपाल तयार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल यू२० महिला राष्ट्रिय टिमले भुटानमा एएफसी यू-२० महिला एसियन कप छनोट खेल्दैछ।
  • नेपालले समूह ए मा भुटान, साउदी अरेबिया र उत्तर कोरियासँग प्रतिस्पर्धा गर्नेछ।
  • प्रशिक्षक याम गुरुङले साफ यू२० च्याम्पियनसिपको कमजोरी सुधारेर यस पटक छनोट हुनेमा ढुक्क रहेको बताए।

२० साउन, काठमाडौं । नेपाली यू२० महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले भोलीदेखि भुटानमा सुरु हुने एएफसी यू-२० महिला एसियन कप छनोटका लागि नेपाल तयार रहेको बताएका छन् ।

समूह ए मा रहेको नेपालले बुधबार घरेलु टोली भुटानसँग खेल्दै छनोटको यात्रा सुरु गर्नेछ । ‘हामीले केही समयअघि बंगलादेशमा साफ यू२० खेलेका थियौं । हाम्रो तयारी राम्रो छ’ मंगलबार भुटानमा आयोजित प्रि-म्याच कन्फ्रेरेन्समा प्रशिक्षक गुरुङले भने ।

यस्तै कप्तान बिर्सना चौधरीले पनि नेपालको तयारी राम्रो रहेको बताएकी छन् । ‘यस प्रतियोगिता खेल्ने भुटान मात्र नभएर अरु टिम पनि राम्रो छ । तर हाम्रो तयारी पनि राम्रो भइरहेको छ ।’

ढाकामा जुलाई ११ देखि २१ सम्म भएको साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो । त्यस बेला नेपाल घरेलु टोली बंगलादेशसँग दुवै खेलमा पराजित भएको थियो । त्यो दक्षिण एसियाली राष्ट्रहरुको प्रतियोगिता थियो ।

यस पटक भने नेपाली जुनियर महिला टोली यू२० महिला एसियन कपमा पुग्ने लक्ष्यसहित भुटान पुगेको हो । जहाँ नेपालले उमेर समूहमा एसियन कप र विश्वकप समेत जितिकसेको उत्तर कोरिया जस्तो बलियो टोलीसँग समेत खेल्नेछ । यस्तै नेपाल रहेको समूहमा घरेलु टोली भुटान र साउदी अरेबिया पनि छ ।

नेपाली यू-२० (त्यसबेला यू-१९) महिला फुटबल टिमले सन् २००४ मा एएफसी यू-२० महिला एसियन कप नै खेलेको थियो । त्यो समय छनोट प्रतियोगिता नभएकोले नेपालले सिधै खेल्ने अवसर पाएको थियो । त्यसपछि भने छनोट प्रतियोगित आयोजना हुन थाल्यो ।

नेपाल र भुटानबीचको खेल थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा साँझ पौने ६ बजे सुरु हुनेछ ।

भुटानलाई कमजोर नआँक्ने

मुख्य प्रशिक्षक गुरुङले साफ यू२० र एएफसी यू२० एसियन कप छनोट फरक किसिमको प्रतियोगिता भएको बताए । साथै उनले घरेलु टोली भुटानलाई कमजोर टिमको रुपमा समेत नलिने बताए ।

साफ यू२० महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई दुवै खेलमा सहजै पराजित गरेको थियो । ‘साफ र एएफसी छनोट खेल्नु फरक छ । यसमा भुटान घरेलु मैदानमा खेल्दैछ । हामी भुटानलाई सम्मान गर्छदँ । उनीहरु डे बाई डे राम्रो खेल्दैछ,’ गुरुङले भने ‘भुटानलाई दर्शकको साथ छ र घरेलु मैदानको साथ हुन्छ । साफको नतिजाले भुटानलाई कमजोर सोच्दिन ।’

साफ यू२० महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई ६-१ र ८-० ले पराजित गरेको थियो । यसैगरी गुरुङले समूहको तीनवटै टिमलाई सम्मान गरेर खेल्ने र आफूहरुले लक्ष्य यू२० महिला एसियन कपमा छनोट हुने रहेको बताए ।

‘हामी तीनवटै टिमलाई सम्मान गर्छौँ । हामी यहाँ छनोट हुन आएको हो । भुटान आउँदा हामीलाई अर्काको देश नभएर आफ्नै देश आएको जस्तो लाग्छ । आफ्नो गेम खेल्ने हो । मेरो खेलाडीप्रति मलाई विश्वास छ’ प्रशिक्षक गुरुङले नेपालको लक्ष्यबारे भने ।

गुरुङले साफ यू२० च्याम्पियनसिपमा भएको कमजोरीलाई यस पटक नदोहोर्‍याउने बताएका छन् । ‘साफ यू२० ले यस प्रतियोगिताको तयारीलाई सहज भयो । त्यहाँ भएको कमजोरी सुधार गरेर आएका छौँ । त्यसैले यो प्रतियोगितामा हामी छनोट हुन्छ भन्नेमा ढुक्क छौँ ।’

यस्तै कप्तान बिर्सनाले पनि सबै टिमसँग राम्रो खेलेर छनोट हुने लक्ष्य रहेको सुनाइन् । ‘सबै टिमसँग राम्रो खेलेर टप भएर नै छनोट हुने हो’ उनले भनिन् ।

प्रशिक्षक गुरुङले नेपालमा फ्यानहरु डाईहार्ट रहेको र यसपटक उनीहरुलाई निराश नबनाउने प्रयास गर्ने पनि बताए । ‘नेपालको फ्यानहरु डाईहर्ट फ्यान छन् । सानो कुरामा मन दुख्छ यस पटक म उनीहरुलाई निराश बनाउँदिन ।’

भुटानकी प्रशिक्षक टंक माया घलेले पनि छनोट प्रतियोगिताका लागि तयार रहेको बताइन् । ‘हामी छनोट प्रतियोगिताको लागि तयार छौँ र खेलाडीहरु सबै सकरात्मक छन् । भोलीको खेलका लागि तयार छौँ’ उनले भनिन्, ‘भर्खरै हामीले साफ यू२० खेलेका थियौँ र धेरै अनुभव हासिल गर्‍यौँ । हामी गल्तीहरुलाई सच्याउँदै यस पटक राम्रो नतिजा ल्याउने आशा छ ।’

उत्तर कोरियाका प्रशिक्षक रि सोङ हो ले यस छनोटका लागि राम्रो तयारी गरेको र छनोट हुने लक्ष्य रहेको बताएका छन् । ‘हामीले धेरै मिहिनेत गरेका छौँ । यस छनोटका लागि । हाम्रो मुख्य उद्देश्य यसबाट छनोट हुनु हो र एसियन कप तथा विश्वकपमा पुग्नु हो’ उनले भने, ‘यस छनोट प्रतियोगिताबाट छनोट भएर हामी आफ्नो क्षमता देखाउनेछौँ ।’

नेपालले समूहको दोस्रो खेल अगष्ट ८ मा साउदी अरेबियासँग खेल्नेछ भने अन्तिम खेल अगष्ट १० मा उत्तर कोरियाको सामना गर्नेछ ।

एएफसी यू-२० महिला एसियन कप यू-२० महिला एसियन कप छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय