News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली यू-२० महिला राष्ट्रिय फुटबल टोली एएफसी यू-२० महिला एसियन कप छनोट खेल्न जाँदैछ।
- टोली समूह ए मा उत्तर कोरिया, भुटान र साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ।
- समूह विजेताले सिधै एसियन कपमा स्थान बनाउनेछ।
१५ साउन, काठमाडौं । बंगलादेशमा केही दिनअघि सम्पन्न भएको साफ यू-२० महिला च्याम्पियनसिपमा उपविजेता बनेर फर्किएको नेपाली यू-२० महिला राष्ट्रिय फुटबल टोली नयाँ यात्रामा निस्कँदैछ ।
नेपाली जुनियर महिला टोली एएफसी यू-२० महिला एसियन कप छनोट खेल्न भुटान जाँदैछ । छनोट अगष्ट ६ देखि १० सम्म (साउन २१-२५) हुँदैछ ।
प्रतियोगिता खेल्न जाने नेपाली टोलीको बुधबार बिदाइ पनि गरिएको छ ।
लगातार प्रतियोगिता, विश्व विजेता प्रतिद्वन्द्वी अनि महत्वाकांक्षी लक्ष्य । अहिले नेपाली यू-२० महिला फुटबल टोलीको हकमा यसो भन्दा कुनै फरक पर्दैन ।
दक्षिण एसियाली स्तरमा खेलेर फर्केको दुई साता पनि नबित्दै नेपालले अर्को महत्वपूर्ण छनोट प्रतियोगिता खेल्नैछ । जहाँ नेपालले खेल्ने प्रतिस्पर्धी चानचुने नभएर यो उमेर समूहमा एसिया र विश्वकप विजेता छ ।
एएफसी यू-२० महिला एसियन कप छनोटमा समूह ए मा रहेको नेपालले उत्तर कवरिया आयोजक भुटान र साउदी अरेबियासँग खेल्नेछ । यस समूहमा सुरुमा मंगोलिया पनि समावेश थियो । तर नाम फिर्ता लिएपछि चार राष्ट्र मात्र रहेको छ ।
उत्तर कोरिया एएफसी यू२० महिला एसियन कप र फिफा यू२० महिला विश्वकपको साविक विजेता टिम हो । सन् २०२४ मा उसले दुवै उपाधि जितेको थियो ।
विश्व च्याम्पियन नै रहेको समूहबाट नेपालले समूह विजेता बन्दै अर्को वर्ष हुने एएफसी यू-२० महिला एसियन कपमै छनोट हुने महत्वाकांक्षी लक्ष्य राखेको हो ।
खेलमा हार जित स्वभाविक नै हुन्छ । लक्ष्य सबैको जित्ने नै हुन्छ । तर आफ्नो स्तर, तयारी, प्रशिक्षणको आधारमा पनि कस्तो नतिजा आउँछ अनुमान लगाउन सकिन्छ ।
तर नेपालले भने यस पटक ठूलै लक्ष्य राखेको छ ।
नेपालले अगष्ट ६ मा भुटानसँग पहिलो खेल खेल्दै यात्रा थाल्नेछ । यस्तै अगष्ट ८ मा साउदी अरेबियासँग खेल्नेछ भने अन्तिम खेल खगष्ट १० मा उत्तर कोरियाको सामना गर्नेछ ।
डार्क हर्स नेपाल
नेपाली महिला यू-२० टोलीका मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले नेपाललाई यस पटक ‘डार्क हर्स’को रुपमा वर्णन गरे । ‘उनीहरू उत्तर कोरिया पनि ११ जना । हामी पनि ११ जना । हामी डार्क हर्स नै हो । अँध्यारोमा कुद्ने मान्छेहरू हो हामी’ गुरुङले बुधबार आयोजित बिदाई कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग भने, ‘उनीहरू एएफसी च्याम्पियन भनेर ध्यान दिएका छैनौं । उनीहरू हामीसँग कन्सियस हुनुपर्नेछ । त्यो अनुसार म गेम खेलाउनेछु।’ उत्तर कोरियासँग खेल्ने विषयमा सोध्दा गुरुङले यसो भनेका हुन् ।
उत्तर कोरियासँग कसरी ट्याकल गर्ने भन्ने प्रश्नमा गुरुङको जवाफ छ, ‘हामीले डिफेन्सिभ लाइनमा ध्यान दिनुपर्छ । डिफेन्समा म्यानपारवर बढाउँछु । मिडफिल्डलाई काउन्टर अट्याकमा ध्यान दिएर खेल्छौं ।’
उत्तर कोरिया नेपाल रहेको समूहमा सबैभन्दा बलियो टोली नै हो । त्यसमा कुनै शंका छैन । आयोजक भुटानलाई नेपालले साफ यू-२० च्याम्पियनसिपमै दुवै खेलमा आरामले हराएकोले त्यसमा नेपाल ढुक्क छ । साउदी अरेबिया तुलनात्मक रुपमा कमजोर टिम रहेकोले त्यसमा नेपाल चिन्तित छैन ।
नेपालको लागि मुख्य चासो चिन्त महत्वपूर्ण जे जे भनेपनि उत्तर कोरिया नै हुनेछ । समूह विजेता बन्ने टोली सिधै यू-२० महिला एसियन कपमा छनोट हुने व्यवस्था छ । त्यसैले उत्तर कोरियासँगै नेपालको नजर पनि त्यसैमा हुनेछ ।
यद्यपी समूह विजेता बन्न नसके उत्कृष्ट उपविजेता हुँदै छनोट हुने विकल्प पनि छ ।तर ८ समूहको समूह विजेता सिधै छनोट हुँदा उपविजेता हुने ८ मध्ये उत्कृष्ट ३ टिम मात्र छनोट हुनेछ । त्यसैले सकेसम्म सबै टिम समूह विजेता नै बन्न चाहन्छन् ।
नेपालको पनि लक्ष्य त्यही नै हो । ‘लक्ष्य छनोट हुने नै हो । दुई खेल जितेर उत्तर कवरियालाई बराबरीमा रोक्ने हो’ नेपालको लक्ष्यबारे मुख्य प्रशिक्षक गुरुङले भने ।
छनोटबाट ८ समूह विजेता र ३ उत्कृष्ट उपविजेता गरी ११ टिमले अर्को वर्ष थाइल्याण्डमा हुने यू२० महिला एसियन कपमा स्थान बनाउनेछन् । आयोजकको हैसियतले थाइल्याण्ड स्वत छनोट भइसकेको छ ।
कप्तान बिर्सना चौधरीले भने उत्तर कोरिया बारे धेरै थाहा नभएकोले अब फिल्डमै खेल देखाउने बताइन् । ‘उत्तर कोरियासँग खेल्नु हेरेको पनि छैन देखेको पनि छैन । खेल्ने हामी फिल्डमै हो देखाउने फिल्डमै हो । त्यही अनुसार खेल्ने हो’ उनले भनिन् ।
चिन्ता डिफेन्स र मिडफिल्डमै
साफ यू-२० च्याम्पियनसिपमा उपविजेता बन्दा नेपाल घरेलु टोली बंगलादेशसँग दुवै खेलमा पराजित भएको थियो । पहिलो खेलमा अन्तिम समयमा गोल खाँदा नेपाल ३-२ ले पराजित भयो भने दोस्रो खेलमा ४-० ले पारजित भयो ।
दुवै खेलमा नेपालको डिफेन्स कमजोर देखियो । डिफेन्स र मिडफिल्डको कुनै तालमेल नै देखिएन । त्यसमा गोलकिपरसम्म कमजोरी देखियो । गोलकिपर र डिफेन्डरको पनि तालमेल कमी देखिएको थियो ।
नेपालको मुख्य समस्या डिफेन्स र मिडफिल्ड नै रहेको मुख्य प्रशिक्षक र कप्तानको भनाई छ । त्यसमा अझ सुधार गरेर राम्रो प्रदर्शन गर्ने उनीहरूको भनाइ छ ।
‘दुई दिन पूर्ण रेस्ट भयो । ६ दिनमा डिफेन्स लाइन र मिडफिल्ड लाइनमा ट्रान्सजिसन समस्या देखिएको थियो । त्यसमा होमवर्क गर्यौं । गोलकिपरमा कमजोरी देखिएकोले त्यसमा ध्यान दिएर काम गर्नुस भनेर भनेको छु’ मुख्य प्रशिक्षक गुरुङले भने ।
यस्तै कप्तान बिर्सनाले पनि अग्रपंति राम्रो भएपछि पछाडि केही समस्या रहेको बताइन् । तर टिम राम्रो भएकोले राम्रो प्रदर्न हुने उनले आशा व्यक्त गरिन् ।
‘टिम वर्क हाम्रो छ । एएफसी खेल्न जादैछौं । राम्रो नतिजा ल्याउने आशा छ र छनोट हुने आशा छ’ बिर्सनाले भनिन्, ‘हाम्रो डिफेन्स लाइन र मिडफिल्डलाइनमा काम गर्नुपर्छ । फरवार्ड राम्रो छ।’
कप्तान बिर्सनाले बंगलादेशसँगको हारलाई बिर्सेर अघि बढ्ने बताइन् । ‘बंगलादेशमा हार्यो दोस्रो भयौं । त्यो बिर्सेर राम्रो नतिजा ल्याउने आशामा छौं।’
नेपाली टोली
गोलकिपर : लिला जोशी, करुण बुढाथोकी, सुजाता तामाङ
डिफेन्डर : सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पन्धाक, सिम्रन राई, सजिना स्याङ्तान, गंगा रोकाया, अनिशा राई, सीता रोकाया
मिडफिल्डर : कविता गुरुङ, सुसिला केसी, अस्मिता गुरुङ, बिर्सना चौधरी (कप्तान), सेनु परियार
फर्वार्ड : कुसुम खतिवडा, सुक्रिया मिया, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा, समीक्षा मगर
नेपालको खेलतालिका
नेपाल भर्सेस भुटान- अगष्ट ६
नेपाल भर्सेस साउदी अरेबिया- अगष्ट ८
नेपाल भर्सेस उत्तर कोरिया- अगष्ट १०
प्रतिक्रिया 4