+
+

आन्तरिक कारणले अर्थतन्त्रमा सुधार भएन : परिसंघ 

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ४ गते १८:३१

४ चैत, काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले बाह्य क्षेत्र राम्रो हुँदाहुँदै पनि अर्थतन्त्रमा अपेक्षित सुधार आउन नसक्नुमा आन्तरिक कारण प्रमुख रहेको बताएको छ ।

परिसंघको २१औं वार्षिक साधारणसभाका अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष राजे कुमार अग्रवालले यस्तो बताएका हुन् ।

‘विदेशी विनिमय सञ्चितिको हिसाबले बाह्य क्षेत्र राम्रो स्थितिमा छ, भुक्तानी सन्तुलन र चालु खाता बचतमा छ, विदेशी विनिमय सञ्चिति ८ वर्ष यताकै उच्च हो, बाह्य क्षेत्र राम्रो भएपनि आन्तरिक अर्थतन्त्रमा अझै पनि अपेक्षित सुधार आउन नसक्नु बाह्य कारण मात्रै थिएन र होइन, आन्तरिक नै प्रमुख कारण हो भन्ने पुष्टि गर्दछ,’ उनले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेको कार्यक्रममा अध्यक्ष अग्रवालले बैंक तथा वित्तीय संस्थाहरुमा अर्बौ रुपैयाँ लगानी योग्य रकम हुनु र बैंकहरुमा पैसा थुप्रिने अवस्थाका बीच लगानी गर्न नसक्ने अवस्थाको अन्त्य अपरिहार्य रहेको बताए ।

समग्र बजार मागमा आएको उच्च कमीका कारण उद्योगी व्यवसायीहरु निकै अप्ठ्यारो अवस्थामा रहेको भन्दै उनले कतिपय उद्योग व्यवसाय बन्द भईसकेका र कतिपय बन्द गर्नुपर्ने अवस्थामा पुगेको उल्लेख गरे । यस्तो असरबाट सबैभन्दा बढी साना तथा मझौला उद्योगहरु प्रभावित भइरहेको उनको भनाइ छ ।

ठूला उद्योगहरुमा समेत यसको असर देखिन थालेको र उत्पादनमुलक उद्योगले आफ्नो क्षमताको ४० प्रतिशत हाराहारीमा मात्रै उत्पादन गरिरहेको उनले बताए । अर्थतन्त्रलाई अगाडि बढाउन समग्र माग बढाउने नीति लिन आवश्यक रहेको उनले बताए ।

केन्द्रीय तथ्यांक विभागले हालै सार्वजनिक गरेको जीडीपीसम्बन्धी प्रक्षेपणमा औद्योगिक वस्तु उत्पादन क्षेत्रमा गिरावट आउने, निर्माण क्षेत्रमा न्यून मात्र सुधार आउने प्रक्षेपण गरेको स्मरण गर्दै उनले नियामक निकायले लिएको नीतिका कारण अर्थतन्त्र विस्तार हुन नसक्ने र त्यसको असर आर्थिक वृद्धिमा पर्ने बताए ।

अर्थतन्त्रमा अस्वाभाविक संकुचन आउँदा, समग्र माग बढ्न नसक्दा उद्योग व्यवसाय बन्द हुने क्रम बढ्दै गएको भन्दै उनले यसको गम्भिर असर बैंक तथा वित्तीय संस्थाहरुको वासलातमा समेत देखिएको बताए ।

बैंकहरुको एनपीएल ३.७३ प्रतिशत पुगेको तथ्यांक प्रस्तुत गर्दै उनले कालोसूचीमा पर्नेहरुको संख्या निकै बढेको बताए । पछिल्ला केही महिनादेखि उद्योगहरुमा गरिएको अघोषित लोडसेडिङ्गले थप मर्माहत बनाएको उनको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?