+
+

बेवारिसे पशुचौपायाले हैरान पोखरा महानगर

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ५ गते १०:१०

५ वैशाख, काठमाडौं । गत साउन २२ गते पोखरा महानगरले न्युरोडको डिभाइडरमा रोपेको फूल र विरुवा एउटा माउ गाई र बाच्छीले खाइरहेको फोटो भाइरल बन्यो । त्यसको केही समयपछि नै सोही ठाउँमा चालकले हातले गाई धपाउँदै बस चलाइरहेको भिडियोले पनि चर्चा कमायो ।

पोखरा महानगरमा बेवारिसे रुपमा छोडिएका पशुचौपायाले सवारी चालक तथा यात्रीलाई दिने हैरानी नौलो होइन । तत्कालीन महानगरपालिका प्रमुख मानबहादुर जिसीले छाडा पशुचौपाया नियन्त्रण गर्न घरधनी ‘ट्यागिङ’ योजना नै ल्याएका थिए ।

केही समय महानगरभरिका पशुचौपायालाई चिनारी ‘ट्याग’ लगाएपनि बेवारिसे पशुचौपायाको समस्या व्यवस्थापन हुन सकेन । व्यस्त बाटो तथा बजारमै पशुचौपायाले गर्दा दुर्घटनासमेत निम्तिने गरेको छ ।

पोखरामा जथाभावी छाडिएका पशुचौपायाका कारण सडक सुरक्षामा चुनौती थपिएको, नगरका डिभाइडर तथा पार्कहरूमा लगाइएका फूल तथा विरुवा, खाइदिने, फुटपाथमा पैदलयात्रीहरुलाई आक्रमण गर्नेलगायत समस्याका कारण पोखराको टाउको दुखाइ बनिरहेको छ ।

महानगर प्रमुख धनराज आचार्यले बेवारिसे छाडिएका पशुचौपायाले सहरी सौन्दर्यीकरणमा बाधा पुर्‍याएको बताए । उनले समस्या समाधानका लागि महानगर निरन्तर लागिरहेको भए पनि पशुपालन कृषक वा व्यवसायीहरूको लापरबाहीका कारण आफूहरू पटकपटक आलोचित हुनुपरेको दाबी गरे ।

‘हामीले दैनिकजसो सडकमा देखिने चौपायहरुलाई संकलन र नियन्त्रण गरी गौशाला लैजाने गरेका छौं । तर, पनि समस्या जस्ताको तस्तै देखिन्छ’, आचार्यले भने, ‘यो त अति भयो । अटेर गर्ने र आफ्नो भकारोको पशु फुकाएर विभिन्न बहानामा सडकमा छोड्नेहरू अब कारबाहीको दायरामा आउँछन्, आउनुपर्छ ।’

सार्वजनिक स्थानमा बेवारिसे पशुचौपायाले सताउन नछाडेपछि महानगरले मंगलबारदेखि छाडा पशुचौपाया व्यवस्थापन अभियान नै सुरु गरेको छ । । ‘हामीले विशेष अभियान थालेका छौं । अब सडकमा आउने पशुचौपायाको धनीको पहिचान गर्ने र कारबाहीको दायरामा ल्याउने हाम्रो प्रयत्न रहन्छ’, महानगरीय प्रहरी बल प्रमुख प्रहरी निरीक्षक थापाले भने ।

प्रहरी निरीक्षक पुरुषोत्तम थापाले अहिले पशुपालन व्यवसाय गरिरहेका कतिपय नगरबासीहरूको असावधानीका कारण सिंगो महानगरपालिकाले समस्या झेल्नु परेको गुनासो गरे । आर्जन हुन्जेल खाने तर बुढो वा थाक्न थालेपछि सडकमा छोड्ने मानिसहरूको अमानवीय कार्यले सडक सुरक्षामा चुनौती थपिएको उनको भनाइ छ ।

छाडा पशुचौपाया व्यवस्थापन अभियानको पहिलो चरणमा पोखरा महानगरपालिकाले मंगलबार एकैदिन ५० वटाभन्दा बढी पशुचौपाया मुख्य सहरी क्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको छ । महानगरले बगर, चिप्लेढुंगा, महेन्द्रपुल, पृथ्वीचोक, सृजनाचोक, जिरो, छोरेपाटन, विरौटा, लेखनाथ लगायतका क्षेत्र छाडा छोडिएका गाई, गोरु नियन्त्रणमा लिएको नगर प्रहरी प्रमुख थापाले जानकारी दिए ।

थापाका अनुसार नियन्त्रणमा लिइएका पशुचौपायालाई पोखरा १४, बच्छीबडूवामा व्यवस्थापन गर्ने गरिएको छ । बच्छीबडूवामा रहेको पुष्करिणी परोपकार गोकुल धाममा हाल ४ सय वटाभन्दा बढी पशुचौपाया रहेको महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?