+
+

सुप्रिम सहकारी ठगी : ओमप्रकाश गुरुङलाई थुनामा पठाउन आदेश, दिपेश पुनसँग ४ लाख धरौटी माग

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ७ गते १४:५९
दिपेश पुन

७ वैशाख, काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले एक जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने ६ जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ ।

न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश दिएको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए ।

सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले २८ जनाविरुद्ध मुद्दा दायर गरेकामा शुक्रबार थुनछेक बहसका क्रममा ७ जना उपस्थित थिए । उनीहरुमध्ये गुरुङलाई थुनामा पठाउने र अरु ६ जनालाई धरौटीमा छाड्ने आदेश भएको श्रेस्तेदार ज्ञवालीले बताए ।

अदालतले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई ४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

त्यस्तै नवीन अछामीसँग १० लाख, दुर्गा चापागाईंसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापामगरसँग २ लाख र रोशनी गुरुङसँग २ लाख रुपैयाँ धरौटी माग भएको श्रेस्तेदार ज्ञवालीले जानकारी दिए । अदालतमा उपस्थित नभएका प्रतिवादीहरुका नाममा भने म्याद जारी गरिएको छ ।

कास्की कारागार पोखरामा रहेका कुमार रम्तेल र भविश्वर अर्याललाई झिकाएर जिल्ला अदालत रुपन्देहीले बयान लिनेछ ।

सुप्रिम सहकारीमा रकम वचत गर्ने १८३१ जनाले आफूहरुको रकम फिर्ता नपाएको भन्दै सहकारीका सञ्चालक र कर्मचारीविरुद्ध जाहेरी दिएका थिए । वचतकर्ताको दाबी अनुसार उक्त सहकारीले करिब एक अर्ब रुपैयाँ अपचलन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?