+
+

बगरखेतीबाटै मनग्य कमाउँछन् दाङका किसान

रासस रासस
२०८१ वैशाख ९ गते १८:४८

९ वैशाख, दाङ । राप्ती नदीका कारण बगरमा परिणत भएको लमही नगरपालिका –४ बलरामपुरको जमिन लामो समयसम्म प्रयोग हुनसकेको थिएन । तर पछिल्लो समय यहाँका पौरखी किसानले त्यही बगरमा ‘बगरखेती’ गरेर मनग्य आम्दानी गर्न थालेका छन् ।

कुनैबेला बालुवा नै बालुवा देखिने बगरमा यतिखेर हेर्दा खरवुजा र तरकारी खेती लटरम्म छ । यही खेतीबाट स्थानीय किसानले अहिले मनग्य आम्दानी गर्न थालेका हुन् । यसरी आम्दानी गर्नेमध्ये एक हुन् लमही नगरपालिका –४ सिम्रहवा निवासी ४९ वर्षीया सनकुमारी चौधरी ।

चौधरीले करिब दुई विघा बगरमा खरवुजा र केही जमिनमा भन्टा, लौका, करेला, वोडीलगायत बेमौसमी तरकारी खेती गरिरहेकी छिन् । २० वर्षअघि राप्ती नदीको बाढीले उठिबास भएकी चौधरी सोही स्थानमा बगरखेती गरेर परिवारको गर्जो टारिरहेको बताउँछिन् । त्यस समय यही बगरले उठिबास पारेको थियो सम्झिने चौधरी अहिले भने खुसी छिन् ।

‘२० वर्षअघि राप्ती नदीको बाढीले घरबार, अन्नपात, गाईवस्तु बगाएर बिचल्लीमा पारेको थियो । अहिले भने त्यही ठाउँमा बगरखेती गरेर घरव्यवहार चलाइरहेका छौँ । त्यहीको आम्दानीले छ जनाको परिवारको लालनपालन, छोराछोरीको शिक्षादिक्षा मात्रै होइन थोरै भए पनि बचत गर्न सफल भएका छौं,’ चौधरीले भनिन् ।

विगत १० वर्षदेखि बगरखेतीमा लागेको बताउने चौधरीले सुरुका केही वर्ष खासै लाभ नभए पनि पछिल्ला छ वर्षयता राम्रो आग्दानी गरिरहेको बताउँछिन् । उनका अनुसार एक मौसममा बगरखेतीबाट साढे तीन लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ ।

‘बाढी पसेको दश वर्षसम्म त यहाँ बालुवा मात्रै थियो । पछि गाउँलेहरूले सल्लाह गरेर बगरखेती सुरू गर्‍यौँ । अहिले बालुवा हेरेर पछुताउने अवस्था छैन’, चौधरीले भनिन्,’बगरखेतीपछि मिहेनत गरेमा बगरमा पनि पैसा फलाउन सकिँदो रहेछ भन्ने सिकाइ भएको छ ।’

सनमाया मात्रै होइन जमिन बगरमा परिणत भएपछि घरखर्च चलाउन ज्यालामजदुरी गर्न बाध्य स्थानीय ३५ वर्षीया रीता चौधरीको पनि आम्दानीको प्रमुख स्रोत नै यही बगरखेती भएको छ । उनले पनि एक बिघा जमिनमा खरबुजा र केही जमिनमा बेमौसमी तरकारी खेती गरेर एक मौसममा एक लाखदेखि डेढ लाख रुपैयाँसम्म बचत गर्ने गरेको बताइन् ।

उनी भन्छिन्, ‘खेतीयोग्य जमिन बगर भएपछि सुरुमा निकै समस्या भयो । अरुकहाँ ज्याला मजदुरी गरेर जीविका चलाउने दिन पनि आए । तर बगरखेती गर्न थालेपछि भने आफैँ उद्यमी बनेका छौँ । अहिले यहीँ खेतीको आम्दानीबाट घरपरिवारको लालनपालन, छोराछोरी पढाउन र केही बचत गर्न पाउँदा सफल भएका छौँ ।’

लमही नगरपालिका–४ की ३७ वर्षीया माया चौधरीले एक विघा जमिनमा खरबुजा र एक बिघामा तरकारी खेती गरेर एकै मौसममा डेढ लाखसम्म आम्दानी हुने गरेको बताउँछिन् ।

सनमाया, रीता र मायाजस्तै कुनै समय नदीले उठिबास लगाएपछि घरबास समस्यामा परेका यस ठाउँका करिब दुई सय किसानले बगरखेती गरेर जीविका चलाइरहेका छन् । त्यसले जीविकोपार्जनमा टेवा पुग्नुका साथै विगतको दुःख भुलाउन पनि सहज भएको छ ।

लमही नगरपालिका –४ बलरामपुरमा मात्रै होइन, राप्ती र गढवा गाउँपालिकाका विभिन्न स्थानका दुई हजारभन्दा बढी किसान बगरखेती गरेर आम्दानी गर्न सफल भएका उनीहरू बताउँछन् ।

राप्ती नदी आसपासका यी तीनवटै स्थानीय तहका बगर क्षेत्रलाई व्यक्तिगत र सामूहिकरूपमा गरी दुई हजारभन्दा बढी किसानले एक सय दुई समूह बनाएर उपयोग गरिरहेका स्थानीय कृषि बहुउद्देश्य सहकारी संस्थाको तथ्यांक छ । यही संस्थाले सुरुमा किसानलाई निःशुल्क तालिम र २५ प्रतिशत अनुदानमा बीउ तथा विना धितो ऋण पनि उलब्ध गराउँदै आएको थियो ।

लमही नगरपालिकाको कृषि शाखाकी गङ्‍गा चौधरीले हाल सो नगरपालिकाले बगरखेती गर्ने किसानलाई बीउमा ५० प्रतिशत अनुदान र निःशुल्क तालिम उपलब्ध गराउने गरेको जानकारी दिइन् । गढवा गाउँपालिकाले भने किसानले उत्पादन गरेका कृषिउपजलाई बजारसम्म पुयाउन कृषि एम्बुलेन्स सञ्चालन गरिरहेको छ ।

तर एकीकृत योजना बनाएर स्थानीय तहलगायत तीनै तहका सरकाले सिँचाइ सुविधा, मलखाद, बीउ तथा बजारीकरणमा सहयोग गरे बगरखेतीबाट अझबढी लाभ लिन सकिने यहाँका किसानको बुझाइ छ ।

उनीहरू भन्छन्, ‘प्रचण्ड गर्मी छ । बालुवा नै बालुवा भएकाले सुक्खा बढी हुन्छ । तर नजिकै बोरिङ छैन । हाम्रो उत्पादन खपत हुने पर्याप्त बजार पनि छैन । त्यसैल सरकारले यी समस्या समाधान गरिदिए अझबढी मेहनत गर्थ्यौं ।’

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?