+
+

रातु नदीले बगर बनाएको २५६ बिघा जमिन यसरी बन्यो बगैंचा

७ वर्ष यता बगर जग्गामा ४० हजार आँपको बोट रोपिएको छ । त्यसमा नगरपालिकाले कृषि बाटो, बोरिङलगायत सुविधा जोडिदिएपछि उब्जनी पनि बढेको छ । स्थानीय उत्साहित बनेका छन् । उनीहरुकाे अनुहारमा खुसी फर्किन थालेको छ ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८१ वैशाख ११ गते १९:१०

११ वैशाख, जनकपुरधाम । असार २०३२ सालमा रातु नदीमा आएको उच्च बाढीले महोत्तरीको भंगहा नगरपालिका ६ पर्साका जितन सिंहको २ बिघा जग्गा बगर बनाइदियो ।

खेतीपातीबाटै गुजारा चलाउँदै आएका सिंहको जमिन एकाएक बगरमा परिणत भएपछि उनको परिवारमाथि ठूलो बज्रपात पर्‍यो । उनी अर्काको जग्गा बरबटाइ (अधियाँमा उब्जाउने काम) र जन मजदुरी गरेर परिवार पाल्ने अवस्थामा पुगे ।

‘बर्दिबास नजिक रातु नदीको बाँध थियो । त्यो बाँध भत्किएर आएको बाढीले एकै रातमा खेत बगर बनायो । कमाउने खाने आधार नै खोसिएपछि हामी संकटामा पर्‍यौं’, जीतन ती अतीतका दिन सम्झन्छन्, ‘त्यसपछि अर्काको जग्गा अधियाँमा उब्जाएर र जन मजदुरी गर्न थालें ।’

५ दशकअघि खोसिएको जितनको परिवारको खुसी बल्ल फर्किन थालेको छ । बगरमा परिणत उनको २ बिघा खेत हराभरा र उब्जाउ बन्दै गएको छ । केही वर्षअघि लगाएको बोटमा फल लाग्न थालेको छ ।

खेतमा धान, गहुँ, आलुप्याज, काक्रो, करेला लगायतको बालीनाली हुने गरेको जीतनकी श्रीमती सुमिन्त्रा बताउँछिन् । ‘सबै जग्गामा आँपको बोट छ । खेतमा विस्तारै धान, गहुँ, तरकारी राम्रो फल्न थालेको छ । दिनभर यसमै मिहिनेत गरेर हाम्रो परिवार चल्छ’, उनले भनिन् ।

रातु नदीको बाढीले जितनजस्तै अवस्था बनाएको थियो पर्साकै सिंहेसर हुजेदार थारुको । उनको पनि रातुको बाढीबाट ३ बिघा उर्बर खेत बगर बनेको थियो । परिवारमा खान लाउन ठूलै संकटको सामना गर्नुपर्‍यो ।

धन्न ! सिंहेसरलाई सिलाइकटाईको सीप थियो । उनले त्यही सीपबाट लामो समयसम्म परिवारको गुजारा चलाए ।

‘जग्गामा बालुवैबालुवा पुरेर मरुभूमिजस्तो बन्यो । उब्जने कुनै सम्भावना नदेखेपछि सबैले त्यतिकै छाडे’, उनी सम्झन्छन्, ‘मसँग कपडा सिउने सीप थियो । मेसिन चला’र कपडा सिउन सुरु गरें । परिवार चलाउन थालें ।’

अहिले जितनजस्तै सिंहेसरको परिवारमा खुसी फर्किन थालेको छ । ३ दाजुभाइमा जग्गा बाँडफाँड हुँदा बगरको डेढ बिघा जग्गा उनको भागमा परेको छ, त्यसमै आँपको बोट छ । धान, गहुँ, प्याज, खुर्सानी, तरकारी बाली हुने गरेको सिंहेसर बताउँछन् ।

खेत उब्जिन थालेपछि अहिले उनले सिलाइको कामलाई बिराम दिएका छन् । ‘अब खेतीपाती गरेर परिवार चल्न थालको छ । सिलाइको काम बन्द गरेर दिनभर खेतमै मिहिनेत गर्छु । खेत उर्बर बन्दै छ । बाली सप्रिन थाल्यो’, सिंहेसर भन्छन् ।

रातु नदीको बाढीले जितन सिंहेसर मात्र होइनन्, भंगहा नगरपालिका ६ पर्सा र संग्रामपुर टोलका १४१ किसानको खुसी खोसेको थियो । १४१ परिवारको २५६ बिघा जग्गा बगर बनाएपछि वर्षौंसम्म उनीहरुको बिल्लीबाठ भयो ।

नगरपालिका कार्यालय, दातृ निकायको सहयोग र किसानहरुको सक्रियतामा बाढीले बगर बनाएको २५६ बिघा खेतबारी ३ दशकपछि जग्गा बगैंचामा परिणत भएको छ । ७ वर्ष यता बगर जग्गामा ४० हजार आँपको बोट रोपिएको छ । त्यसमा नगरपालिकाले कृषि बाटो, बोरिङ, विद्युतीकरण गरिदिएपछि उब्जनी बढेको छ । स्थानीय उत्साहित बनेका छन् ।

यसरी बगैंचा बन्यो २५६ बिघा बगर

२०३२ सालमा रातु नदीको उत्पातले पर्साका जितन र सिंहेसरजस्तै संग्रामपुरका स्थानीय जयासर यादवको पनि १० बिघा जग्गा बगर बन्यो ।

कृषि प्राविधिक रहेका अवकाश प्राप्त यादव आफ्नो बगरमध्येको १० कठ्ठा जग्गामा ६ वर्षअघि आँपको बिरुवा लगाएर परीक्षणको प्रयास गरे । गाउँका मान्छेले ‘यो बगरमा केही हुन्न’ पनि नभेका होइनन् ।

तर, यादव पछि हटेनन् । ‘परीक्षण गर्न नै आँपको बिरुवा लगाए । धेरैले यो बगरमा केही हुन्न भनेर कुरा काट्यो । मैले परीक्षण मात्र गर्न खोजेको थिएँ । समयमा पानी सिञ्चित र संरक्षण गर्दा बिरुवा लाग्यो’, उनी भन्छन् ।

जयासर यादव ।

त्यहीबेला गाउँमा सामुदायिक विकास तथा पैरवी मञ्चको घर करेसाबारीको कार्यक्रम चलिरहेको थियो ।

जयासरका अनुसार एकपटक त्यस बगरमा लगाएको आँपको विरुवाको अवलोकन गर्न सामुदायिक विकास तथा पैरवी मञ्च, कारीतास जर्मनी, कारीतास नेपालसहितका संघसंस्थाका प्रतिनिधि पुगे ।

‘ती प्रतिनिधिहरुले भने ‘तपाईं त बेइमान मान्छे हुनुहुन्छ । आफ्नो जग्गामा मात्रै आँप लगाउनुभयो । अरु किसानहरुलाई पनि जागरुक गरेर बगरमा आँपको वृक्षारोपन गर्नुपथ्र्यो भनेर भन्नुभयो’, जयासर भन्छन्, ‘उनीहरुले तत्काल परीक्षणको १० विघा जग्गामा आँपको बिरुवा लगाउन सुझाव दिए । त्यो बिरुवा कारीतास जर्मनीले निःशुल्क दिने वचन दिएपछि हौसला थपियो ।’

बगरमा बालुवैबालुवा र त्यसमा उम्रेको जिउमा घोंच्ने खालका घाँस तथा झारपात थियो । त्यो कसरी फाँड्ने, अन्य किसानलाई कसरी जगाउने भनेर जयासरले पर्साका रामनारायण सिंहसित सल्लाह गरे । रामनारायण जयासरको कुरामा सहमत भए । बगरमा जग्गा परेका किसानहरुसँग विभिन्न चरणमा छलफल भयो । सबै किसान आ–आफ्नो बगर जग्गा खानजोत गर्न सहमत बने ।

बगरमा खेत परेका किसानहरु रातो खोला फलफुल तथा कृषक समूह गठन गरे । सुरुमा कारीतास जर्मनीबाट पाएको आँपको बिरुवा १० बिघामा रोपे । छेउमै १२ महिना नर्सरीबाट स्वचालित मूल फुटेर बग्ने जुरी खोलाको पानीले भाँडाकुडामा लगेर किसानहरु सिंचित गर्न थाले ।

बिरुवा पलाउन थालेपछि कारीतास जर्मनी, कारीतास नेपाल, पैरवी मञ्च, हेल्भेटास लगायत दातृ निकायको सहयोगमा २५६ बिघा बगरमै आँपको बिरुवा रोपेको स्थानीय जयासर बताउँछन् । सबै बिरुवा ती संस्थाहरुले निःशुल्क उपलब्ध गराएको थियो ।

किसानलाई खेतीतर्फ आकर्षित गर्न भंगहा नगरपालिकाले ८ वटा ४ इन्चको बोरिङ, आर्टिजन बोरिङ गाडिदियो । तत्कालीन वडाध्यक्ष चौठी महतोको सक्रियतामा बगरमै पर्सादेखि संग्रामपुरसम्म बाटो बनाउने काम भयो र बोरिङमा मोटर जडान गरेर सिँचाइ गर्न थालियो ।

खनजोत हुँदै बगरको आँपको बोटहरु हुर्किएर फल्न थालेको छ । आँपको बोटबाट खसेको पातपतिंगर, खनजोत र सिँचाइले जग्गाको उर्बरा शक्ति बढ्न थालेको कृषक रामनारायण सिंह बताउँछन् ।

‘पहिले त बाली नै लाग्दैन्थ्यो । अब धान, गहुँ, मकै लगायतको अन्न फल्छ । परवल, करेला, काँक्रो, फर्सी, प्याजलगायतको तरकारी उब्जिन थालेको छ’, कृषक रामनारायण भन्छन् ।

अझ पनि ठाउँठाउँमा सिँचाइका लागि बोरिङ र समयमा मलखाद तथा कोल्डस्टोरको व्यवस्था गरिदिन किसानहरुको माग छ । सरकारले अझ सिँचाइ र समयमा मलखाद, बाली बिउको व्यवस्था गरिदिए बगरको खेती फस्टाउने किसान सिंहेसरको भनाइ छ ।

बगरका किसानलाई सीत भण्डारणदेखि सीपमूलक तालिमको समेत अवश्यक्ता रहेको कृषक जयासर औंल्याउँछन् । ‘ठूलो क्षेत्रमा आँप बँगैचा छ । एकैपटक फल्दा बजार पाइँदैन । सस्तो हुन्छ । त्यही भएर पनि भण्डारण गर्न कोल्ड स्टोरको अति आवश्यकता छ’, कृषक जयासर भन्छन् ।

 

यस्तै काँचोमा बोटबाट झर्ने आँपबाट बन्ने आधुनिक तरिकाको अचार, पाकेको अवस्थामा बन्ने अमोटसहितको सहितको परिकार बनाउने विषयमा सीमूलक तालिमको आवश्यकता उनीहरु औंल्याउँछन् ।

पछिल्लो समय दातृ निकाय र नगरपालिकाले यो क्षेत्रलाई बेवास्ता गर्न थालेको किसानहरुको गुनासो छ । पछिल्लो पटक निर्वाचित जनप्रतिनिधिले पनि बेवास्ता गर्दा आफूहरुको मनोबल कमजोर भएको उनीहरुको दुखेसो छ ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?