+
+

पर्सा गोली प्रकरण : बब्लुको साथबाट खैरो हेरोइन र गाँजा बरामद

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १७ गते १३:२१

१७ वैशाख, काठमाडौं । गएराति पर्सा प्रहरीको गोली लागेर घाइते भएका भारतीय नागरिक बब्लु पासवानको साथबाट एउटा पेस्तोलसँगै लागुऔषध खैरो हेरोइन र गाँजा बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय, पर्साले प्रेस विज्ञप्ति जारी गरेर उनको साथबाट एउटा पेस्तोल, त्यसमा लाग्ने दुई राउण्ड गोली, ४९ ग्राम खैरो हेरोइन र ८८० ग्राम गाँजा बरामद भएको जनाएको हो ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा उनी नेपालतर्फ आउँदै गरेको सूचना पाएपछि प्रहरीले वीरगञ्ज–१६, भुटनदेवी मन्दिर अगाडि सडकमा चेकपोइन्ट राखेको थियो ।

त्यसक्रममा प्रहरीलाई नै आक्रमण गरेर भाग्न खोजेपछि नियन्त्रणमा लिन गोली चलाउनुपरेको पर्सा प्रहरी प्रमुख एसपी कुमोध ढुंगेल बताउँछन् । उनका अनुसार बायाँ खुट्टाको घुँडामुनि गोली लागेका उनको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

को हुन् पासवान ?

पासवान ३ असोज २०७९ मा गोठाटारमा भएको व्यवसायी लाल मोहम्मदको हत्यामा संलग्नलाई परिचालन गर्ने व्यक्तिमध्येका एक हुन् । उनले रक्सौलबाट हतियार दिएर दुई जना युवकलाई काठमाडौं पठाएका थिए ।

काठमाडौंमा आएर तिनले बब्लुले भने अनुसारका सुटरलाई हतियार दिएका थिए । उनी १३ जेठ २०७३ मा भएको सुरेश केडियाको अपहरणमा पनि जोडिएका व्यक्ति हुन् । सीमा क्षेत्रमा बसेर उनले पर्सासहित तराईका जिल्लामा अपहरणको धन्दा चलाउने गरेको प्रहरी अधिकृतहरू बताउँछन् ।

उनले नेपालमा साना हतियार र लागुऔषध भित्र्याउने कामसमेत गर्ने गरेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी कुमारविक्रम थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?