+
+
सुदूरपश्चिम सरकार :

रेशमले झस्काएपछि टीकालाई मन्त्री, भाग पुर्‍याउन मन्त्रालय फुटाउने तयारी

जनक विष्ट जनक विष्ट
२०८१ वैशाख १८ गते १८:५८
शपथ लिँदै सुदूरपश्चिम प्रदेश सरकारकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापा ।

१८ वैशाख, धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मंगलबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले नागरिक उन्मुक्ति पार्टी (नाउपा) की टीका थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका हुन् ।

६ वैशाखमा मुख्यमन्त्री बनेका एकीकृत समाजवादी संसदीय दलका नेता सोडारीले नाउपाका कैलाश चौधरीलाई भौतिक पूर्वाधार मन्त्री नियुक्त गरेका थिए । नाउपाकी थापालाई मन्त्री नियुक्त गरे पनि तत्काल मन्त्रालयको जिम्मेवारी नदिने मुख्यमन्त्री सोडारीको तयारी थियो । तर पूर्वसहमति अनुसार मन्त्रालय तोक्नुपर्ने भन्दै थापाले शपथ लिन अस्वीकार गरिन् ।

सुदूरपश्चिममा सत्तारुढ नेकपा एमाले र माओवादी केन्द्र पनि सरकारमा सहभागी भइसकेका छैनन् । तत्काल सरकारमा नजाने निर्णय गरेका दुबै दलले बझाङ १(१) मा हुने उपचुनावको नजितालाई पर्खिएका थिए । किनकी त्यहाँ कांग्रेसले उपनिर्वाचन जितेको अवस्थामा र नाउपा एकढिक्का हुनासाथ गठबन्धन कुनै पनि बेला संकटमा पर्न सक्थ्यो ।

बझाङमा बुधबार सकिएको मतदानमा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भए । लगत्तै मुख्यमन्त्री सोडारीले २१ वैशाखमा विश्वासको मत लिने निर्णय लिए । संविधानतः (३० दिनभित्र) ५ जेठभित्र विश्वासको मत लिए हुन्छ । तर जति छिटो विश्वासको मत लियो, त्यति छिटो एमाले र माओवादीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न पाउने भएपछि हतार गरेका हुन् ।

रेशमले झस्काए

विश्वासको मत लिएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका मुख्यमन्त्री सोडारीलाई नाउपाका संरक्षक रेशम चौधरीले झस्काए । शनिबार फेसबुकमा पार्टी अध्यक्ष एवं श्रीमती रञ्जिता श्रेष्ठसँग तस्वीर सार्वजनिक मात्र गरेनन्, रञ्जिताले पार्टी र सरकार दुबै चलाउन आफूलाई आग्रह गरेको दाबीसमेत गरे ।

उनले अर्को स्टाटसमा लेखे, ‘छिट्टै लुम्बिनी र सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता लिन्छौं ।’

नाउपाका नेताहरु भने रेशम र रञ्जिताबीच संवादहीनता टुटेको, तर विवाद कायमै रहेको बताउँछन् । ‘उहाँहरु (रेशम र रञ्जिता) श्रीमान/श्रीमती हुनुहुन्छ । पारिवारिक विषयमा केही समझदारी भयो होला तर राजनीतिक रुपमा पार्टीभित्रको समस्या समाधान भइसकेको छैन’, नाउपाका एक नेताले भने ।

नेता रतनबहादुर थापा पनि दुई जनाबीच नीतिगत विषयमा कुरा नमिलेको बताउँछन् । ‘उहाँहरुसँग हामी संवादमै छौं । विभिन्न किसिमले छलफल भइरहेको छ’, थापाले अनलाइनखबरसँग भने, ‘नीतिगत कुरा मिल्न नसक्दा समस्या देखिएको छ ।’

तर सरकारलाई दिएको समर्थन फिर्ता लिने रेशमको दाबीले मख्यमन्त्री सोडारीलाई झस्कायो ।

किनकी रेशमले भने जस्तो नाउपा एक भएको हो र उसले समर्थन फिर्ता लियो भने सोडारीलाई बहुमत पुग्दैन । ५३ सदस्यीय प्रदेशसभामा एमालेको ११ (बझाङ १ (१) समेत), माओवादी १० (सभामुख बाहेक), एकीकृत समाजवादी ४ र स्वतन्त्र एक सांसद छन् ।

प्रदेशसभामा बहुमत जुटाउन २७ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टीका ७, कांग्रेसका १८ र राप्रपाका एक सांसद छन् ।

मुख्यमन्त्री सोडारीले मंगलबार गठबन्धनमा आवद्ध एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र प्रदेश सभा सदस्य डा.ताराप्रसाद जोशीसँग छलफल गरे ।

उक्त छलफलले नाउपा रञ्जिता पक्षकी थापालाई तत्काल भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनाउने समझदारी गरेको छ । मंगलबार बिहानको बैठकमा मन्त्रालयको जिम्मेवारीसमेत तोक्ने सहमति बनेपछि सरकारमा थप मन्त्री पठाएको नाउपा नेता रतनबहादुर थापा बताउँछन् ।

‘यसअघि विभागीय जिम्मेवारी नदिएका कारण हामी रोकिएका थियौं’, उनले भने, ‘आज उहाँहरु विभाग दिन तयार हुनुभयो त्यसैले उहाँ (थापा) लाई सरकारमा पठाएका हौं ।’

एमाले र माओवादीलाई भाग पुर्‍याउन मन्त्रालय फुटाउने तयारी

मुख्यमन्त्री सोडारीले सुरुदेखि नै एमाले र माओवादी केन्द्रलाई समेट्न खोजेका थिए, तर दोस्रो पटक विस्तार गर्दा पनि नाउपाको एउटा (रञ्जिता) पक्ष मात्र सरकारमा आएको छ । सोडारीलाई मुख्यमन्त्री स्वीकार गर्न आनाकानी गरेको एमालेले त संसदीय दलबाट तत्काल सरकारमा नजाने निर्णय गरेको छ ।

अब भने एमाले विश्वासको मत दिएर सोडारी नेतृत्वको सरकारमा जान तयार भएको छ ।

बझाङको उपनिर्वाचनमा एकीकृत समाजवादीले आफ्ना उम्मेदवारलाई हराउन भूमिका खेल्ने एमालेको आशंका थियो । त्यसो गरेमा विश्वासको मत नदिने एमालेको नीति थियो । तर आफ्नो उम्मेदवारलाई जिताउन एकीकृत समाजवादीले भूमिका खेलेपछि एमालेले सरकारमा जाने तयारी गरेको छ ।

‘अहिलेसम्म उपनिर्वाचनकै कारण हामी सरकारमा नगएका हौं’, एमाले संसदीय दलका प्रमुख सचेतक सुरेन्द्र पालले अनलाइनखबरसँग भने, ‘परिणाम एमालेको पक्षमा आइसक्यो । अब मुख्यमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुन्छौं ।’

उनका अनुसार मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन केन्द्रीय नेतृत्वले निर्देशन नै दिइसकेको छ ।

मुख्यमन्त्री दीर्घ सोडारी ।

माओवादी केन्द्रले पनि मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्र सरकारमा जाने नीति लिएको छ । ‘पहिले साना दललाई सरकारमा सहभागी गराउन खोजेका हौं’, माओवादी संसदीय दलका नेता मानबहादुर धामी भन्छन्, ‘मुख्यमन्त्रीलाई विश्वासको मत दिइसकेपछि हामी पनि सरकारमा जान्छौं ।’

एमाले र माओवादीसँगै सोडारीले स्वतन्त्र सांसद डा. तारा जोशीलाई मन्त्री बनाउने तयारी गरेका छन् ।

सुदूरपश्चिम सरकारका ६ मन्त्रालयमध्ये भौतिक पूर्वाधार र कृषि मन्त्रालय नाउपाले लिइसकेको छ । अब चार वटा मन्त्रालय बाँकी छन् । दलहरुलाई भाग पुर्‍याउन मन्त्रालय फुटाउने मुख्यमन्त्री सोडारीको तयारी छ ।

नेताहरुका अनुसार सामाजिक विकास, भौतिक पूर्वाधार र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएर तीन मन्त्रालय थप्नेबारे छलफल चलिरहेको छ ।

धेरै मन्त्रालय फुटाउदा राम्रो सन्देश नजाने भएकाले भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर सहरी विकास मन्त्रालय बनाउने विकल्पमा पनि छलफल भएको छ । यसो भएमा माओवादी केन्द्र र एमालेले २/२ मन्त्रालय लिनेछन् भने स्वतन्त्र प्रदेश सभा सदस्य डा.ताराप्रसाद जोशी पनि मन्त्री हुनेछन् ।

‘भागबण्डा पुर्‍याउन मन्त्रालय फुटाउने कुरा चलेको छ, तर तीन वटा फुटाउने कि एउटा भन्नेमा अड्किएको छ’, सत्ता गठबन्धनका एक नेता भन्छन्, ‘हेरौं, मुख्यमन्त्रीज्यूले के गर्नुहुन्छ ?’

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?