+
+

७८ मिटर खनियो सिद्धबाबा टनेल

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २३ गते १४:०४
फाइल तस्वीर

२३ वैशाख, काठमाडौं । सिद्धार्थ राजमार्गमा निमार्णाधिन सिद्धबाबा टनेल ७८ मिटर खनिएको छ । मुख्य टनेलतर्फ कुल १ हजार १२६ मिटर सुरुङ खन्नुपर्ने छ । यसमध्ये २९ अप्रिलसम्म उत्तरतर्फबाट ३२.७ मिटर र दक्षिणतर्फबाट ४५.२ मिटर सुरुङ खनिसकिएको सिद्धबाबा सुरुङ परियोजनाले जनाएको छ । आयोजनाका अनुसार बाइपास प्रथम २३ मिटर, बाइपास दोस्रो १४ मिटर र बाइपास तेस्रो १२ मिटर खनिएको छ ।

यस आयोजनामा बाइपासहरू क्रमशः १५१, १६१ र १३० मिटर खन्ने योजना छ । स्लोप प्रोटेक्सनतर्फ साउथ पोर्टलमा कुल २३ सय मिटर स्क्वायरमा काम गर्नुपर्ने छ । यसमध्ये ९८९ मिटर क्वायरको काम भइसकेको छ । आयोजनाका अनुसार यो आयोजनाको समग्र भौतिक प्रगति ११.३७ प्रतिशत पुगेको छ । वित्तीय प्रगति १७.५ प्रतिशत पुगेको छ ।

सिद्धबाबामा सुरुङ खन्ने काम ४ माघदेखि औपचारिक रुपमा सुरु भएको हो । यो परियोजनाको निर्माणको काम चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीईसी) ले गरिरहेको छ ।

यस आयोजनामा कुल १ किलोमिटर १२६ मिटर लामो सुरुङसहित बुटवल र पाल्पातर्फको ७८० मिटर सडकमा दोहोरो लेन, स्लोप प्रोटेक्सनसहितको संरचना गरी कुल २.५९ किलोमिटर क्षेत्रमा भौतिक संरचना निर्माण हुँदैछ । पोखरासँग जोड्ने सुरुङमार्ग पुरा भएपछि सो क्षेत्रमा पहिरोको जोखिम घटाउने र स्थानीय आर्थिक विकासमा समेत योगदान पुग्ने अपेक्षा लिइएको छ ।

सिद्धबाबा सुरुङ आयोजनाको ठेक्का प्रक्रिया २०७८ सालमै सम्पन्न भएको हो । सीएससीईसीले इन्जिनियरिङ, प्रक्योरमेन्ट एण्ड कन्ट्रक्सन (इपीसी) मोडलमा सुरुङ मार्गको ठेक्का पाएको हो । यो आयोजना ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का लागेको हो । अहिले नारायणगढ–बुटवल सडक खण्डको कामको ठेक्का पाएकै कम्पनीले सुरुङ मार्ग बनाउन थालेको हो । यो सडक खण्डको काममा ढिलाई गर्दा आलोचना बेहोरेको कम्पनीले अबको ४ वर्ष भित्र सुरुङ मार्गको निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने जिम्मेवारी छ ।

सिद्धबाबा सुरुङका लागि १ मंसिर २०७७ मा मन्त्रिपरिषद् बैठकले बजेट सहमति प्रदान गरेको थियो । ९ जेठ २०७८ मा सडक विभागले ग्लोबल टेन्डरमार्फत ठेक्का आह्वान गरेको थियो । सोही अनुसार कम बजेट प्रस्ताव गर्ने चिनियाँ कम्पनीले सुरुङ निर्माणको जिम्मेवारी पाएको हो । यसको निर्माण पश्चात समेत सोही कम्पनीले ५ वर्षसम्म मर्मतको काम समेत गरिदिनु पर्ने सर्त छ । यो सडक खण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ तथा म्याग्दीसम्म यातायातका साधन चल्ने गर्छन् । हरेक वर्ष जाने पहिरोले जनधनको क्षति पुर्‍याएसँगै सरकारले यहाँ सुरुङमार्ग निर्माणको निर्णय गरेको थियो ।

कस्तो बन्दैछ सुरुङ ?

आयोजनाका अनुसार यहाँ बुटवल र पाल्पा दुवैतर्फ जोखिमयुक्त सडकमा दुई लेनको सडक बनाइने छ । सडकको माथिल्लो भागमा सुरक्षा संरचनाहरू बनाइने छ । यसले सडक माथिबाट खस्ने ढुंगाहरूलाई सिधै तल झार्ने छ । यसरी कुल ३ किलोमिटर सडकलाई सुरक्षित गराउने योजना छ । सुरुङ मार्गको तीन स्थानमा खुला स्थान राखिने भएको छ । आकस्मिक घटना भइहालेमा सोही स्थानबाट उद्धारको काम हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?