+
+

गण्डकीमा सभामुखको बलमिच्याइँ, ३० जनाकै समर्थनमा मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २३ गते १८:२१

२३ वैशाख, पोखरा । गण्डकीका सभामुख कृष्ण धितालले मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका छन् ।

आइतबार प्रदेशसभामा पेश विश्वासको मतसम्बन्धी प्रस्तावमा अधिकारीको पक्षमा ३० मत परेपछि सभामुख धितालले विश्वासको मत पाएको घोषणा गरेका हुन् ।

६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ सांसदको समर्थन चाहिन्छ । आवश्यक अवस्थामा आफूलाइ पनि मत हाल्न पाउने अधिकार रहेको बताउँदै सभामुख धितालले राजनीतिक हिसाबमा एमाले–माओवादीकै चाहना अनुसार मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका हुन् ।

मुख्यमन्त्रीले राखेको विश्वासको मतको पक्षमा एमालेका २२, माओवादीका ७ र दीपक मनाङे गरी ३० जनाले समर्थन जनाएका थिए । त्यसमा आफू पनि निर्णायक बनेर सभामुखले अधिकारीलाई मत दिलाएका हुन् ।

नेपाली कांग्रेसका २७ सांसदले विपक्षमा मतदान गरे भने राप्रपाका २ जना तटस्थ बसेका थिए ।

सभामुखले ३० लाई नै बहुमत मानेर विश्वासको मत प्राप्त गरेको घोषणा गरेपछि नेपाली कांग्रेसले नाराबाजी गरेका छन् । सभामुखले असंवैधानिक रुपमा ६० सदस्यीय गण्डकी प्रदेश सभामा ३० जनालाई बहुमत मानेर विश्वासको मत दिलाएको भन्दै कांग्रेसले फेरि सर्वोच्च जाने चेतावनीसमेत दिएको छ ।

गत चैत २५ गते सभामुख धिताललाई समेत गणना गरेर मुख्यमन्त्री नियुक्त भएका अधिकारीले विश्वासको मत लिँदा पनि सभामुखलाई प्रयोग गरेका छन् । ६० सदस्यीय प्रदेश सभामा ३१ जना बहुमत पुग्नुपर्ने संवैधानिक व्यवस्था नै छ ।

संविधानको धारा १६८ (४) मा प्रदेश सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतले विश्वासको मतसम्बन्धी प्रस्ताव पारित हुन नसकेमा मुख्यमन्त्री आफ्नो पदबाट मुक्त हुने व्यवस्था छ । तर, ६० सदस्यीय गण्डकी सभामा बराबर नै नहुने र ३० नै बहुमत हुने सत्तारुढ दलहरुको तर्कअनुसार सभामुख प्रयोग भएर अधिकारीलाई विश्वासको मत दिलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?