+
+

पञ्चा सिंहसहित ५ जनाविरुद्ध मुद्दा नचलाउने सरकारी वकिलको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २४ गते १२:३०

२४ वैशाख, काठमाडौं । सत्तारुढ माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध मुद्दा नचलाउने निर्णय सरकारी वकिलले गरेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, सुर्खेतले उनीसहित ५ जनाविरुद्ध मुद्दा चलाउन पर्याप्त प्रमाण नभएको भन्दै मुद्दा नचलाउने निर्णय गरेको हो । निर्णयअनुसार सिंहसहित गुराँस भन्ने बालकृष्ण सिंह, टंकबहादुर सिंह, सुवास भन्ने वीरबहादुर मल्ल, अशोक भन्ने अली कार्कीविरुद्ध मुद्दा नचल्ने भएको हो ।

अनुसन्धानको क्रममा बुझिएको प्रमाणका आधारमा मुद्दा चलाउनुपर्ने आधारहरु नदेखिएकाले यो निर्णय गरिएको सहायक जिल्ला न्यायाधिवक्ता प्रेम भण्डारीले पुष्टि गरे । ‘पुरक जाहेरीमा उल्लेख भएकामध्ये टाइगर भनिने पदमबहादुर रावत र नरेश सिंह भन्ने मेहरमान सिंहविरुद्ध चाहिँ १८ वैशाखमा मुद्दा दायर भएको छ’, उनले भने ।

उच्च सरकारी वकिलको कार्यालयका सहन्यायाधिवक्ता रुद्रप्रसाद पन्थीले पनि मुद्दा नचलाउने निर्णय सदर गरिदिन भन्दै पत्राचार भएको बताए । ‘अध्ययनपछि महान्यायाधिवक्ताको कार्यालयमा फाइल पठाइसकेका छौं, त्यहीँबाट थप निर्णय हुनेछ’, उनले भने ।

कालिकोटमा २६ फागुन २०६५ मा राजबहादुर मल्ल खुकुरी प्रहार गरी हत्या भएको थियो । यो प्रकरणमा १५ वर्षपछि अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहसहित ६ जनालाई पक्राउ गर्न जिल्ला अदालत सुर्खेतले पक्राउ पूर्जी जारी गरेको थियो ।

प्रहरीले यसअघि जिल्ला अदालतबाट २०७९ मा पनि उनीहरुविरुद्ध पक्राउ पुर्जी लिएको थियो । १३ साउन २०७९ मा सिंहसहितका व्यक्तिहरु हत्यामा संलग्न रहेको भन्दै जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा पुरक जाहेरी दर्ता भएको थियो ।

के हो घटना ?

कालीकोटका राजबहादुर सुर्खेतको जन उच्च माविमा कक्षा ११ मा पढ्दै आएका थिए । कालीकोटकै पाखास्थित विद्यालयबाट एसएलसीमा प्रथम भएका उनी उच्च शिक्षा अध्ययनका लागि सुर्खेत झरेका थिए ।

मृतकका बुवा नन्दबहादुर मल्लका अनुसार विद्यार्थी राजनीतिमा सक्रिय रहेका राजबहादुर स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का सचिव थिए । स्ववियु सचिव हुँदा माओवादी निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरूसँग उनको विवाद बढेको थियो ।

गाउँमा आफूसँगै ६–७ कक्षा पढेर माओवादी बनेकाहरू एकाएक भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर उच्च शिक्षाका लागि भर्ना भएको भन्दै राजबहादुरले त्यसको विरोध गरेको बुवा नन्दबहादुर बताउँछन् ।

‘त्यही विवादले नै मेरो छोराको ज्यान लियो । नत्र बाटोमा हिँड्दै गरेको एउटा केटालाई खुकुरीले हानेर मार्नुपर्ने त्यस्तो के अपराध गरेको थियो र मेरो छोराले ?’ नन्दबहादुर प्रश्न गर्छन् ।

राजबहादुरको २०६५ फागुन २६ गते बेलुका बेलुका ८ बजेतिर सुर्खेत बसपार्कमा खाना खाएर कोठातर्फ जाँदै गर्दा बाटोमै आक्रमण भएको थियो । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका राजबहादुरको सुर्खेत वीरेन्द्रनगरको बुद्धपथस्थित देउती अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?