+
+

बैंकहरू नै चलाउन दिँदैनन् दृष्टिविहीनलाई मोबाइल बैंकिङ

‘आफ्नो खाताको रकम आफैंले झिक्नसमेत अरूको हस्ताक्षर चाहिने भएपछि हाम्रो खाता कसरी सुरक्षित हुन्छ ?,’ दृष्टिविहीन सञ्चिताका श्रीमान् सरोजले गुनासो गरे । सरोज आफैं पनि दृष्टिविहीन हुन् ।

विजय पराजुली विजय पराजुली
२०८१ वैशाख २५ गते १९:३४

२५ वैशाख, काठमाडौं । तनहुँकी सञ्चिता पाण्डे श्रीमान् सरोज भट्टराईसहित प्राइम कमर्सियल बैंकको थानकोट शाखा पुगिन् । दृष्टिविहीन भए पनि खुला प्रतिस्पर्धाबाट शिक्षक सेवा आयोगमा नाम निकालेपछि उनको नियुक्ति सिन्धुली फिकल गाउँपालिका–२ को कालिका प्राविमा भयो ।

शिक्षकको तलब खाता खोल्नुपर्ने भयो प्राइम बैंकमा । त्यसका लागि उनी काठमाडौं थानकोटस्थित बैंकको शाखा कार्यालय पुगिन् ।

उनले बैंकको प्रक्रियाअनुसार खाता खोलिन् भने मोबाइल बैंकिङ सुविधा पनि मागिन् । दृष्टिविहीन भएका कारण बैंकले उनीहरूलाई मोबाइल बैंकिङ सुविधा दिन आनाकानी गर्‍यो । उनले आफू मोबाइल बैंकिङ सेवा प्रयोग गर्न सक्षम रहेको दाबी गरेपछि बैंकका शाखा प्रबन्धकले त्यसको यकिन पनि गरे ।

तर, बैंकले उनलाई मोबाइल बैंकिङ सुविधा दिएन । ‘सञ्चिताको साथमा म पनि सँगै गएको थिएँ । उहाँले मोबाइल बैंकिङ प्रयोग गर्न सक्ने यकिन गर्न आग्रह गरेपछि प्रयोग गरेर समेत देखायौं,’ सञ्चिताका श्रीमान् सरोजले अनलाइनखबरसँग भने, ‘दृष्टिविहीनलाई डिजिटल बैंकिङ सेवा दिँदा दुरुपयोग हुन्छ भन्ने कुरा गर्नुभयो । हामीले मोबाइल बैंकिङ चलाउने सिस्टम नै फरक छ भनेर प्रयोग गर्न सक्ने यकिन गरेर पनि हामीलाई उक्त सुविधा दिनुभएन ।’ सरोज आफैं पनि दृष्टिविहीन हुन् ।

बैंकले खाता खोल्ने व्यक्तिको साक्षी राख्नुपर्ने बताएको सरोजको भनाइ छ । त्यसपछि जुन मोबाइल नम्बरमा मोबाइल बैंकिङ रजिस्टर गर्न खोजेको हो, त्यसमा रजिस्टर हुने जवाफ बैंकले दियो ।

यस्तोमा नगद झिक्न चेकमा हस्ताक्षर गर्ने साक्षीको मात्रै योग्य हुने र दृष्टिविहीनले आफ्नो हस्ताक्षरमा रकम झिक्न नपाउने जवाफसमेत बैंकले दिएको उनले गुनासो गरे ।

‘आफ्नो खाताको रकम आफैंले झिक्नसमेत अरूको हस्ताक्षर चाहिने भएपछि हाम्रो खाता कसरी सुरक्षित हुन्छ ?,’ उनले गुनासो गरे ।

बैंकका कानुन हेर्ने अधिकृतले भने खाता नै खोल्न नमिल्ने भन्दै बन्द गरिदिने चेतावनी दिएको उनले बताए ।

‘उहाँले खातासमेत खोल्न नमिल्ने, तर शाखा प्रबन्धकले थाहा नभएर खाता खोलिदिएको भन्दै खातामार्फत बैंकिङ कारोबार गर्न मिल्दैन भन्नुभयो,’ उनले भने ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार आफूले बैंकको शाखा प्रबन्धक अगाडि नै मोबाइल बैंकिङ चलाउन सक्षम रहेको यकिन गराएको भए पनि बैंकले भने आफूलाई बैंकिङ सुविधाबाट वञ्चित गरेको सरोज र सञ्चिताले गुनासो गरे।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशिकाको निर्देशन नम्बर २० मा वित्तीय ग्राहक संरक्षण तथा वित्तीय साक्षरता सम्बन्धी व्यवस्थाले पनि चलाउन सक्ने यकिन गरेर मोबाइल बैंकिङ सुविधा दिनुपर्ने व्यवस्था छ ।

‘बैंक तथा वित्तीय संस्थाले अपाङ्‍गता भएका व्यक्तिलाई एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङजस्ता वित्तीय सेवा व्यक्ति स्वयंले उक्त सेवा उपयोग गर्न सक्षम रहेको यकिन गरी उपलब्ध गराउनुपर्ने छ,’ राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिकामा छ ।

यता, प्राइम बैंकले भने स्पष्ट कानुनी व्यवस्था नहुँदा मोबाइल बैंकिङ सुविधा दिन नसकिएको जनाएको छ । बैंकका कानुन विज्ञ राजकुमार कार्की देवानी कार्यविधि संहिताअनुसार सम्बन्धित साक्षी चाहिने व्यवस्था रहेको बताउँछन् ।

राष्ट्र बैंकले सम्बन्धित व्यक्तिले स्वयं चलाउन सक्ने यकिन गरेर मोबाइल बैंकिङ सेवा दिन सक्ने भए पनि उक्त सेवाबाट ग्राहकलाई कुनै हानि भए त्यसको जिम्मा बैंकले नै लिनुपर्ने भएका कारण बैंकलाई पनि समस्या हुने उनले बताए ।

देवानी कार्यविधि संहिता दफा ३५ मा विशेष अवस्थामा रहेका व्यक्तिका तर्फबाट लिखत गर्दा संरक्षक अनिवार्य गरेको छ । सोही व्यवस्था अनुसार संरक्षकविना लिखत गर्न नमिल्ने भएकाले बैंक खाता र मोबाइल बैंकिङमा अनिवार्य संरक्षक चाहिने प्राइमका कानुनी विज्ञ कार्की बताउँछन् ।

‘यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि दृष्टिविहीन वा बोल्न नसक्ने व्यक्तिका तर्फबाट कुनै लिखत गराउँदा त्यस्तो व्यक्तिको संरक्षक वा माथवर भए निजलाई समेत रोहबरमा राखी निजले व्यक्त वा संकेत गरेबमोजिम लिखत तयार गरी त्यस्तो लिखतमा संरक्षक वा माथवरको समेत सहीछाप गराउनुपर्ने छ,’ मुलुकी देवानी कार्यविधि संहिता दफा ३५ को (१) मा छ ।

सोहीअनुसार राष्ट्र बैंकको निर्देशनमा भएको व्यवस्था र मुलुकी देवानी कार्यविधि संहिताको व्यवस्था अध्ययन गरिरहेको उनले बताए ।

सोहीकारण बैंकले सञ्चितालाई मोबाइल बैंकिङ सुविधा दिन नसकेको र राष्ट्र बैंकले स्पष्ट व्यवस्था गरेको खण्डमा बैंकलाई सेवा दिन समस्या नहुने कार्कीले बताए ।

राष्ट्र बैंक प्रवक्ता डा. गुणाकर भट्ट वित्तीय सेवा प्रवाह गर्दा वर्ग, जाती, क्षेत्र तथा शारीरिक अवस्थाका कारण छुट्याउन नमिल्ने बताउँछन् ।

‘राष्ट्र बैंकको निर्देशनभित्र रहेर बैंक तथा वित्तीय संस्थाले वित्तीय सेवा प्रवाह गर्नुपर्ने हुन्छ,’ भट्टले भने, ‘वित्तीय सेवा प्रवाह गर्दा वर्ग, जाति, क्षेत्र तथा शारिरिक अवस्थाका कारणले छुट्याउन मिल्दैन ।

राष्ट्र बैंकले निर्देशिका मार्फत बैंक तथा वित्तीय संस्थाले अपाङ्गगता भएका व्यक्तिलाई एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङजस्ता वित्तीय सेवा व्यक्ति स्वयंले उक्त सेवा उपयोग गर्न सक्षम रहेको यकिन गरी उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको उनले बताए ।

यदि कुनै वित्तीय ग्राहकलाई समस्या परेको अवस्थामा राष्ट्र बैंकको गुनासो सुनुवाइ इकाइमा गुनासो गर्न पनि सकिने उनले बताए ।

लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?