+
+

माओवादी केन्द्रको मधेश प्रदेश सम्मेलनको तयारी बैठक जगत यादव समूहबाट बहिष्कार

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २६ गते ८:१३

२६ वैशाख, जनकपुरधाम । नेकपा माओवादी केन्द्रको मधेश प्रदेश सम्मेलनको तयारीका लागि महोत्तरीमा बसेको बैठक असन्तुष्ट केन्द्रीय सदस्य सहितका नेताहरुले बहिष्कार गरेका छन् ।

मधेश प्रदेश इन्चार्ज लिलामणि पोखरेलले कार्यविभाजनमा एकलौटी गरेको आरोप लगाउँदै उनीहरुले बैठक बहिष्कार गरेका हुन् ।

मंगलबार महोत्तरीको बर्दिबासस्थित पञ्चधुरा पार्टी प्यालेसमा महासचिव देव गुरुङको प्रमुख आतिथ्य तथा इन्चार्ज पोखरेलको अध्यक्षतामा प्रदेश सम्मेलन तयारीका लागि बैठक बसेको थियो ।

५५ जना केन्द्रीय सदस्य एवं वैकल्पिक सदस्यहरू र सल्लाहकार तथा आयोग सदस्यहरूको बैठकमा आधाभन्दा बढीले नगएर बहिस्कार गरेको केन्द्रीय सदस्य जगत यादवले दावी गरे ।‘बैठकमा आधाभन्दा बढी केन्द्रीय सदस्यहरु पुगेकै थिएनन्’ उनले भने ।

आफू पनि बैठकमा नगएको नेता यादवले बताए । तर, अर्का केन्द्रीय सदस्य श्रवण यादव बरबरिया (जीवन)ले भने १०/१२ जना केन्द्रीय सदस्यसहितका नेताहरु मात्र बैठकमा अनुपस्थित भएको बताए ।

केन्द्रीय सदस्य जगत यादवका अनुसार कार्यविभाजनको लागि वैशाख ३ गते बैठकका लागि सूचना जारी गरिएको थियो । तर प्रदेश इन्चार्ज पोखरेलले चैत ३० गते नै एकलौटी ढंगबाट कार्यविभाजन गरेको आरोप उनले लगाए ।

‘वैशाख ३ गते बैठक बसेर कार्यविभाजन गर्ने मोबाइलमा सूचना आयो । तर चैत ३० गते नै एकलौटी ढंगले जुनियरलाई पनि जिल्ला इन्चार्ज र सिनियरलाई पनि क्षेत्रीय इन्चार्जको जिम्मेवारी तोक्नु भएको छ । सिनियरलाई अपमानित गर्ने काम भयो,’ यादवले भने, ‘त्यो एकलौटी निर्णय मान्य हुन्न । यदि निर्णय सच्याइएन भने कुनै जिल्लामा बैठक हुन दिँदैनौं ।’

उनका अनुसार चैत १८ गते प्रधानमन्त्री निवास बालुवाटारमा मधेश प्रदेशका केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, सल्लाहकार र आयोगका सदस्यहरूको बैठक बसेको थियो । सो बैठकमा प्रदेश इन्चार्ज पोखरेलले १५ वटा लिखित प्रस्ताव पेश गरेका थिए । त्यसपछि चैत २९ गते बैठक बोलाइएको थियो । तर स्थगित भएर वैशाख ३० गतेको लागि बैठक डाकिएको थियो ।

पार्टीको मधेश प्रदेश समिति निर्माण गर्न मधेश प्रदेशमा कार्यक्षेत्र रहेका पूर्ण र वैकल्पिक केन्द्रीय सदस्य रहने गरी मधेश प्रदेश सम्मेलन आयोजक समिति गठन गरिएको छ । आयोजक समितिको इन्चार्ज पोखरले आफैं छन् । यस्तै जिल्ला इन्चार्ज र जनवर्गाीय संगठनहरुको जिम्मेवारी तोकिएको छ ।

अगामी भदौ महिनाभित्र प्रदेश सम्मेलन गर्ने तयारी अनुसार बैठकहरु हुँदै आएका छन् । सोही तयारी अन्तर्गत मंगलबार महोत्तरीमा बैठक थियो । केन्द्रीय सदस्य बररियाले महोत्तरी र सप्तरी जिल्लामा मात्र पार्टीमा सामान्य विवाद रहेको तर अन्त नभएको जिकीर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?