News Summary
Generated by OK AI. Editorially reviewed.- मधेश प्रदेशमा मनसुन सक्रिय भए पनि असार १२ गतेसम्म कुल धान खेती हुने क्षेत्रफलको जम्मा ४.३६ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको छ ।
- महोत्तरीमा ८.१७ प्रतिशत रोपाइँ भई प्रदेशमै बढी प्रगति देखिएको छ भने पर्सा र रौतहटमा चैते धान नकाटेका कारण रोपाइँ सुरु हुन सकेको छैन ।
- भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी यज्ञ ज्ञवालीले आगामी दिनमा वर्षा बढेसँगै धान रोपाइँले थप गति लिने बताउनुभयो ।
१५ असार, जनकपुरधाम । मधेश प्रदेशमा मनसुन सक्रिय भए पनि धान रोपाइँले अपेक्षित गति लिन सकेको छैन । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार असार १२ गतेसम्म प्रदेशमा कुल धान रोपाइँ हुने क्षेत्रफलको ४.३६ प्रतिशत रोपाइँ भएको छ ।
मन्त्रालयका सूचना अधिकारी यज्ञ ज्ञावालीका अनुसार असरा १२ गतेसम्म १६ हजार ९११ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ ।
मधेश प्रदेशमा कुल ५ लाख ४९ हजार ३५६.३८ हेक्टर खेतीयोग्य जमिनमध्ये ३ लाख ८७ हजार ९३३ हेक्टर क्षेत्रमा धान खेती हुने अनुमान गरिएको छ ।
जिल्लागत रूपमा हालसम्म महोत्तरीमा सबैभन्दा बढी ८.१७ प्रतिशत धान रोपाइँ भएको छ । त्यहाँ ४० हजार हेक्टर धान खेती हुने क्षेत्रमध्ये ३ हजार २६६ हेक्टरमा रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।त्यसपछि धनुषा र बारामा समान ७–७ प्रतिशत प्रगति भएको छ । धनुषामा ४३ हजार ७ सय हेक्टरमध्ये ३ हजार ५९ हेक्टर तथा बारामा ४५ हजार १ सय हेक्टरमध्ये ३ हजार २ सय ५० हेक्टर क्षेत्रमा रोपाइँ भएको छ ।
सिराहा र सप्तरीमा समान ५ प्रतिशत रोपाइँ भएको छ । सिराहामा ५४ हजार हेक्टरमध्ये २ हजार ७ सय हेक्टर तथा सप्तरीमा ६८ हजार हेक्टरमध्ये ३ हजार ४ सय हेक्टरमा धान रोपिएको तथ्यांक छ ।
यस्तै सर्लाहीमा ४२ हजार ६ सय १५ हेक्टर धान क्षेत्रमध्ये १ हजार ३६ हेक्टरमा मात्रै रोपाइँ सम्पन्न भई २.५ प्रतिशत प्रगति भएको छ ।
यता पर्सा र रौतहटमा भने हालसम्म धान रोपाइँ सुरु नै हुन नसकेको सूचना अधिकारी ज्ञवालीले बताए । चैते धान नकाटेकोले त्यता तपर रोपाइँ हुन नसकेको सूचना अधिकारी ज्ञवालीको भनाइ छ ।
मन्त्रालयका अनुसार पर्सामा ५२ हजार ३ सय ३८ हेक्टर र रौतहटमा ३५ हजार हेक्टर क्षेत्रमा धान खेती हुने गरेको छ । ‘पानी परिरहेको र जलवायु परिवर्तनको हिसाबले अहिलेसम्मको रोपाइलाई अपेक्षित मान्न सकिन्छ’ सूचना अधिकारी ज्ञवालीले भने, ‘अहिलेको वर्षाले रोपाइँले गति लिन्छ ।’
प्रतिक्रिया 4