+
+

बडिगाड गाउँपालिकाले ग्रिन हाइड्रोजन उत्पादन गर्ने

रासस रासस
२०८१ वैशाख २६ गते १४:४३
Photo Credit : crowcon

२६ वैशाख, बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाले स्वच्छ ऊर्जा (ग्रिन हाइड्रोजन) उत्पादन गर्ने भएको छ । गाउँपालिकाले खेर गइरहेको पानीलाई सदुपयोग गरी ऊर्जा उत्पादन गर्ने भएको हो ।

ग्रिन हाइड्रोजन उत्पादनका लागि प्रक्रिया अगाडि बढाइएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिइन् । वडा नं २ मा रहेको गिरिङ्दी खोला लघुजलविद्युत् आयोजनाबाट शत्प्रतिशत स्वच्छ ऊर्जा उत्पादन गरिने उनको भनाइ छ ।

ग्रिन हाइड्रोजन उत्पादनका लागि नेपाल इनर्जी फाउन्डेसन, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, इन्भोटेक युके, इन्भेस्टिन ग्रिनलगायत संस्थाहरुसँग सहकार्य गरेको अध्यक्ष अधिकारीले बताइन् । जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादनपछि खेर गएको पानीलाई सदुपयोग गरी हाइड्रोजन उत्पादन गरिने उनले सुनाइन् ।

‘विभिन्न सङ्घसंस्थाहरुसँग सहकार्य गरेर नयाँ कामको सुरुआत गरेका छौँ, अब गिरिङ्गी जलविद्युत् आयोजनामा हाइड्रोजन प्लान्ट निर्माण गरिनेछ,’ उनले भनिन्, ‘अहिले आवश्यक उपकरण, प्लान्ट ल्याउने काम हुँदैछ, योजनाअनुसार काम सम्पन्न भएमा सन् २०२४ भित्रै हाइड्रोजन उत्पादनको काम सम्पन्न हुनेछ ।’

ग्रिन हाइड्रो उत्पादनपछि सुरुआतमा गिरिङ्दी खोलाका उपभोक्तालाई चुल्हो र सिलिन्डर वितरण गरी यसको प्रयोगमा ल्याइने त्यसपछि सबैतिरै विस्तार गर्ने गाउँपालिकाको योजना छ ।

गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले पछिल्लो समय बढ्दो जलवायु परिवर्तनका विभिन्न असर पर्दै गएको हुँदा गाउँपालिकाले शत्प्रतिशत स्वच्छ ऊर्जा मानिने ग्रिन हाइड्रोजनको उत्पादन गरी र प्रयोग बढाउने बताए । अन्य ऊर्जाको तुलनामा सुरक्षित, वातावरणीय पर्यावरणलाई समेत असर नगर्ने हाइड्रोजन एलपी ग्यासको तुलनामा सस्तोसमेत हुने उनको भनाइ छ । उत्पादित हाइड्रोजनलाई सिलिन्डरमार्फत उपभोक्तालाई घरघरमा वितरण गरिने उपाध्यक्ष वनले जानकारी दिए ।

हाइड्रोजन उत्पादन गर्ने लक्ष्यका साथ मंगलबार बडिगाड-२, खर्बाङमा हाइड्रोजनद्वारा खाना पकाउने प्रविधिबारे प्रदर्शन गरिएको थियो । हाइड्रोजनको महत्व र यसको व्यावसायिक उपयोगिताबारे जानकारी दिने उद्देश्यले परीक्षणका रुपमा काठमाडौँबाट ल्याइएको हाइड्रोजनबाट खाना पकाएर नमूना प्रदर्शन गरिएको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?