+
+
स्पेनका लागि नेपाली राजदूत डा.शर्मिला पराजुलीसँग अन्तर्वार्ता :

‘प्रविधि स्पेनले दिन्छ, ग्रिन हाइड्रोजन उत्पादनमा अब ढिला नगरौं’

ग्रिन हाइड्रोजनको मुख्य स्रोत पानी र बिजुली हो । जुन हामीसँग पर्याप्त छ  । अहिले गरेनौं भने पछि त्यो धेरै ढिला हुनेछ । स्पेन ग्रिन हाइड्रोजन उत्पादनमा धेरै अघि बढिसकेको छ । लगानी सम्मेलनमा स्पेनका ती कम्पनीका उच्च पदस्थ प्रतिनिधिहरुलाई उपस्थिति गराउने प्रयास गर्नेछौं ।

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २ गते ९:१३

२ फागुन, बार्सिलोना । स्पेनका लागि नेपाली राजदूत डा. शर्मिला पराजुली ढकालले ग्रिन हाइड्रोजन उत्पादनमा नेपालले अब ढिला गर्न नहुने बताएकी छिन् । विश्वमा विभिन्न मुलुकहरुले ग्रिन हाइड्रोजन उत्पादनको अभ्यास थालिसकेको भन्दै नेपालले अब ढिला गर्न नहुने उनले जोड दिइन् ।

‘ग्रिन हाइड्रोजनको मुख्य स्रोत पानी र बिजुली हो । जुन नेपालमा पर्याप्त मात्रामा छ । अहिले गरेनौं भने पछि त्यो धेरै ढिला हुनेछ,’ राजदूत डा. पराजुलीले भनिन् , ‘स्पेन ग्रिन हाइड्रोजन उत्पादनमा धेरै अघि बढिसकेको छ । आगामी वैशाख दोस्रो सातामा हुने लगानी सम्मेलनमा स्पेनीस कम्पनीका उच्च पदस्थ प्रतिनिधिहरुलाई उपस्थिति गराउने प्रयास गर्नेछौ ।’

स्पेनमा ग्रिन हाइड्रोजन बनाउने पाँच वटा मुख्य कम्पनीहरुसँग आफ्नो कुराकानी भइरहेको भन्दै उनले लगानी सम्मेलनका लागि दूतावासले तयारी थालिसकेको बताइन् । ‘सरकारीस्तरबाटै ग्रिन हाइड्रोजनको महत्वबारे बेलैमा बुझ्न जरुरी छ । हामी बिजुली बनाउँछौं । त्यो बाहिर बेच्छौं,’ राजदूत पराजुलीको तर्क छ, ‘ग्रिन हाइड्रोजन इनर्जीको रुपमा, एमोनियाको रुपमा बाहिरबाट किनेर ल्याऔं भने त्योभन्दा ठूलो मुर्खता अरु के हुन्छ र ? त्यसैले जुन चिज हामीसँग छ । त्यसैमा नै जोड दिनुपर्छ ।’

प्रस्तुत छ, राजदूत डा. पराजुलीसँग अनलाइनखबरकर्मी वसन्त रानाभाटले लिएको अन्तर्वार्ताको सम्पादित अंश :

राज्यकोषबाट बर्सेनि करौंडौ खर्च गरेर खोलिएका दूतावासले उचित प्रतिफल लिन नसकेको भन्दै कतिपयले आलोचना गर्दै आएका छन् । नयाँ दूतावासहरुमा काम गरेको तपाईंसँग अनुभव पनि छ । वास्तवमा आलोचना सही हुन् कि गलत ?

स्वभाविक रुपमा कुनै पनि मुलुकमा दूतावास खोलेपछि त्यसको औचित्य के-छ ? भनेर उहाँहरुले प्रश्न गर्नु, चासो राख्नुलाई अन्यथा लिनु हुँदैन । कुन क्षेत्रमा सरकारले लगानी गरिरहेको छ । त्यसलाई हेर्नु पनि पर्छ । त्यसको प्रतिफल आएको छ कि छैन भनेर चासो राख्नुलाई स्वभाविक रुपमा लिनुपर्छ ।

स्पेनमा राजदूतावास खोलेर काम थालेको ६ वर्ष बितिसक्यो । मुलुकले अहिलेसम्म के प्रतिफल प्राप्त गर्‍यो त ?

अहिले फर्केर हेर्दा मलाईचाहिं स्पेनमा दूतावास खोल्न ढिला गर्‍यौं भन्ने लागेको छ । अझ पहिले नै, यो स्तरको सम्बन्ध हुनुपर्थ्यो जस्तो लाग्छ । आर्थिक कूटनीति, पर्यटन, व्यापार तथा लगानी प्रवर्धनका क्षेत्रमा दुई देशबीच प्रशस्त सम्भावना देखेका छौं । नेपालका लागि राम्रो पार्टनर कन्ट्री हुनसक्छ । दूतावास त सधैं एउटा पुलको भूमिकामा रहन्छ । दुई मुलुकलाई जोड्ने काममा सधैं सक्रिय रहन्छ । अझ भनौं बिजनेस टू बिजनेस एजेन्सीहरुलाई एक ठाउँमा मिलाइदिने बातावरण बनाइदिनुपर्छ । मैले नियुक्ति पाएको डेढ वर्ष पूरा भएको छ । पहिलो वर्षमा १५ वटा जति कार्यक्रमहरु गर्‍यौं। दुई मुलुकलाई बलियोसँग जोड्न भूमिका खेलेको छ भन्ने ठानेका छौ।

आगामी वर्ष २०८१ सालको वैशाख दोस्रो सातामा चौथो लगानी सम्मेलनको तयारीमा सरकार जुटेको छ । दूतावासहरुले के – कस्तो तयारी थालेका छन् ?

परराष्ट्र उद्योग, अर्थ मन्त्रालयलगायत लगानी बोर्डका प्रतिनिधिसँगै हालसालै वेभ मिटिंग सम्पन्न भयो। देशमा लगानी भित्राउने  वातावरण र पहल गर्न उहाँहरुले जोड दिनुभएको थियो । प्राथमिक योजनाहरु के -के छन् ?  त्यसको वेट गरिरहेका छौं । कतिपय प्रोजेक्टहरु आफैंलाई पनि थाहा भएको हुँदा त्यसमा गृहकार्य गरिरहेका छौं । जस्तो पूर्व -पश्चिम  विद्युतीय रेलमार्ग प्रोजेक्ट । मेट्रो योजना । त्यो आधारमा तयारी गरिरहेका छौं ।

अर्को महत्वपूर्ण विषय के- छ भने हामीसँग विद्युत छ। उत्पादन पनि हुँदैछ । भर्खरै मित्रराष्ट्र भारतसँग पनि १० हजार मेगावाट बिक्री गर्ने सम्झौता पनि भयो । अन्य देशसँग पनि कुरा चलिरहेको छ । भनेपछि हामीसँग अतिरिक्त विद्युत (एक्सिस इलेक्ट्रीसिटी) त छ । त्यसमा भ्यालु एड गरेर बेच्यौं भने इनर्जी इकोनोमी एकदमै राम्रो हुन्छ । उदाहरणका लागि हामीले ग्रिन हाइड्रोजन बनाउन सक्छौं । निर्यात गर्न सक्छौं । हामीले एमोनिया बनाउन सक्छौं ।

नेपालमा ग्रिन हाइड्रोजन उत्पादन र निर्यातको सम्भावना कस्तो छ ? स्पेनबाट के सिक्न सक्छौं ?

स्पेनका अर्थमन्त्री कार्लोस क्युरपोसँग र स्पेनको आन्तरिक मन्त्रालयको अन्तर्राष्ट्रिय सम्बन्धको महानिर्देशक एलेना गार्जोन ओतामेन्डीसँग (बायाँ) राजदूत पराजुली ।

ग्रिन हाइड्रोजनको  (हरित ऊर्जा) यसको मुख्य स्रोत पानी र बिजुली हो, जुन नेपालमा पर्याप्त मात्रामा छ । विश्वमा विभिन्न मुलुकहरुले ग्रिन हाइड्रोजन उत्पादनको अभ्यास गर्न पनि थालिसकेका छन् । म ओमानमा कार्यरत रहँदा पनि जर्मनी, अष्ट्रेलिया, जापान जस्ता देशका कम्पनीसँग नजिकमा रहेर ग्रिन हाइड्रोजनको विषयमा नियालिरहेकी थिएँ ।

यो विषयमा सम्मानीय प्रधानमन्त्रीलाई पनि अवगत नै छ । पूर्वप्रधानमन्त्रीज्यूलाई थाहा छ । सबै स्रोत छ भने हाइड्रोजन इकोनोमीको देश किन नबनाउने ?  सरकारी स्तरबाटै यसको महत्वबारे बेलैमा बुझ्न जरुरी छ । हामी बिजुली बनाउँछौं । त्यो बाहिर बेच्छौं । तर, हाइड्रोजन बाहिरबाट किनेर ल्याऔँ भने त्योभन्दा ठूलो मुर्खता अरु के हुन्छ र ? जुन चिज हामीसँग छ । त्यसैमा नै जोड दिनुपर्छ । अहिले गरेनौं भने पछि त्यो धेरै ढिला हुनेछ । स्पेन ग्रिन हाइड्रोजन उत्पादनमा धेरै अघि बढिसकेको छ । स्पेनमा हाइड्रोजन बनाउने ५ वटा मुख्य कम्पनीहरुसँग हाम्रो कुराकानी भइरहेको छ ।

रेप्सोल, इभरडोला, न्याटरजी लगायतका कम्पनीका प्रतिनिधिहरुसँग भेटेर मैले निरन्तर छलफल पनि गरिरहेकी छु ।

त्यसो भए ग्रिन हाइड्रोजन उत्पादन गरिरहेका स्पेनिस कम्पनीका प्रतिनिधिहरुको लगानी सम्मेलनमा उपस्थिति रहन्छ त

यो लगानी सम्मेलनमा स्पेनबाट ग्रिन हाइड्रोजन बनाउने कम्पनीको उपस्थिति गराउने मेरो प्रयास रहने छ । यस विषयमा छलफल भइरहेको छ । टेक्नोलोजी दिने कुराहरुमा उहाँहरु सहमत हुनुहुन्छ । त्यो त हाम्रो लागि राम्रो कुरा हो । हामीलाई त टेक्नोलोजी नै हो चाहिएको नै हो । विशेष त आधारभूत पूर्वाधारका विषयमा जान्न जरुरी छ । यदि नेपालमा भित्राएर हाइड्रोजन बनाउन सुरु गर्‍यौं भने मैले ठूलो उपलब्धि ठान्नेछु ।

स्पेनस्थित क्याटलोनियाको क्षेत्रीय सरकारसँग पनि लगानी सम्मेलनबारे कुराकानी भएको हो ?

क्याटलोनियामा पनि यहाँस्थित चेम्बर्स अफ कर्मससँग कुराकानी गर्‍यौं । यहाँका कम्पनीहरुलाई लगानी सम्मेलन सहभागिता गराउने लगायतका विषयमा छलफल केन्द्रित रह्यो । उहाँहरुले छिट्टै नै टप ५० कम्पनीहरुलाई बोलाएर कार्यक्रम राख्दै हुनुहुन्छ । हामी पुन: बार्सिलोनामा नै आएर नेपालमा लगानीको वातावरण र अवसरका बारेमा जानकारी दिने छौं ।

क्याटलोनिया क्षेत्रीय सरकारका परराष्ट्र अधिकारीहरुसँग पनि छलफल गर्‍यौं। बार्सिलोना नगरपालिकामा पनि हाम्रो कुराकानी भयो । नेपालका विभिन्न नगरपालिकासँग भगिनी सम्बन्ध बनाउन उहाँहरु इच्छुक हुनुहुन्छ।

स्पेनले त बर्सेनि झण्डै ९ करोड पर्यटकहरु भित्राउने गरेको छ । यहाँबाट नेपाल घुम्ने स्पेनी पर्यटकको संख्या १५ हजारको हाराहारीमा देखिन्छ। स्पेनमा दूतावास खोलेपछि त त्यो संख्या ह्वात्तै बढ्ला भन्ने थियो। तर दोब्बर बनाउन पनि सकिएन नि ?

तपाईंले राम्रो प्रश्न गर्नुभयो । प्रि-कोभिडको तथ्याङ्क हेर्नुहुन्छ भने बर्सेनि लगभग १९ हजारसम्म पुगेको देखिन्छ । दूतावासमा आएर काम सम्हालेपछि मैले पनि विभिन्न क्षेत्रहरु मध्ये पर्यटनलाई पनि जोड दिएँ । त्यही भएर हामीले घोषणा पनि गर्‍यौं एक लाख पर्यटक बर्सेनि पठाउने भनेर । जसले गर्दा अनुमानित ८० देखि ९० अर्व रुपैयाँको ट्रान्जेक्सन हुँदो रहेछ । त्यसो गर्न सकेमा त मुलुकलाई ठूलो सहयोग पुग्ने थियो।

तर, संख्या त खासै बढ्न सकेन नि

पहिलो कुरा,सरकारले नै पर्यटनलाई केन्द्रविन्दुमा राख्नुपर्छ । मैले दूतावासको मात्रै कुरा गरिराखेको छैन । मैले समग्र मुलुकको नै कुरा गर्दैछु । एउटा कथन नै छ नि, ‘आफ्नो हातमा फलाम छ भने त्यसलाई नै हिरा मान्नु पर्छ।’ हामीले यहाँबाट मार्केटिङ्ग गर्ने हो । चिनाउने हो । पर्यटकका लागि आधारभूत संरचनाहरु तयार गर्नेतर्फ केन्द्रित हुनुपर्छ । हामी सबैजनाले आ-आफ्नो ठाउँबाट काम गर्‍यौं भने मात्रै रिजल्ट प्राप्त हुने हो ।

स्पेनका राजा फेलिपे छैठौंको बैठकमा सहभागी राजदूत पराजुली ।

एउटा सीमित स्रोत र साधनबाट चलेको दूतावास ।  गत वर्ष हिपोड्रोमोमा ५ हजारको सहभागिता हुने गरी म्याड्रिडमा एक भव्य समारोहबीच घोडा दौड गर्‍यौं । हामीसँग त्यति ठूलो बजेट थिएन । नेपाली समुदायले ठूलो सहयोग गर्नुभयो । राजदूतको इच्छा शक्ति र टीम वर्क त चाहिन्छ नै । तर, त्यसमा सक्रिय सहभागिता पनि जरुरी हुन्छ । म म्याड्रिडस्थित युएनडब्लुटिओका निम्ति पनि जिम्मेवारीमा छु । नेपाल पर्यटन बोर्ड, नेपाल सरकार र युएनडब्लुटिओबीच समन्वय गरेर नै काम गर्दै आएकी छु।

दूतावासका कामहरुमा मन्त्रालय र पर्यटन बोर्डबाट सहयोग प्राप्त भइरहेको छ । नभएको पनि होइन । तर, कतिपय कुराहरुमा पछाडि परेका छौं । गत वर्ष वर्ल्ड टुर अर्गानाइजेसनको जनरल एसेम्लीमा नेपालको सहभागिता भएन । किन भएन ? भनेर प्रश्न गर्दा बजेट कम छ । वा त्यसमा केन्द्रित नभएका हौं कि ?  टुरिजम बोर्डबाट गत वर्ष फितुरमा सहभागिता थियो तर यो पटक भएन । अहिले बी टू बी गर्ने अवसर थियो त्यो गर्न पाइएन ।

भारत, चीन, जापान, अस्ट्रेलिया, पाकिस्तानलगायत एसिया प्रशान्त क्षेत्रका मुलुकहरूको एसियाप्यासिफिक राजदूतहरूको डिन चयन हुनुभएको छ । यसले नेपाललाई कस्तो फाइदा पुग्ला ?

एसिया–प्यासिफिकको ४७ वटा देशहरुमध्ये यहाँ २० वटा देशहरुको राजदूत हुनुहुन्छ । एसिया–प्यासिफिकका क्षेत्रका विषयहरुलाई स्पेन सरकारसँग डिल गर्दा मेरो नेतृत्वलाई उहाँले उचित ठान्नुभयो। ग्रुपको डिनमा सर्वसम्मत चुन्नुभयो ।

डिनको भूमिका पाउनु आफैंमा एउटा गर्वको कुरा हो । सायद मेरो क्षमता र कामप्रति विश्वास गरेर नै उहाँहरुले जिम्मेवारी दिनुभएको होला । भारत, चीनलगायतका छिमेकि राष्ट्रहरु पनि एसिया प्यासिफिक भित्रै हुनुहुन्छ । त्यसैले पनि धेरै हिसाबले फाइदा हुन्छ ।

परिवार पुनःमिलन भिसा प्रक्रियामा झन्झट भएको गुनासो स्पेनका नेपालीले राख्दै आएका छन् । विशेष गरी आफ्ना बा-आमालाई स्पेन बोलाउँदा भिसा नलाग्ने धेरैजसोको समस्या देखिन्छ । त्यसैले अन्य युरोपेली मुलुक हुँदै स्पेन भित्राउनु पर्ने बाध्यता छ नि !

मैले विभिन्न समयमा सम्बन्धित निकायसँग कुराकानी गरिराखेकी छु । अस्ति भर्खर पनि दिल्लीस्थित स्पेनको दूतावास टिमसँग  हाम्रो यो विषयमा अनलाइन कुराकानी भयो । कसलाई भिसा दिने नदिने । त्यो स्पेन सरकारको क्षेत्राधिकारको विषय हो । तर, पनि यहाँका नेपालीका समस्यालाई हामीले जोडदार रुपमा राख्दै आएका छौं । पछिल्लो कुराकानी र भेटवार्ताबाट म निकै आशावादी छु।

स्पेनले काठमाडौंमा आफ्नो दूतावास खोल्ने सम्भावना देख्नुहुन्छ ?

ठ्याक्कै एक महिना पहिला प्रेसिडेन्स अफिसमा मेरो मिटिङ थियो। मैले यो विषयमा पनि कुराकानी गरें । मैले उहाँहरुलाई काठमाडौंमा दूतावास खोल्न अनुरोध गरें । उहाँहरुले काठमाडौंमा दूतावास खोल्नुको औचित्य भेट्टाउनुहुनेछ भनेर आशावादी छौं । दूतावासको सक्रियता बढेकाले उहाँहरुले नेपाललाई छुट्टै किसिमले हेर्न थाल्नुभएको छ । मलाई लाग्छ उहाँहरु एकदमै सकारात्मक हुनुहुन्छ । म्याड्रिड राजदूतावासले पनि यो विषयलाई जोड दिंदै आएको छ ।

स्पेन दूतावासमा अहिले जनशक्ति कम भएको हो ?

अहिले सबैभन्दा बढी हामीलाई कर्मचारीको अभावले नै भएको छ । यो बारेमा हामीले पत्रचार गरिराखेका छौं । अहिले पनि एक जना कर्मचारी नेपालमा नै हुनुहुन्छ । नियोगमा एकजना मात्रै डिप्लोमेटिक स्टाफ हुनुहुन्छ । हामीसँग अहिले पूर्ण टीम नै छैन । स्पेनमा फुलफेजमा काम गर्न जरुरी छ । कन्सुलर सेवा मात्रै होइन् आर्थिक कूटनीतिलाई पनि सक्रिय रुपमा अगाडि बढाउनु हाम्रो दायित्व हो । अहिलेको टीम बाहेक अरु दुई जना डिप्लोमेटिक स्टाफ भयो भने हामीले रफतारमा काम गर्न सक्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?