+
+
Shares

दिदीबहिनी नहुनेले बालगोपालेश्वर मन्दिरमा लगाए भाइटीका

दिदीबहिनी वा दाजुभाइ नहुनेले रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिर दर्शन गरी टीका लगाउने चलन छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ६ गते १७:१५
काठमाडौंको ऐतिहासिक रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाइँदै। तस्वीर: आर्यन धिमाल/अनलाइनखबर।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइले भाइटीका लगाएका छन्।
  • मन्दिरमा पुजारी भेमब कोइरालाले दिउँसोसम्म करिब १५ सय जनाले टीका लगाइसकेको जानकारी दिए।
  • यो मन्दिर वर्षमा एक दिन भाइटीकाको अवसरमा मात्र खोलिने परम्परा छ र टीका लगाइसकेपछि दीर्घायु, आरोग्य र समृद्धिको कामना गरिन्छ।

६ असोज, काठमाडौं। काठमाडौंको ऐतिहासिक रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइले टीका लगाएका छन्। तिहारको प्रमुख भाइटीकाका दिन आज उनीहरूले आपसी माया, स्नेह र आस्थाको पर्व मनाएका हुन्।

भाइटीकाको शुभसाइत बिहान ११ बजेर ३९ मिनेटमा जुरे पनि बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि नै सर्वसाधारणका लागि खोलिएको थियो। मन्दिरमा रहेका पुजारी भेमब कोइरालाले दिउँसोसम्म करिब १५ सय जनाले टीका लगाइसकेको जानकारी दिए।

परम्पराअनुसार यो मन्दिर वर्षमा एक दिन भाइटीकाको अवसरमा मात्र खोलिने गरिन्छ। बिहान सबेरैदेखि दर्शनार्थीहरूको घुइँचो लागेपछि बालगोपालेश्वर मन्दिरमा आज विशेष चहलपहल देखिएको थियो।

दिदीबहिनी वा दाजुभाइ नहुनेले यस मन्दिरमा गएर बालगोपालेश्वरको दर्शन गरी टीका लगाउने चलन छ। यो परम्परा आफ्ना नजिकका दाजुभाइ वा दिदीबहिनी नभएकाले पनि तिहारको मुख्य पर्वको मर्म अनुभव गर्न सकून् भन्ने मान्यताका साथ प्रारम्भ भएको हो।

मन्दिरमा पुगेका भक्तजनहरूले फूल, माला, अक्षता, रङ् र मिठाई चढाई बालगोपालेश्वरको आराधना गर्ने गरेका छन्। यससँगै परम्परागत विधिअनुसार पञ्चरङ्गी र सप्तरङ्गी टीका लगाउने गर्छन्। टीका लगाइसकेपछि श्रद्धालुहरूले एकअर्कालाई शुभकामना साटासाट गर्दै दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्ने गरिन्छ।

भाइटीकाको दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायु र कल्याणको कामना गर्दै टीका लगाउने चलन छ। दाजुभाइले पनि दिदीबहिनीलाई उपहार र आशीर्वाद दिने परम्परा रहिआएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?