+
+

प्रहरीको जागिर छाडेर गाईपालन, दिनमै बेच्छन् १५० लिटर दूध

रासस रासस
२०८१ वैशाख २७ गते १७:५३

२७ वैशाख, दाङ । तुलसीपुर उपमहानगरपालिका –६ गोलौराका ४७ वर्षीय चन्द्रबहादुर डाँगी सफल गाईपालक किसानका रुपमा परिचित छन् ।

उनी उन्नत जातका गाईपालन गरेर आत्मनिर्भर बन्नुका साथै आर्थिक रुपमा सक्षम बन्दै गएका छन् । ‘सबै खर्च कटाएर वार्षिकरुपमा ८ लाख रुपैयाँ बचत गर्न सफल भएको छु’, उनी भन्छन् ।

नेपाल प्रहरीबाट सेवानिवृत्त भएका डाँगी विसं २०५५ मा जाजरकोटको रक्दा इलाका प्रहरी कार्यालयमा प्रहरी सहायक निरीक्षक पदमा कार्यरत थिए । सशस्त्र द्वन्द्वको समयमा नेकपा (माओवादी) ले रक्दामा थापेको एम्बुसमा परी उनी घाइते भएका थिए ।

लामो समयको उपचारपछि बाँचेको बताउने डाँगीले तत्कालीन सरकारले द्वन्द्वमा परी अशक्त, घाइते भएका सुरक्षाकर्मीलाई सेवाबाट अवकाश दिने नीति ल्याएपछि २०५९ सालमा अवकाश लिएका थिए ।

अवकाश पाएलगत्तै रोल्पास्थित आफ्नो घरमा केही समयसम्म उपचार तथा आराम गरी बसेका डाँगी बसाइँ सरेर दाङको तुलसीपुरमा आए । उनले स्वास्थ्यमा सुधार आएपछि तुलसीपुरमा होटल सञ्चालन गरे । घाटा भएपछि होटल व्यवसाय छोडी एक सहकारी संस्थामा जागिर खाए ।

सहकारीमा बचत तथा ऋण प्रवाहमा काम गर्दा कृषि क्षेत्रमा राम्रो सम्भावना रहेको देखेपछि आफूले ०७२ सालदेखि सहारा पशुपालन फर्म खोलेर उन्नत जातको गाईपालन सुरुआत गरेको उनले बताए ।

सुरुका वर्षमा स्थानीय व्यक्तिको दुई बिघा जमिन वार्षिक १२ हजार रुपैयाँ भाडामा लिई एक लाख लगानी गरेर एउटा जर्सी गाईपालन गरेर सुरुआत गरेको बताउने डाँगीकहाँ अहिले चार वटा जर्सी, १० वटा होलेस्टन, एउटा शाहीवाल जातका गरी जम्मा १७ वटा गाई र १० वटा बाच्छाबाच्छी छन् ।

एउटा जर्सी गाईको मूल्य एक लाख, होलेस्टन जातको गाईको मूल्य दुई लाख र साहीवाल जातको गाईको मूल्य एक लाख ५० हजार रुपैयाँ पर्ने डाँगी बताउँछन् । अहिले उनले दैनिक १०० देखि १५० लिटरसम्म दूध तुलसीपुरका डेरीमा बिक्री गर्छन् । केही दूध आफ्नै फर्मबाट स्थानीय वासिन्दाले किन्ने गरेको उनले बताए । उनले दूध प्रतिलिटर १०० मा बिक्री गर्दै आएका छन् ।

डाँगीको फर्ममा अहिलेसम्म २५ लाख रुपैयाँ लगानी भइसकेको छ । दुग्धजन्य पदार्थ र मल बिक्रीबाट वार्षिक १९ देखि २० लाख रुपैयाँसम्म आम्दानी हुने गरेको र सबै खर्च कटाएर आठ लाख बचत हुने गरेको डाँगीले बताए ।

आफूले दुई बिघा जमिन गाइपालनको लागि भाडामा लिए पनि सिँचाइ अभावका कारण घाँसखेती गर्न नसकेको बताए । घाँसको पर्याप्त उत्पादन नहुँदा दाना तथा पराल, चरणलगायत अन्य सामग्री खरिद गर्दा लागत खर्च बढेको पनि डाँगीले बताए ।

‘अहिलेसम्म सरकारी निकायबाट केही प्राविधिक सहयोग त पाएको छु तर अरु आर्थिक सहयोग कुनै निकायबाट पाएको छैन’, डाँगीले भने, ‘चार वर्षअघि तुलसीपुर उपमहानगरपालिकाले उत्कृष्ट गाईपालक किसान भनेर पुरस्कृत गर्‍यो, त्यसबाट थप हौसला मिलेको छ ।’

त्यस्तै कोरोनाका कारण गरिएको बन्दाबन्दीको समयमा आफूले उत्पादन गरेको दूध बजारमा बिक्री नहुँदा केही समस्या भए पनि अहिले भने बजारको कुनै समस्या नभएको डाँगीले बताए ।

छोटो समयमा कम लगानी गरेर मनग्य आम्दानी गर्न सकिने भएकाले फर्ममा विभिन्न ठाउँबाट गाई हेर्न, जानकारी लिन तथा गाई खरिदका लागि मानिस आउने गरेको उनले सुनाए । पढेलेखेकाहरु पैसा कमाउनकै लागि जागिर खानैपर्छ भन्ने

सोच राख्नु गल्ती हुने भनाइ राख्ने डाँगीले साँच्चिकै पढेको कुरा व्यवहारमा लागू गर्ने हो भने कृषि व्यवसाय गर्नुपर्ने सुझाव दिए । तर त्यसका लागि राज्यले नारामा मात्र सीमित नभई व्यावहारिकरुपमै कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन, उत्पादित सामग्रीलाई उचित बजार व्यवस्थापनमा सहयोग गर्न उनले सुझाव दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?