+
+

अब नेपालमै हुन्डाई गाडी एसेम्बल हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २८ गते १४:२४

काठमाडौं । दक्षिण कोरियाली गाडी उत्पादक कम्पनी हुन्डाईले नेपालमा एसेम्बल प्लान्ट स्थापना गरेको छ ।

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी मोटर कर्पोरेसनसँगको सहकार्यमा कम्पनीले नवलपरासीमा प्लान्ट स्थापना गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार उक्त प्लान्ट उद्घाटन गरे । कार्यक्रममा प्रधानमन्त्री दाहालले उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताए ।

प्रधानमन्त्री दाहालले आर्थिक विकास गरेर देशलाई समृद्धि यात्रामा आगाडि बढाइने बताए । निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने बताउँदै प्रधानमन्त्रीले लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

‘निजी क्षेत्रको लगानी एवं राज्य र निजी क्षेत्रको सहकार्यविना देशको अर्थतन्त्र सवल हुन सक्दैन, उत्पादकत्व वृद्धि हुन सक्दैन, रोजगारीका अवसरहरू सिर्जना हुन सक्दैनन्,’ प्रधानमन्त्री दाहालले भने, ‘देशभित्र लगानीको वातावरण निर्माण गर्न, निजी क्षेत्रलाई प्रवर्द्धन गर्न, लगानीका क्षेत्रहरूको सुरक्षा र सहजीकरणका निम्ति सरकार हरदम साथमा छ ।’

यो नयाँ उद्योग सञ्चालनमा आएपछि नेपालमा औद्योगिक वातावरणका निम्ति स्वदेशी एवं विदेशी लगानीकर्ताहरूलाई थप आकर्षित गर्ने विश्वास दाहालले व्यक्त गरे ।

उनले औद्योगिकीकरणसँगै आयात प्रतिस्थापन हुने र सयौँ दक्ष एवं अर्धदक्ष कामदारहरूका निम्ति रोजगारी प्राप्त हुने पनि बताए । नेपालमा नै एसेम्बल गर्दा उपभोक्ताले सहुलियत मूल्यमा सवारीसाधन खरिद गर्न पाउनुका साथै आन्तरिक स्रोत एवं विद्युत् खपत, स्थानीय विकासमा साझेदारी र कूल गार्हस्थ उत्पादनमा समेत सकारात्मक योगदान पुग्ने प्रधानमन्त्रीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?