+
+

कांग्रेसको तयारी : रविपछि गगन बोल्ने र संसद् अवरुद्ध गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २८ गते १२:३५

२८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिइसकेपछि बैठक अवरुद्ध गर्ने तयारी गरेको छ । आज बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो ।

दलीय प्रतिनिधित्वको आधारमा सभामुखले बोल्न दिएपछि नेपाली कांग्रेसको तर्फबाट रामहरि खतिवडाले बोल्नेछन् । उनले सहकारी छानबिन समितिको माग गर्ने र गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्नुपर्ने धारणा राख्नेछन् ।

त्यसपछि सभामुखले रास्वपा सभापति समेत रहेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई बैठकमा धारणा राख्न समय दिनेछन् ।

रविको बोलीमा असहमति जनाउँदै कांग्रेस सांसदहरूले ढ्याप–ढ्याप गर्दै उठेर बोल्ने समय माग्नेछन् । सभामुखले बोल्न दिएपछि महामन्त्री गगन थापाले कांग्रेसको धारणा राख्नेछन् । त्यसपछि बैठक अवरुद्ध गर्ने कांग्रेसले तयारी गरेको छ ।

संसदीय छानबिन समिति बटमलाइन

सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका रविमाथि अनुसन्धान गर्न संसदीय छानबिन समिति गठनको माग कांग्रेसले राख्दै आएको छ ।

शुक्रबारको संसदीय दलको बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति बनाउन सरकार सकारात्मक नभए सदनको बैठक प्रभावित हुने बताए । उनले भने, ‘त्यस्तो अवस्था आए सम्पूर्ण जिम्मा सरकारले लिन्छ ।’

‘सहकारीको रकम अपचलन, हिनामिना र ठगीमा गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता भएको तथ्य र प्रमाण प्रशस्त छन्,’ लेखकले भने, ‘बचतको सुरक्षा, छानबिन र अपचलन गर्नेलाई कारबाही गर्ने र गृहमन्त्रीको पनि संलग्नता देखिएकाले छानबिन स्वतन्त्र बनाउन संसदीय समिति नै हाम्रो बटमलाइन हो ।’

कांग्रेस संसदीय दलको बैठकले सहकारीबाट हिनामिना भएको रकमको छानबिन र कारबाही गरी पीडितको रकम फिर्ता गर्नुको साटो सरकारले संवैधानिक निकायलाई समेत अनुसन्धान प्रभावित पार्न दुरुपयोग गरेको बताएको छ ।

लेखकले भने, ‘अपराध गर्ने मानिसलाई जोगाउन सरकारले संवैधानिक निकायको प्रयोग गरेकोप्रति हामीले घोर निन्दा र भत्र्सना गरेका छौं ।’

प्रमुख प्रतिपक्षी कांग्रेसले संसदीय दलको बैठकमा सहकारीको रकम अपचलनबारे रुपन्देही प्रहरीको अनुसन्धान प्रतिवेदन समेत बाँडेको छ । नेताहरुका अनुसार सभापति शेरबहादुर देउवाले नै रूपन्देही प्रहरीको अनुसन्धान प्रतिवेदन सांसदहरुलाई दिन भनेका हुन् । उक्त प्रतिवेदनमा रवि लामिछानेको नाम पनि उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?