+
+

कार्यव्यवस्था बैठक बस्न ढिलाइ, प्रतिनिधि सभा बैठक प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २८ गते १४:२०

२८ वैशाख, काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न ढिलाइ भएको छ ।

बिहान साढे बाह्र बजे बस्ने भनिएको बैठक दुई बजेसम्म पनि बस्न सकेको छैन । कार्य व्यवस्था परामर्श समितिको बैठक पछि मात्रै प्रतिनिधि सभाको बैठक बस्ने छ । प्रतिनिधि सभाको बैठक दिउँसो दुई बजेलाई बोलाइएको थियो । कार्य व्यवस्था परामर्श समितिको बैठक बस्न नसक्दा प्रतिनिधि सभाको बैठक नै प्रभावित भएको छ ।

कार्य व्यवस्था बैठकको तयारीका लागि दलका नेताहरु छुट्टाछुट्टै संवादमा छन् ।

संघीय संसदको बजेट अधिवेशनको पहिलो बैठकमा आज राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी व्यहोराको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने सम्भावित कार्यसूची छ । सभामुख घिमिरेले बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयनको जानकारी पनि गराउने छन् ।

अधिवेशनको पहिलो दिन दलीय आधारमा नेताहरुले शुभकामना दिने गर्दछन् । दलीय आधारमा नेताहरुले बोलेपछि दुई वटा विधेयक अगाडि बढाउने सम्भावित कार्यसूची छ ।

सम्भावित कार्यसूची कार्यव्यवस्था परामर्श समितिबाट अनुमोदन भएमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नेछन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने पनि सम्भावित कार्यसूची छ ।

तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीका विषयमा संसदीय छानबिन समिति नबनेसम्म संसद चल्न नदिने निर्णय गरेको छ । शुक्रबार नयाँ वानेश्वरस्थित संसद भवनको लोत्से हलमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगीमा संलग्न रहेको आरोप लगाउँदै आएको छ । गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?