+
+

१४ घण्टा ३१ मिनेटमा सगरमाथा चढेर गोरखाकी फुञ्जो लामाले बनाइन् कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १० गते २०:१७

१० जेठ, काठमाडौं। नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका छन् ।

वसन्त ऋतुको जारी सगरमाथा आरोहणमा गोरखाकी फुञ्जोले बिहीबार बिहान ६ : २३ बजे सगरमाथाको चुचुरोमा पुगेर सगरमाथामा सबैभन्दा छिटो पुग्ने महिला आरोहीको कीर्तिमान बनाएकी हुन् ।

सगरमाथा आधार शिविरस्थित पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार बुधबार दिउँसो ३ : ५२ मा आधार शिविरबाट आरोहण सुरू गरी बिहीबार बिहान ६:२३ बजे आरोही फुञ्जोले सगरमाथाको चुचुरोमा पाइला टेकेकी हुन् । उनले १४ घण्टा ३१ मिनेटमा सगरमाथा आरोहण गरी कीर्तिमान बनाएकी हुन् ।

यसअघि सन् २०१८ मा फुञ्जोले ३९ घण्टा ६ मिनेटमा सगरमाथाको शिखरमा पुगेर रेकर्ड बनाएकी थिइन् । पछि सन् २०२१ मा हङकङकी स्याङ यिन हङले २५ घण्टा ५० मिनेटमा सगरमाथा आरोहण गरेर बनाएको कीर्तिमान फुञ्जोले तोडेकी हुन् ।

यसअघि दोलखाका पेम्बादोर्जे शेर्पाले आठ घण्टा १० मिनेटमा सगरमाथा आरोहण गरेर सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने पुरुषको रूपमा गिनिजबुकमा रेकर्ड कायम गरेका थिए ।

विसं २०४३ मा गोरखाको छेकम्पार बुर्जी गाउँ (चुम भ्याली) मा सामान्य परिवारमा जन्मेकी फुञ्जोको सानै उमेरदेखि हिमाल आरोहणमा रुचि थियो ।

अमेरिकाको ‘डेनाली’ हिमाल आरोहण गरेर आरोहण यात्रा प्रारम्भ गरेकी फुञ्जोले चोयु, अमाडब्लम, लापुछे, मनास्लुजस्ता हिमाल चढिसकेकी छन् । उनले फ्रान्सको ‘मोमलङ’ हिमाल पनि आरोहण गरिसकेकी छन् । सगरमाथा आरोही सङ्घका महासचिव नेपाल पर्वतारोहण सङ्घका सचिव शिवबहादुर सापकोटाका अनुसार आरोही फुञ्जोले १४ घण्टा २४ मिनेटमा सगरमाथाको आधारशिविरबाट चुचुरोसम्म र सगरमाथाको चुचुरोबाट आधार शिविरसम्म आरोहण सकेर नयाँ कीर्तिमान बनाएकी हुन् ।

उनले नेपाली महिलाको साहसिक कार्यले संसारभर नेपालको साहसिक पर्यटन प्रवर्द्धमा सन्देश दिनुका साथै विश्वशान्ति, जलवायु परिवर्तन, पर्यटन प्रवर्द्धमा लाग्ने आरोहीको प्रोत्साहनमा पनि भूमिका खेलेको बताए ।

फुञ्जोले हिमाल आरोहणका क्रममा दुर्घटनामा परेकालाई हेलिकप्टरमा झुण्डिएर उद्धार गर्ने काम गर्दै आएकी छन् । उनले सोलुखुम्बुको खुम्बु क्षेत्र र गोरखाको मनास्लु क्षेत्रमा हेलिकप्टरमा झुण्डिएर हिमालको चुचुरा, खोच, ग्ल्यासिएरसम्म पुगेर उद्धार कार्य गर्दै आएकी छन् । पहिलो नेपाली महिला हेलिकप्टर लामोलाइन उद्धारकर्ता फुञ्जो यसअघि नै तेन्जिङ–हिलारी पुरस्कारबाट सम्मानित भइसकेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?