+
+

बजेटमा योजना पार्न धनगढीमा कार्यकर्ता र जनप्रतिनिधिको भिड

जनक विष्ट जनक विष्ट
२०८१ जेठ २४ गते २०:३०

२४ जेठ, धनगढी । २१ जेठमा प्रदेश सभा परिसरमा पत्रकार सम्मेलन गरेका एमाले प्रदेश संसदीय दलका नेता राजेन्द्र रावलले सरकारको बजेट निर्माणमा बिचौलिया सक्रिय बनेको भन्दै आपत्ति जनाएका थिए । रावलको भनाइ थियो ‘बिचौलिया नियन्त्रण गर्न सरकारी संयन्त्र परिचालन हुनुपर्ने हो तर सकेको छैन ।’

रावल यतिमै रोकिएनन् । उनले भने, ‘बिचौलियाको माग र सेटिङका आधारमा नभइ जनताको माग र आवश्यकताअनुसार सरकारले बजेट ल्याउनुपर्छ नभए एमाले सरकारमा बस्दैन ।’

संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारहरूले असार १ गते आगामी आर्थिक वर्षको बजेट ल्यानुपर्छ । सुदूरपश्चिम प्रदेश सरकार पनि अहिले बजेट निर्माणको चटारोमा छ ।

सरकारले बजेट बनाइरहेका बेला सरकारी कर्मचारी, सरकारको नेतृत्वकर्ता दल एकीकृत समाजवादी पार्टीका नेता, स्थानीय तहका जनप्रतिनिधिहरू धनगढी केन्द्रित भएका छन् ।

धनगढीका एक होटल व्यवसायीका अनुसार अहिले प्रायजसो होटल योजना माग्न झरेका वडाध्यक्ष, मेयर/उपमेयर, अध्यक्ष तथा उपाध्यक्षले भरिभराउ छन् ।

उनीहरुसँगै पुलको भूमिका निर्वाह गर्ने राजनीतिक कार्यकर्ता र बिचौलियाहरू पनि उतिकै सक्रिय छन् ।

प्रदेश सभामा उठ्यो बिचौलियाको प्रसंग

प्रदेश सरकारले निर्माण गरिरहेको अगामी आर्थिक वर्षको बजेटमा योजना पार्न बिचौलिया सक्रिय बनेको विषय सुदूरपश्चिम प्रदेश सभामा पनि उठेको छ ।

सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रममाथि छलफलमा सहभागी प्रदेश सभा सदस्यहरूले बिचौलिया सक्रिय भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

सत्तारुढ एमालेका प्रदेश सभा सदस्य चक्रबहादुर मल्लले बिचौलियाहरूले हाकाहाकी कमिसन मागेर योजना खरिदबिक्रि गरिरहेको दाबी गरे । उनले सांसदको ध्यान र चिन्ता एक/दुई योजना नपर्नेमा भए पनि बिचौलियाको चिन्ता पैसा उठाउनेमा रहेको समेत बताएका छन् ।

‘उडिरहेको प्लेन चरासँग ठोक्किएजस्तै प्रदेश कतै बिचौलियासँग ठोकिन्छ कि डर लागिरहेको छ । बाहिर अर्कै गन्ध आइरहेको छ । हामीलाई टेर्न छाडिसक्यो,’ मल्लले भने, ‘हामी माननीयलाई एक/दुई योजना पर्छ कि पर्दैन भन्ने चिन्ता छ तर बिचौलियालाई कति योजनामा पैसा उठाउन सकिन्छ भन्ने चिन्ता छ । हाकाहाकी यति प्रतिशत कमिसन दियो भने योजना हालिदिन्छु भनिरहेका छन् ।’

उनले प्रदेश सभा सदस्यले पेस गरेका ७० प्रतिशत योजनामा बिचौलियाले आफूले हालेको भन्दै पैसा लिइसकेको दाबी गरेका छन् ।

नेपाली कांग्रेसका प्रदेश सभा सदस्य मेघराज खड्काले पनि बजारमा योजना माग्नेहरूको अस्वाभाविक भिडभाड देखिएको टिप्पणी गरेका छन् ।

‘योजना माग्न आएकाहरूको बजारमा भिडभाड छ । बजेट माग्न आएका छन् । यो के हो ? यहाँ स्थिति अर्कैतिर देखिएको छ,’ खड्काले भने ।

एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बिचौलियाहरूलाई सरकारले नै नियन्त्रण गर्नुपर्ने बताएका छन् । योजना खरिदबिक्री नहोस् भनेर खबरदारी गरिरहेको बताउँदै रावलले सरकार यी क्रियाकलापमा संलग्न देखिए सरकारमा नबस्ने दाबी समेत गरे ।

प्रमाण ल्याउनुहोस् कारबाही गर्छौं : मुख्यमन्त्री सोडारी

प्रदेश सभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिंदै मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बिचौलियाको कुरा गर्नुभन्दा पनि सरकारले व्यवहारबाट जवाफ दिने बताएका छन् ।

सोडारीले विगतको भन्दा माथि उठ्ने भन्दै बिचौलियामार्फत योजना हालिएको प्रमाणसहित ल्याएमा कारबाही गर्ने बताए ।

‘बिचौलियाको कुरा उठेको छ । हामी व्यवहारबाट जवाफ दिन्छौँ । विगतको अवस्थाभन्दा माथि उठ्छौँ । कुनै पनि कुरामा गल्ती गर्नुहुँदैन,’ सोडारीले भने, ‘मैले कर्मचारी र सचिवालयलाई पनि कुनै गल्ती नगर्न निर्देशन दिइसकेको छु । बिचौलियाले मैले योजना पारे भनेर भन्छ भने प्रमाणसहित ल्याउनुहोस सरकारले कारबाही गर्छ ।’

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?