+
+

जसले अन्तरिक्षमा १००० दिन बिताए, बन्यो विश्व कीर्तिमान

एजेन्सी एजेन्सी
२०८१ जेठ २४ गते १२:०१

रुसी अन्तरिक्षयात्री ओलेग कोनोनेंको अन्तरिक्षमा कुल १००० दिन बिताउने विश्वकै पहिलो व्यक्ति बनेका छन् ।

रुसको अन्तरिक्ष एजेन्सी रस्कोमसले ओलेग अन्तरिक्षमा १००० दिन बिताउने पहिलो व्यक्ति भएको घोषणा गरेको हो ।

५९ वर्षीय ओलेगले आफ्नो पाँचौं अन्तरिक्ष यात्रामा १०००  दिनको कोशेढुंगा पार गरेका हुन् । उनी अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा तेस्रोपटक कमान्डरको रुपमा रहेका छन् ।

ओलेगले यसअघि सबैभन्दा लामो समयसम्म अन्तरिक्षमा बिताउने रुसकै अर्का अन्तरिक्षयात्री गेनाडी पेडाल्काको कीर्तिमान गत फेब्रुअरीमै भंग गरेका थिए । पेडाल्काले अन्तरिक्षमा कुल ८७८ दिन बिताएका थिए ।

हाल स्पेस स्टेशनमा रहेका ओलेगको स्पेस स्टेशनको पछिल्लो यात्रा गत सेप्टेम्बर १५ मा सुरु भएको थियो । उनी सोयुज एमएस २४ अन्तरिक्षयात्रमार्फत् स्पेश स्टेशनमा गएका थिए ।

उनीसँगै अन्य दुई अन्तरिक्षयात्रीहरू रुसका निकोलाई शुब र अमेरिकी लोरल ओहारा पनि स्पेश स्टेशनमा गएका थिए । आगामी सेप्टेम्बर २३, २०२४ मा ओलेग र अमेरिकी अन्तरिक्षयात्री ट्रेसी डाइसन पृथ्वीमा फर्किने कार्यक्रम छ। योसँगै ओलेगले अन्तरिक्षमा कुल १ हजार ११० दिन बिताउने छन् ।

ओलेगले सन् २००८ को अप्रिलमा Expedition 17 मार्फत् स्पेश स्टेशनमा गएर आफ्नो अन्तरिक्षयात्रा सुरु गरेका थिए ।  हालसम्म उनी स्पेश स्टेशनका विभिन्न ५ वटा अन्तरिक्ष मिसनमा सहभागी भएका छन् ।

नासाको ट्रान्सलेसनल रिसर्च इन्स्टिच्यूट फर स्पेस हेल्थका पूर्वप्रमुख इम्यानुएल उरुकिताले ओलेग एक विशेष व्यक्ति भएको र उनले गरेको काम कोशेढुंगा सावित भएको बताएका छन् ।

उरुकिताले अन्तरिक्षमा बसेर फर्किएका अन्तरिक्षयात्रीहरुको शरीरको अध्ययन गरिरहेका छन् । यसबाट उनले यी यी विषयमा जानकारी हासिल गर्ने प्रयास गर्दछन् । जस्तै, पृथ्वीभन्दा निकै टाढा रहँदा सरीरमा सञ्चारको कत्तिको असर पर्दछ ? विकिरणको प्रभाव के हुन्छ ? एक्लो तथा बन्द ठाउँमा रहँदा सरीर तथा मनमा के असर पर्दछ ? अनि गुरुत्वाकर्षणको असर तथा बन्द पर्यावरणमा रहँदा सरीरमा पर्ने प्रभावको अध्ययन ।

उरुकिताका अनुसार कीर्तिमानी अन्तरिक्षयात्री ओलेग पृथ्वीमा फर्किएसँगै उनमा हुने परीक्षणबाट विभिन्न नयाँ कुारहरु पत्ता लाग्नेछन् । किनकि उनले सबैभन्दा धेरै दिन अन्तरिक्षमा बिताइसकेका छन् । हुनत उनले अन्तरिक्षमा लगातार एकैपटकमा १ हजार दिन बिताएका होइनन् । तर, पटक-पटक गरेर भएतापनि यति लामो समय अन्तरिक्षमा बिताउँदा त्यसले पक्कै पनि उनको शरीर र मनमा पनि असर परेको हुन्छ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?