+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

प्रस्तावित निर्वाचन आयुक्त विरुद्ध यौन दुर्व्यवहारको उजुरी

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८१ असार १९ गते १०:२९

१९ असार, काठमाडौं । निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधान विरुद्ध संसदीय सुनुवाइ समितिमा यौन दुर्व्यवहारको उजुरी परेको छ ।

२ असारमा बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा नियुक्ति सिफारिस गरेको थियो । नियुक्ति सिफारिसको पत्र पाएपछि संसदीय सुनुवाइ समितिले प्रधान विरुद्ध ७ असारमा १० दिन समय दिएर उजुरी आह्वान गरेको थियो ।

मंगलबार सुनुवाइ समितिले प्राप्त उजुरीहरु समितिका सदस्यहरुलाई वितरण गरेको छ । सुनुवाइ समितिका सहसचिव निर्मलादेवी लामिछाने वस्तीका अनुसार प्रस्तावित आयुक्त प्रधान विरुद्ध प्राप्त उजुरीहरुमाथि बिहीबार समितिमा छलफल हुनेछ ।

स्रोतका अनुसार संसदीय सुनुवाइ समितिमा प्रधान विरुद्ध पाँच वटा उजुरी परेका छन् । पाँचवटै उजुरी यौन दुर्व्यवहारसँग सम्बन्धित रहेको छ ।

प्रधान यसअघि नेपाल कानुन आयोगको कार्यकारी निर्देशक थिए । त्यहीं हुँदा आफूलाई कार्यालयमा इच्छाविपरीत यौन सम्पर्क गरेको भन्दै एक महिलाले उजुरी दिएकी छन् ।

अरु चार आरोप पनि यही आरोपसँग सम्बन्धित छ । ‘काम लगाइदिने बहानामा प्रधानले बन्धक जस्तै बनाएर यौन सम्पर्क गर्ने गरेको’ अर्को उजुरीमा उल्लेख छ ।

कार्यालयमा जागिर खोज्दै आएकी एक महिलालाई इच्छा विपरीत यौन सम्पर्क गरेको र घटना मिलाउन एक करोड रुपैयाँ दिएको पनि उजुरीमा उल्लेख छ ।

उजुरीकर्ताले कुन मितिमा कुन बैंकमा कुन खाता नम्बरबाट कति पैसा जम्मा भएको हो भन्ने विवरण नै समितिलाई उपलब्ध गराएका छन् । ५० लाख र २५ लाख रुपैयाँको चेकका साथमा नगद बैंक खातामा बचत गरेको प्रमाण पनि उजुरीसँगै समावेश गरिएको छ ।

सुनुवाइ समितिमा पुगेको उजुरीमा यो विषय अदालतमा पुगेर मिलापत्र भएको पनि उल्लेख छ । उजुरीमा उल्लेख भए अनुसार २४ भदौ २०८० मा पीडित महिलाले काठमाडौं जिल्ला अदालतमा यौन दुर्व्यवहारको मुद्दा दर्ता गरेकी थिइन् ।

२९ भदौ २०८० मा उजुरीकर्ता र प्रधानले मिलापत्रका लागि संयुक्त निवेदन दिएका थिए । सोही दिन अदालतमा दुवै पक्षबीच मिलापत्र भएको उजुरीकर्ताले उल्लेख गरेका छन् ।

प्रधानको दबाब र प्रभावमा मुद्दा मिलापत्रमा टुंग्याएको भन्दै पीडित महिलाले उनलाई निर्वाचन आयुक्त बनाउनु उपयुक्त नहुने भन्दै सुनुवाइ समितिमा निवेदन दिएकी छन् ।

संविधानको धारा २४५ को उपधारा ६ मा आयुक्त हुने व्यक्ति ‘उच्च नैतिक चरित्र भएको’ हुनुपर्ने भनिएको छ ।

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐनको दफा ५ मा पनि यही व्यवस्था छ । जहाँ संवैधानिक परिषद्ले नियुक्तिको सिफारिस गर्दा नै सम्बन्धित व्यक्तिको चरित्र ख्याल गर्नुपर्ने भनिएको छ ।

‘कुनै व्यक्तिलाई नियुक्तिको लागि सिफारिस गर्दा निजको सामाजिक प्रतिष्ठा, उच्च नैतिक चरित्र, इमानदारिता, निजप्रतिको जनभावना तथा निजले पहिले गरेको सेवा र पेशागत अनुभव समेतलाई विचार गर्नु पर्नेछ’, ऐनको दफा ५ (२) मा उल्लेख छ ।

सुनुवाइ समितिकी सदस्य नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने उजुरीकर्ताको कुरा सुनेर मात्रै निर्णय लिइने बताउँछिन् ।

‘उजुरी संवेदनशील विषयमा आएको छ । उजुरीकर्ताको कुरा नसुनी धेरै बोल्न सक्ने अवस्था छैन । उजुरीकर्ताको कुरा सुनेर मात्रै थप बोल्न सकिन्छ’, न्यौपानेले अनलाइनखबरसँग भनिन् ।

नेकपा माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले पनि उजुरीका विषयमा उजुरीकर्तासँग छलफल गर्ने बताए ।

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?