 
																			१ साउन, धनगढी । सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका बहुमत प्रदेश सभा सदस्यले संसदीय दलको नेताबाट घनश्याम चौधरीलाई हटाएका छन् ।
७ जनामध्ये चार जना प्रदेश सभा सदस्यको बैठकले घनश्यामलाई दलको नेताबाट हटाउदै प्रमुख सचेतक खुशीराम डगौरा थारुलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
शनिबार बसेको बैठकले उपनेतामा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरी र प्रमुख सचेतकमा टीका थापालाई चयन गरेको नागरिक उन्मुक्ति पार्टीले जनाएको छ । बैठकमा लक्ष्मणकिशोर चौधरी, खुशीराम डगौरा थारु, कैलाश चौधरी र टीका थापा सहभागी थिए ।
यसअघि नाउपाका संरक्षक रेशमलाल चौधरीलाई साथ दिइरहेका लक्ष्मणकिशोर खुशीराम डगौरा थारु घनश्यामलाई दलको नेताबाट हटाउन तयार भएपछि रञ्जिता पक्षको बहुमत पुगेको हो ।
संघमा बहुमत प्रतिनिधिसभा सदस्यले संसदीय दलको नेताबाट श्रेष्ठलाई हटाउदै गंगाराम चौधरीलाई चयन गरेका थिए ।
केन्द्रमा दल नेता परिवर्तन भएको केही दिनपछि सुदूरपश्चिम प्रदेशमा रञ्जिता श्रेष्ठ पक्षका प्रदेश सभा सदस्यसहितले रेशम पक्षका घनश्याम चौधरीलाई दलको नेताबाट बहुमतले हटाएका हुन् ।
उक्त निर्णय प्रक्रियामा सहभागी प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले आफूहरुले स्वतन्त्र रुपमा दलको नेता फेरेको दाबी गरेका छन् ।
‘हामी सांसद निर्णय गर्न स्वतन्त्र छौं । यो निर्णय स्वतन्त्र रुपमै गरिएको हो’, चौधरीले भने, ‘कहिले पार्टी अध्यक्ष त कहिले संरक्षक पक्षका भनेर जोड्ने काम मात्र गरिदै आयो । हामी आफैं निर्णय लिन सक्षम छौं भन्ने सन्देश हो यो ।’
उपनेता बनेका प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका कैलाश चौधरीले नेतृत्वले सांसदहरुमाथि प्रतिशोधको राजनीति गर्न थालेपछि बाध्य भएर नयाँ कदम चालिएको बताए ।
‘नेतृत्वले गल्ती गर्दै सांसदमाथि प्रतिशोधको राजनीति गर्न थालेपछि हामीले स्वविवेकपूर्ण हिसाबले यो निर्णय गरेका हौं’, चौधरीले भने ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4