३० साउन, काठमाडौं । हिमालयन डिस्टिलरीको नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ४६ प्रतिशतले घटेको छ ।
कम्पनीले गत आर्थिक वर्ष चौथो त्रैमाससम्म कुल ३५ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ६६ करोड ५ लाख रुपैयाँ थियो ।
बिक्री आम्दानी नै घट्दा कम्पनीको नाफा घटेको देखिन्छ । बिक्रीवापतको कुल आम्दानी २६ प्रतिशतले घटेको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्ष ५ अर्ब ६५ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष ४ अर्ब १५ करोड रुपैयाँ छ ।
कम्पनीले विभिन्न मदिरा उत्पादन तथा बिक्रीवितरण गर्दछ । देशमा आर्थिक गतिविधि चलायमान बनाउने क्रियाकलाप बढ्न नसकेको, माग र खपतमा कमी आएको लगायत कारणले बिक्री आम्दानी घटेको कम्पनीले विवरणमा स्पष्ट पारेको छ ।
नाफा घटेपछि कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षमा २७ रुपैयाँ १९ पैसा रहेकोमा गत आर्थिक वर्षमा १३ रुपैयाँ २१ पैसामा झरेको छ ।
कम्पनीको प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ १० पैसा छ । २ अर्ब ६७ करोड चुक्ता पूँजी रहेको कम्पनीले गत वर्षमा यस्तो पूँजी १० प्रतिशत बढाएको हो । मंगलबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता १६०० रुपैयाँ छ । एक महिनामा कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेको देखिन्छ ।
प्रतिक्रिया 4