५ भदौ, बुटवल । मगर समुदायको भाषा, साहित्य र इतिहासको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित बुटवलमा पहिलोपटक मगर साहित्य महोत्सव हुने भएको छ ।
नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा आगामी मंसिर तेस्रो साता महोत्सव गर्ने गरी तयारी थालिएको आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
महोत्सवमा मगर भाषा र साहित्यको प्रवर्द्धनसँग सम्बन्धित कार्यक्रमसहित नेपालका विभिन्न जिल्लामा रहेका मगरहरूको इतिहासको खोजी, विभिन्न क्षेत्रमा विशिष्टता र उत्कृष्टता हासिल गरेका मगर समुदायका व्यक्तिहरूलाई सम्मान लगायतका कार्यक्रम हुने महोत्सवका प्रवक्ता शंकर गाहाले बताए ।
यस्तै महोत्सवमा मातृभाषा कविता प्रतियोगिता अन्तर्गत खाम र काइकेमा लेखिएका कविता प्रतियोगिता, मगर समुदायले प्रयोग गरेका प्राचीन सामग्रीहरूको प्रदर्शन, पुस्तक प्रदर्शनी, भेषभूषा र प्राचीन सामग्रीहरूको प्रदर्शन, मौलिक नृत्यको प्रदर्शनी गरिने गाहाले जानकारी दिए ।
यस्तै आदिकवि जितबहादुर सिंजाली मगर र रेखबहादुर सारु साहित्य पुरस्कार वितरण, गोरेबहादुर खपांगी मगर सामाजिक योगदान पुरस्कार वितरण, मगर भाषा, साहित्यबारे विद्वत प्रवचन, विद्वत प्रवचन र विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरूसँग संवाद तथा बहस (प्यानल डिस्कसन) लगायतका कार्यक्रम हुने आयोजक संस्थाका यम रानाले बताए ।
महोत्सवमा पूर्व डीआईजी पार्वती थापा, नायिका मिरुना मगर, निर्देशक नवीन सुब्बा, महाबीर पुन, सगरमाथा आरोही दुबै खुट्टा काटिएका हरि बुढामगर, मगर कलाकारहरु सहभागी हुने मगर महिला संघ रुपन्देही अध्यक्ष निर्मला थापाले बताइन् ।
महोत्सव सम्पन्न गर्न एक सय एक जनाको मूल आयोेजक समिति गठन गरी तयारी थालिएको मगर महिला संघ रुपन्देही अध्यक्ष निर्मला थापाले बताइन् । करिब २० लाख खर्च अनुमान गरिको महोत्सवका स्वदेशबाट १० लाख र विदेशमा रहेका मगर समुदायबाट १० लाख सहयोग संकलन गरिने थापाले बताइन् ।
मगर समुदाय जनसंख्याको आधारमा नेपालको तेस्रो ठूलो जनसंख्या र आदिवासी जनजातिमा पहिलो ठूलो जनसंख्या भएको जाति हो । मगर जातिको तीनवटा भाषा छन् । बाह्र मगरातमा बोलिने मगर ढूट भाषा, अठार मगरातमा बोलिने खाम/पाङ मगर भाषा र डोल्पा क्षेत्रमा बोलिने काईके मगर भाषा ।
पछिल्लो जनगणना अनुसार नेपालमा २० लाख १३ हजार बढी मगरको जनसंख्या छ । यो नेपालको कुल जनसंख्याको ६.९ प्रतिशत हो ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4