 
																			१० भदौ, काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र पुग्दा तिर्खाएका सर्वसाधारण र सेवाग्राहीलाई सास्ती छ । सिंहदरबारमा सेवा लिन जाँदा कि त आफैं पानी बोकेर जानुपर्ने अवस्था छ, नभए सिंहदरबारका क्यान्टिन पसेर बोत्तलको पानी किन्नुपर्छ या अन्य विकल्प सोच्नुपर्छ ।
सिंहदरबार आफैं जार र बोतलको पानीमा निर्भर छ । यहाँभित्रका कुनै पनि मन्त्रालय र निकायहरु भित्र खानेपानीका लागि सार्वजनिक धारा छैनन् । सर्वसाधारणलाई निःशुल्क पानी दिने व्यवस्था पनि छैन ।
सरकारले सिंहदरबारभित्र राखेका सार्वजनिक धाराहरुलाई व्यवस्थित गरेर चलाएको भए यस्तो अवस्था आउने थिएन । १७ चैत २०७९ मा सिंहदरबारमा पहिलो पटक खानेपानीका लागि सार्वजनिक धारा सञ्चालनमा ल्याइएको थियो । यी धारा राख्न जनमत पार्टीको सांसद रहेका तत्कालीन खानेपानीमन्त्री अब्दुल खानले पहल लिएका थिए ।
त्यतिबेला खानेपानी मन्त्रालयले सिंहदरबारबाट यस्तो धारा राख्न अभियान थाल्ने र क्रमैसँग काठमाडौंका सडक, पार्क, बसपार्क, सरकारी कार्यालय र सार्वजनिक स्थलहरुमा विस्तार गर्दै लैजाने बताएको थियो ।
त्यतिबेला जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय माग गरेको थियो । त्यो मन्त्रालय नपाएपछि सिंहदरबारमा जडान भएका ३ वटा सार्वजनिक धारा उद्घाटनसँगै तत्कालीन खानेपानीमन्त्री खानले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले सामाजिक उत्तरदायित्वको रुपमा सिंहदरबारमा यी धारा जोडेको थियो । करिब ५ लाख खर्चिएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयअघि यी धाराहरु जोडिएका थिए । सुरुबाटै यी धाराले भनेअनुसार सेवा दिन सकेनन् ।

आगन्तुक, सेवाग्राही र कर्मचारीले निःशुल्क खानेपानी पिउन सक्ने गरी जोडिएका धारा अहिले अलपत्र छन् । यो धाराको पानी पूर्ण रूपमा शुद्ध हुने र सोझै पिउन सकिने भनिएको थियो । २४सै घण्टा सञ्चालनमा आउने भनिएका ती धाराहरु अहिले अलपत्र छन्। यी धारामा नियमित पानी त आउँदैन नै, सरसफाइको जिम्मा समेत कसैले लिएको छैन ।
धाराका टुकीदेखि बेसिनहरुसम्म फोहोर देखिन्छन् । सिंहदरबारका यी धारा झाडीले ढाक्दा पनि सफाइ गर्न कसैले रुचि देखाएका छैनन् । धारा देखेर पानी खान पुग्नेहरु निराश हुने गरेको सिंहदरबारभित्र खटिने गरेका सुरक्षाकर्मीहरु बताउँछन् ।
सिंहदरबारमा मन्त्रीले उद्घाटन गरेका धाराहरु मात्रै होइन, प्रधामनन्त्रीले नै उद्घाटन गरेका धाराको पनि उही हालत छ । १ माघ, २०८० मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्चीको पानी पुनःवितरणको उद्घाटन गर्दा प्रधानमन्त्री कार्यालयअघि राखिएको धाराको हालत पनि अहिले उस्तै बेहाल छ ।

त्यतिबेला हतार–हतार उद्घाटनका लागि प्लाइउडको वालमाथि परम्परागत इँटा पृष्ठभूमिको बुट्टेदार फ्लेक्स पेपर टाँसेर निरन्तर पानी खस्ने गरी धारा स्थापना गरिएको थियो । सिंदरबारभित्र ढुंगेधारा शैलीमा स्थापना गरिएको यो धारा अहिले उपेक्षित छ ।
टाँसिएको फ्लेक्स उप्किएर प्लाइउड नै आकाशे पानीले कुहिने अवस्थामा पुगेको छ । तर, धाराबाट पानी भने आउन छाडिसकेको छ । बाह्रै महिना सिंहदरबारभित्र सेवाग्राहीले प्रयोग गर्न पाउने भनिएको धारमा पनि पानी नखस्दा कसैले वास्ता गरेका छैनन् ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाश राई सिंहदरबारको धारामा नियमित पानी ल्याउन नसकेको स्वीकार्छन् । ‘२४ घण्टा नै पानी आउने गरी ती धारामा पानी दिन सकेको छैन, धारा भए पनि पानी नआएको गुनासो छ’ उनले भने, ‘अब विकल्पहरुबारे सोच्दैछौं ।’
उनका अनुसार ती धारामा आउने पानी अनामनगरको पानी ट्यांकीबाट सिंहदरबार क्षेत्रमा वितरण हुँदा मात्रै आउँछ । अहिले पानीको अभावका कारण ती सार्वजनिक धारामा पनि दिन नसकिएको राईले बताए ।
‘सिंहदरबारभित्रै बोरिङ गरेर त्यहाँ पानी आपूर्ति गर्नेबारे सोचिरहेका छौं,’ उनले भने, ‘जे उद्देश्यसहित धारा राखिएका थिए, त्यसअनुसार खानेपानी उपलब्ध गराउन नसकेको अवस्थालाई गम्भीर रुपमा लिएर काम गर्दैछौं ।’

सरकारले सिंहदरबारबाट जार र बोतलको प्रयोग पूर्ण रुपमा प्रतिस्थापन गर्ने योजना बनाएर काम थालेको २ वर्ष भइसकेको छ । त्यसअनुसार नै मेलम्चीको पानी वितरण थालिएपनि सरकारको योजना अनुसार काम हुन पाएको छैन ।
पूर्वखानेपानी मन्त्री अब्दुल खान आफूले सिंहदरबारभित्रै सरकारले राखेका धारा अलपत्र परेको देखेपछि तत्कालीन मन्त्री महिन्द्रराय यादव र हालका खानेपानीमन्त्री प्रदीप यादवलाई ध्यानाकर्षण गराएको बताउँछन् ।
‘सेवाग्राही र कर्मचारीले प्रयोग गर्न पाउने ती धाराको अवस्था देखेर साह्रै चित्त दुख्छ,’ उनले भने,‘मन्त्रीज्यूहरुले कुन मन्त्रीका पालामा राखिएको हो, यसको जस कसले लिन्छ भन्ने ढंगबाट सोच्दा समस्या भएको हो, त्यहाँ जनताको लागि त यस्तो धारा अति जरुरी छ ।’
प्रधानमन्त्री कार्यालयअघि आफू मन्त्री हुँदा राखिएको धाराकै छेउमै टाँसेर अर्को धारा समेत खडा गरिएको भन्दै अहिले ती दुबै धारामा पानी नआउँदा पनि सम्बन्धित निकायले बेवास्ता गरेको पूर्वमन्त्री खानको गुनासो छ ।

खानेपानीजस्तो आधारभूत सेवामा पनि राजनीतिक रंग दिने काम गलत भएको भन्दै उनले तत्कालीन समयमा ५ वटा धारा जडान गर्न लागिए पनि आफ्नो बर्हिगमनपछि ३ वटामै सीमित राखिएको बताए ।
‘सिंहदरबारभित्रै जोडिएका धाराहरु फोहोर र घाँसपातले पुरिएर बसेका छन्,’ उनले भने, ‘यसबारे लिखित रुपमै वर्तमान खानेपानीमन्त्रीको ध्यानाकर्षण गराउने योजनामा छु।’

 
  
 
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4