+
+

तारा एयरले मंगलबारदेखि पुनः पोखरा–जोमसोम उडान गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १७ गते १५:३३

१७ भदौ, काठमाडौं । प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम रुटमा मंगलबारबाट नियमित उडान हुने भएको छ । तारा एयरले १८ भदौ मंगलबारबाट नियमित गर्ने भएको हो ।

पर्यटक सिजन सुरु हुन लागेको र मौसम पनि खुल्ने समय सुरु भएकाले उडान नियमित हुन लागेको कम्पनीले जनाएको छ ।

जोमसोमको नियमित उडानका लागि तारा एयरले एउटा जहाज पोखरामै रात्रि बिसान गर्ने छ । हालका लागि मौसम अनुकूल भए दैनिक पाँच उडान गर्ने गरी तालिका मिलाइएको छ । तारा एयरको उडान पोखराको पुरानो एयरपोर्टबाट नै सञ्चालन हुनेछ ।

मुस्ताङस्थित जोमसोम विमानस्थल समुद्री सतहबाट २ हजार ७ सय ३६ मिटर उचाइमा र लम्बाइ ७ सय ३९ मिटर छ ।

यसैगरी पर्यटक सिजनका लागि तारा एयरले रामेछाप–लुक्ला– रामेछापका लागि ४ असोज अर्थात् २० सेप्टेम्बरदेखि नियमित उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।

सगरमाथा क्षेत्र जाने पर्यटकका लागि विभिन्न वायुसेवा कम्पनीले रामेछाप मन्थली विमानस्थलबाट सोलुखुम्बु लुक्लासम्म पर्यटक सिजनमा उडान गर्दै आएका छन् ।

यो सिजनका लागि ताराका दुई ट्विनअटर जहाजले मन्थली विमानस्थलबाट लुक्लाका लागि दैनिक १० देखि १५ उडान गर्ने तालिका राखेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यधिक हवाई ट्राफिक बढेसँगै पछिल्लो समय एयरलाइन्सहरूले मन्थली आधार बनाइ लुक्लाका लागि उडान भर्दै आएका हुन् ।

रामेछाप विमानस्थलमा ताराका दुइटै जहाज रात्रि बिसान गरी १५ डिसेम्बरसम्म नियमित उडान गर्ने तालिका रहेको जानकारी कमपनीले दिएको छ ।

ताराले मन्थलीदेखि लुक्लाका साथै काठमाडौंदेखि लुक्ला, फाप्लु, पोखराबाट जोमसोम तथा नेपालगञ्जबाट रारा, हुम्ला, बाजुरा, जुम्ला, डोल्पा लगायत दुर्गम क्षेत्रमा समेत उडान सेवा दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?